…अनि राई लिम्बुले दशैं छाडे

२०४८ मा पूर्वी पहाडका सडकमा एउटा पर्चा छरियो। जसमा लेखिएको कुरा चापागाईंले उद्धृत गरेका छन्– मधुकैटव, महिसासुर, दानवहरू किरातका वंशज हुन्, हिन्दूले छलकपट गरेर उनीहरूलाई मारे अनि हाम्रै पूर्खाको रगतमाथि विजय प्राप्त गरेर हामीलाई रगतको रातो टीका लगाउन बाध्य पारे।

…अनि राई लिम्बुले दशैं छाडे

दशैं गाउँ नपुग्दै नुम माल्टा पात टिप्न जंगल पस्थ्यो। घरघरमा पुगेपछि पात दुनो बन्थ्यो। टपरी बन्थ्यो। जसमा अचार, तरकारी पस्किएर पाहुनालाई सम्मान गर्थ्यौ। जुनबेला नुमका घर कमेरो र रातो माटोले रंगिन्थे।

संखुवासभा सदरमुकाम खाँदवारीबाट एकदिन पैदल दुरी उत्तरमा पर्ने आफ्नो माइती गाउँ नुम सम्झेर युवाकुमारी राई (४०) नोष्टाल्जिक भइन्। खोटाङ हलेसी बिहे गरेपछि दशैंमा रक्सीलगायतका कोसेली बोकी नुम पुगेको सम्झिन्छिन् उनी।

‘‘टीका लगाउने र कोसेली लिएर ठूलावडा र आफन्तकहाँ जाने हो, दशैंमा। सानो छँदा ठूलाबा र मामाकहाँ रक्सी, तोंबा लिएर जान्थ्यौँ,’’ दशैंको टीका रातोबाट सेतो रंग भएको राईले सम्झिइन्, ‘‘थाहा पाउँदापाउँदै रातो टीका सेतो भयो। म सानै हुँदै हो, सेतो टीका लगाउन थालेको त। हाम्रो त रातो टीका होइन रे भनेर ठूलै लहर पनि चलेको थियो। कतिले त त्यसैबेलादेखि दशैं मनाउन नै छाडे।’’

राईका आँखामा आए, माइती गाउँमा हुँदा पात टिप्न जंगल गएको, पातका दुना र टपरी बनाएको र घर रंगाउन र लिप्न टाढा पुगेर कमेरा लिएको।

फूलपातीको दिन नुममा भैसी ढाल्थे। भैंसी ढलेसँगै नुममा पसेको दशैं यसै तन्नेरी हुन्थ्यो। नवमीको दिन याम्फु खलक माङ्दाना जान्थ्यो। भीरको टाउकोमा चोखो ठाउँमा उभिएथ्यो, माङ्दाना। जहाँ याम्फु खलकबाहेक अरुलाई जान मनाही थियो। याम्फुका बिहे गरेका चेली र भान्जाभान्जीलाई पनि जान निषेध थियो। माङ्दानामा भेडा मार हान्थे।

राईले त्यो दिन सम्झिइन्, ‘‘याम्फु दाजुभाइको पालोअनुसार भेडा लान्थे। भेडासहित नौवटा जन्तु पुर्‍याएर मार हान्थे। जसको पालो हो, उसैको घरमा त्यसदिन भोज हुन्थ्यो।’’

राईका अनुसार माङ्दानामा त्रिशुल, कम्पनी पैसा र पुराना ढुंगा थिए। तरवार लगायतका हतियार पनि थिए। तिनका पनि पुजा हुन्थ्यो।

‘‘दसमीमा बाजेबुजुले टीका लगाइदिनुहुन्थ्यो। फुपूहरु जाँड, रक्सी, तोंबा कोसेली बोकेर माइत आउनुहुन्थ्यो,’’ राई ती दिनका दशैंमा फर्किइन्, ‘‘टीकाको भोलिपल्ट मामाघर (एकदिनको पैदल दुरीमा उवा) जान्थ्यौँ।’’

नुम त राईको याम्फुसहित गुरुङ, तामाङ, कामी, दमाई, क्षेत्री र बाहुन मिश्रित गाउँ हो।

‘‘हामी याम्फुले घरमा मार हान्दैनौं। बाख्रा खाँदैनौँ,’’ नवमीमा भेडा मार हान्नुको कारण सुनाइन्, राईले।

गाउँमा दशैं भित्रनुअघि नै पैदल दक्षिणमा अवस्थित सदरमुकाम खाँदबारीबाट काँचो कपडा किनेर ल्याउँथे। दमाईले दशैं लुगा सिलाउँथे।

किरातमा दशैं

प्रकृतिपुजक राई, लिम्बुहरुको थलो पूर्वी पहाडमा दशैं कहिले र कसरी पुग्यो होला ? के प्रकृतिपुजक मगर, गुरुङलाई जसरी नै हिन्दूकरणसँगै दशैं लाद्यो होला ? मन्थन गरौँ।

१८२९ तिर माझकिरात पनि गोर्खा बिस्तारमा बिस्तारित भयो। १८३१ मा अरुण नदीपूर्वको भूभागका बासिन्दासँग पृथ्वीनारायण शाहले सम्झौता गरे। राई–लिम्बू संस्कृतिका अध्येताअनुसार गोर्खा बिस्तारसँगै पूर्वीपहाडमा दशैं पस्यो। गोर्खा बिस्तार अभियानलाई निरन्तरता दिनेक्रममा रणबहादुर शाहले दशैंलाई झन प्राथमिकता दिए।

जंगवहादुर राणाले दशैं अस्विकार गर्ने किरात समुदायका नेता (छ थर थुम धनकुटाका आठपहरे राई) रामलीहाङ र रिदामाको सरकारी सेनाद्वारा हत्या गराए। अनि विजयउल्लाससाथ विजय टीकासहित उनीकहरुकै स्वाजतीय बन्धुहरुलाई राँगो, बोको आदि काटेर दशैं मान्न लगाइयो।

दुर्गाहाङ याखाराई लेख्छन्, ‘‘गोर्खा बिस्तारहुँदै शाही–राणा शासन पूर्वी अहिन्दू मुलुक किरात पस्यो। पृथ्वीनारायण शाहको शासनकालदेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझकिरातका अमाली राई, मझिया, जिमिगार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात पदेशका किपटिया लिम्बु सुब्बालाई बडादशैंमा पशुपंक्षीको मारहानी दुर्गा पुजन गर्न प्रलोभनसहित बाध्य तुल्याएको थिए। उनीहरुले दशैंमा आआफना घरमा काटिने बोका, खसीका फिलो दशैंमिसार लिन पाउने र आफूहरुले दुर्गापुजन गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि.सं. १८७७ मा माझकिरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा खेतालापात), बेगार(ज्याला नदिई काम), सिसार आदि सित्तै उपभोग गर्न पाउने गरी गरिदिएका लालमोहरमा एक ठाउँमा लेखिएको छ, ‘‘गाउँ १ को दशैंँया भेडामार लचकका बोको १ के रुपया १ खाड पुजाको चावल माना एकका हिसाबले (अमालीलाई) तिर्नू …(बाहुनवादविरुद्ध जनजाति उत्पीडित वर्ग, पेज ४५२)।’’

यही लालमोहरको आधारबाट अमाली र लिम्बूवानका सुब्बाहरुले ‘‘दशैं ठगिखाने भाँडाको रुपमा बलपूर्वक लादेको’’ याखाराईको तर्क छ। ‘‘नेपालको महाभारत’’बाट ज्ञानमणि नेपाललाई याखाराईले उद्धृत गरेअनुसार त शाही शासन शासन सत्ता राजा सुरेन्द्रको हातबाट आफ्नो हातमा ल्याएपछि जंगवहादुर राणा झनै क्रूर भएर हिन्दूधर्म र दशैंजस्ता संस्कार लादे। राणाकालमा भयभीत भई कतिपय राई लिम्बु समुदायले दशैंलाई अनिच्छापूर्वक स्वीकारे त कतिले हिन्दूहरूको चाड दशैं मान्दैनौँ भनी विरोध गरे।

याखाराई यलम्बर पत्रिकाबाट क्रान्ति सुब्बा र शुभचन्द्र राईलाई उद्धृत गर्दै लेखेका छन्, ‘‘जंगवहादुर राणाले दशैं अस्विकार गर्ने किरात समुदायका नेता (छ थर थुम धनकुटाका आठपहरे राई) रामलीहाङ र रिदामाको सरकारी सेनाद्वारा हत्या गराए। अनि विजयउल्लाससाथ विजय टीकासहित उनीकहरुकै स्वाजतीय बन्धुहरुलाई राँगो, बोको आदि काटेर दशैं मान्न लगाइयो (पेज ४५३)।’’

त्यतिबेलाको गोर्खा, लमजुङतिर दशैं कहिले पस्यो होला ? खुलदुली लाग्ने नै भयो। वेदराज पन्त लेख्छन्, ‘‘पितृकुलको स्रोत व्यक्तित्व पुरुषोत्तमलाई मानियो। उनका बाह्र भाइ थिए। यसकै एउटा हाँगो कुमाउबाट बसाइ सरी लमजुङ आइपुग्यो। त्यही वंश वृक्षका रामचन्द्र लमजुङ उदीपुरमा मावली बसाइ सरेका हुन्। त्यसअघिका पुस्ताले के कस्तो जीवन भोगे ? त्यसको अभिलेख नभेटिए पनि मातृशक्तिको आराधना निरन्तर गर्दै पाञ्चायन देवताको नित्य पुजा गर्दै परापूर्वकालदेखिको ‘‘दशैं’’ मान्दैआएको यो परम्परा कहिल्यै टुटेको छैन (प्राच्य जीवनशैलीको एक सूत्र दशैं, पेज ञ ट )।’’

पन्तले तिथिमिति उल्लेख नगरी परापूर्वकाल भने।

राई, लिम्बु समुदायकै अगुवामार्फत राज्यले किरातमा दसंै लाद्यो। कसरी ? भीम चापागाईं बिस्तार गरेका छन्, ‘‘लिम्बू समुदायले नवमीको दिन एउटा राँगा वा बोकोसहित ८ फललाई ८ जनावरको प्रतीक बनाएर बलि दिने चलन चलेको हो। राजाहरूले सबैलाई दशैं मनाउन उर्दी गरेको, एकीकरणमा विजयको रातो टीका घर–घरमा लगाउन अह्राएकाले लिम्बू र राई समुदायले पनि दशैं मान्न थाले। दशैंका बेला दुर्गापूजा, भोगबलि गर्ने व्यक्ति नै राज्यको ‘‘खास मान्छे’’ हुने प्रथा १८४० सालतिर कायम थियो।

पृथ्वीनारायण शाहले गोर्खा बिस्तारका क्रममा गढी कब्जा गरेपछि कोतघर बनाइयो। कोतघरमा फूलपातीको दिन राँगा ढालेर प्रत्येक घरलाई प्रसाद लिन बोलाइयो। त्यसदिनदेखि दशैं मनाउन लगाएको देखिन्छ।

चापागाईंका अनुसार १९६२ सालमा राजेन्द्रविक्रम शाहले दशैंमा राँगा काट्ने चलन अनिवार्य गरे। तर, किरात समुदायका सबैको राँगाकै बलि दिन सक्ने आर्थिक हैसियत थिएन। बिन्ती बिसाएपछि राजाले १८९२ सालमा ‘‘राँगा नकाटे पनि हुने’’ चलन बसाले।

‘‘आर्थिक अवस्था कमजोर भएका राई–लिम्बूले चाडबाड मनाउन बलि दिँदै जाँदा आफ्नो किपट नै अन्य समुदायकहाँ धितो–बन्धकी राख्ने बाध्यता आइलाग्यो,’’ चापागाईंले इतिहासकार अर्जुनबाबु माबुहाङलाई उद्धृत गर्दैै नागरिकन्युजमा लेखेका छन्, ‘‘यही क्रमले किपट सकिने भएपछि फाल्गुनन्दले १९८८ सालमा लिम्बू समुदायलाई जाँड–रक्सी र मासुमंशबाट जोगाउन चुम्लुङ आयोजना गरी मुचुल्का गरेका हुन् (दशैंमा सेतो टीका) ।

राज्यले नै उर्दी जारी गरेपछि दशैं किरात समुदायमा जबर्जस्त पस्यो। यसलाई प्रष्ट्याउन चापागाईं थप लेख्छन्, ‘‘एकीकरण र विजयोत्सव जोडिएकाले दशैं सबैका लागि अनिवार्य गरिएको थियो। दशैं नमानेको भन्दै १८४२ सालमा धनकुटाका रिदामा आठपहरिया र रामलिहाङ आठपहरिया तथा १८५२ सालमा ताप्लेजुङका बाजाहाङ लिम्बूको हत्यासमेत गरियो।’’

इतिहासकार एवं संस्कृतिविद् अर्जुनबाबु माबुहाङका अनुसार घरमा गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गर्छन्। माबुहाङले अनलाइनखबरमा लेखेका छन्, ‘‘नौदिनसम्म नौ दूर्गाहरूको पूजा गर्ने, नवमीको दिन “हा‘‘हा‘‘देवी तामा देवी भवानी” भन्दै मालसिरी गाउने, देवीका नाममा कुभिण्डोलाई चारखुट्टी उभ्याएर काट्ने, बोको, राँगो भोग दिने र रगतमा हातको पञ्जा र खुट्टाको पाइताला चोबेर सिकुवा र मूलढोकाका दायाँ–बायाँ भित्तामा छाप हान्ने र दशौं दिनमा दहीमा चामल मुछेर मान्यजनहरूबाट आशिर्वाद टीका थाप्ने अनि उमारिएका जौ र मकैका जमरा कानमा सिउरिने। सुब्बा (लिम्बू) हरूले दशैं यसरी नै मान्ने गर्थे (सुब्बाहरूको दशैं र गोर्खालीको निशान)।’’

उनका अनुसार विसं.२०२१—२३ देखि भुमिसुधार लागेर नापी नहुञ्जेलसम्म आफ्नो किपट, खर्कमा राखेका रैतीहरूलाई सुब्बाले नै टीका लगाइदिन्थे। माबुहाङले थपेका छन्, ‘‘मै हुँ भन्ने क्षेत्री/बाहुनहरू पनि दशैंमा त दहीको ठेकी, खसीको फिलो बोकेर सुब्बाको घरमा पुग्नै पर्‍यो।
नयाँ बिहाबारी परेको लिम्बूका घरमा त ज्वाइँछोरीले टीका लगाउन ढाकरमा सिंगै सुँगुर बनाएर (आन्द्राभुँडी मात्र निकालेर भुत्ला खुर्किएको सिंगो सुँगुर) दुई—दुई खुट्टामा सयपत्री फूलसहित बाँधेर नयाँ टीकाको दस्तुरसहित ससुराली घरमा पुग्नुपर्थ्यो।’’

उनले योगी नरहरीनाथले ऐतिहासिक सामग्रीहरु संकलन इतिहास पत्रमा सन्धीपत्र संग्रहको पृष्ठ ३३ उद्धृत गर्दै बहादुर शाहले १८५० मा पर्वते कालिगढलाई नौ दिन र नेवार कालिगढलाई चार दिन दशैं बिदा दिएको कुरा उल्लेख गरेका छन्। उनले १९२८ मा धनकुटा गौंडाबाट राँगा, बोका झिकाइएको कागज विसं.२०४२ सालमा प्रकाशनमा आएको शिवकुमार श्रेष्ठद्घारा लिखित पुस्तक लिम्बुवानको ऐतिहासिक अध्ययन को पृष्ठ पृष्ठ १३१ उद्धृत गरेका छन्, ‘‘रणबहादुर शाहले श्रीदेव राय (फागो थरी लिम्बू) लाई १८५१ मा गरिदिएको कस्य रुक्कामा ‘‘दशैंको भाग सुब्बापिच्छे रु ५’’ जस्ता वाक्यांशहरू परेका छन्। अथवा, गोर्खालीहरूले सुब्बाहरूलाई दशैंको भाग रु ५ तिर्न लगाएर दशैं मान्न लगाएको देखिन्छ।’’

यसैगरी पाँचथर अम्लाबुङका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको कागजमा १९२८ मा पान्थर याङनामबाहेकका अम्लाबुङका सुब्बाहरूलाई ‘‘चैते दशैं र महादशैंमा राँगो र बोकाहरू धनकुटा गौंडामा बुझाउन’’ भनिएको छ भनी उनले उल्लेख गरेका छन्। त्यसबेला थुमथुमका सुब्बाहरूले राँगो, बोको धनकुटा गौंडामा पालैपालो दशैंमा बुझाउँथे।

माबुहाङ लेख्छन्, ‘‘वास्तवमा किपटसँगको प्रशासनिक र प्रथागत अधिकार बढीजसो दशैं पर्वले प्रभाव पर्थ्यो। जित्ने गोर्खाली र हार्ने लिम्बू पात्रहरूबिना त पूर्वको इतिहासै अपूरो हुन्छ। यो देश बन्न सबै गोर्खालीको मात्र भूमिका नभएर सबै जातजातिको उत्तिकै भूमिका छ भन्ने इतिहास बुझ्न दशैं पर्वको महत्व बुझ्नैपर्छ।’’

राई लिम्बु समुदायमा दशैंआतंक छाउँथ्यो। बूढापाकाहरु राणाकालीन स्मरण सुनाउँछन्। दुर्गाहाङ याखाराई लेख्छन्, ‘‘प्रत्येक वडादशैंपछि सरकारी तिलंगा-काली लबेदा सुरुवारमा सेतो पटुका र सेतै फेटावाल सिपाही) गाउँगाउँ घुमेर गाउँलेले दशैं माने नमानेको चियोचर्चा गर्थे। त्यसैले गाउँका खासथरी मुखिया थरी जिम्मावल, अमाली, सुब्बा आदिका घरमा दुर्गापुजासहित मार हानेको प्रमाणित गर्न पशुद्वारा आलो रगतमा हातका दुई पन्जा भिजाई आफ्नो घरको मूल प्रबेशद्वारको दायाबाया टाढैबाट स्पष्ट देखिनेगरी पन्जाछाप लगाउने गर्थे। तिलंगा ती दशैंया प्रमाण–पत्र रक्तरञ्जित पन्चाछापहरुलाई हेरेर सन्तुष्ट भई फर्कने गर्थे। तिलंगा अब गाउँमा आउने गर्दैनन्, अमाली व्यवस्था पनि अब रहेन। तैपनि दशैंमा मार हान्ने घरको प्रवेशद्वारमा आजसम्मै कायम छ। यो छापले दशैंँया सरकारी आतंकको पूर्वकथा आफै भनिरहेको छ (बाहुनवादविरुद्ध जनजाति उत्पीडित वर्ग, पेज ४५३)।

मन्धुमविद् भोगिराज चाम्लिङ किरात समुदायमा दशैं पसेका कुरा दुई बुँदा बनाउँछन्।

बुँदा नम्बर एक, पृथ्वीनारायण शाहले गोर्खा बिस्तारका क्रममा गढी कब्जा गरेपछि कोतघर बनाइयो। कोतघरमा फूलपातीको दिन राँगा ढालेर प्रत्येक घरलाई प्रसाद लिन बोलाइयो। त्यसदिनदेखि दशैं मनाउन लगाएको देखिन्छ। तालुकदार जिम्मालले राँगाको प्रबन्ध गर्नुपर्ने र जनतालाई ढालेको राँगा वितरण गर्थे। स्थानीय तालुकदार मुक्खेमार्फत् दशैं जनतालाई मान्न लगाएको देखिन्छ।

बुँदा नम्बर दुई, नवमीमा बली चढाएर पुजा गरेको प्रमाणको रुपमा रगतमा हात डुबाएर हातको पंजा घरको मूलढोकाको दायातिर छाप लगाउने लगायो। दशैं मनाएको हो कि होइन भनेर हेर्न जाँदा छाप लगाएको नभेटे सजायको भागीदार हुन्थे।

यी दशैं परिघटनालाई नजरअन्दाज गर्दै नेपालको जातीय संरचनागत राज्य व्यवस्थाको पुरानो भाष्य भने जब्बर देखिन्छ। वेदराज पन्तले उही भाष्य दोहो¥याएका छन्, ‘‘दशैं पर्व कुनै वर्गविशेष वा जाति विशेषको पर्व होइन (प्राच्य जीवनशैलीको एक सूत्र दशैं, पेज ४२)। उनले त वौद्धमार्गीले पनि दशैं मनाउने कुरा उल्लेख गर्छन्, ‘‘…विजयादशमी बौद्धहरुले पनि दिवसको मनाउँछन्। अशोक हिंसाको प्रतीक हतियार त्यागेर बौद्ध धर्ममा समर्पित भएको दिन विजया दशमीको दिन थियो (प्राच्य जीवनशैलीको एक सूत्र दशैं, पेज १४७)।’’

राई लिम्बुले दशैं छाडे

दशैं राई लिम्बु समुदायको हो कि होइन ? विद्वानहरुमा मतक्यता भने छैन। एकथरीले दशैं राई लिम्बु समुदायको मौलिक पर्व पनि भन्छन्। यसो भन्नेले लिम्बू समुदायका युवाले बिहे गरेपछि पहिलो दशैंमा नयाँ ज्वाइँका रूपमा ससुराली पुग्नैपर्ने, तीन वर्षपछिको दशैंपछि ससुराली पक्षले दोब्बर ‘‘बागदत्त’’ फर्काउने जस्ता प्रसंग उप्काउँछन्।

भीम चापागाईं इतिहासकार मोहनसिंह थेबेलाई उद्धृत गर्दै नागरिकन्युजमा लेख्छन्, ‘‘लिम्बूभित्रको यो संस्कृति अहिले हराउँदै छ तर दशैं लिम्बूको पनि चाड रहेछ भन्ने तर्कलाई यसले पुष्टि गर्छ। किरात समुदायमा दशैंसँग जोडिएका यस्ता धेरै संस्कृति छन्, जसले दशैं लिम्बूको पनि चाड हो भन्ने प्रमाण दिएका छन्।’’ थेबेको तर्कलाई मुन्धुमविद् भोगिराज चाम्लिङ भने अस्विकार्छन्। दशैं आयातीत र राज्यले लादेको भन्दै चाम्लिङ तर्क तर्कन्छन्, ‘‘जति पनि किरात संस्कार हुन् ती मिथक र मुन्धुममा आउँछन्। मिथक र मुन्धुमा आए मौलिक रहेछ भनेर बुझ्नुपर्छ। दशैंसँग सम्बन्धित कुनै मिथक र मुन्धुममा छैन। त्यसैले दशैंँ किरातको होइन।’’

२०४६ को राजनीतिक परिवर्तनसँगै सर्बसाधारण पनि राजनीतिक चेत फैलियो। दशैं लादेको नै हो भन्ने मत किरात समुदायमा बढ्यो। मत बढ्दैजाँदा दशैंमा लगाउने रातो टीकामा पनि पुग्यो। रातोको बदला राई लिम्बु सेतो टीका लगाउन थाले।

किरात संस्कृतिका अध्येता अर्जुनबाबु माबुहाङ भने लिम्बू समुदायमा रातो वा सेतो कुनै पनि टीका लगाउने चलन नै नभएको तर्क गर्छन्। चापागाईं माबुहाङलाई उद्धृत गर्दै लेख्छन्, ‘‘लिम्बूमा त टीका लगाएर दक्षिणा दिने चलन नै अन्य समुदायको प्रभावले मात्रै आएको हो, बरु बूढीऔंलमकम ढोग्ने चलन हाम्रो थियो।’’

गोर्खा बिस्तारको क्रममा विजयको रातो टीका घर–घरमा लगाउन उर्दी गरेकाले लिम्बू र राईले पनि दशैं मान्न थालेको तर्क सार्दै दशैंमा रातो टीका नभई सेतो टीका लगाउन थाले भनिन्छ। यसरी सेतो टीका लगाउने र दशैं नै नमान्ने गरी केले राई लिम्बु समाजलाई प्रभावित पार्‍यो होला ?

२०४६ को परिवर्तन र जातीय संस्थाका अभियान

२०४६ को राजनीतिक परिवर्तनपछि जनतामा राजनीतिक चेत फैलियो। बिभिन्न राजनीतिक दल तथा जातीय संगठनले आफ्ना कुरा खुलमखुला राख्न थाले।

इतिहासकार मोहनसिंह थेबेलाई उद्धृत गर्दै चापागाईं नागरिकन्युजमा लेख्छन्, ‘‘सुभांगीको चलन नचलुञ्जेल किरात समुदायमा दशैं भव्यरूपले मनाइने गरे पनि बहुदलीय व्यवस्थापछि दशैं मनाउने चलन यो समुदायमा घटेको छ।’’

यसैमा चापागाईं थप्छन्, ‘‘बितेको दशकमा उचाइमा पुगेको पहिचानवादी आन्दोलन मात्र होइन, त्यसअघिको जातीय राजनीतिक आन्दोलनले पनि दशैं ‘‘राई–लिम्बूको मौलिक चाड होइन’’ भन्ने चेतना भरेको थियो। र, राई–लिम्बूको धर्म, संस्कृति, परम्परा जगेर्ना गर्न गठन भएका जातीय संघ–संस्थाले पनि यही बुझाइलाई मलजल गर्दामा परिणाम गाउँ–गाउँसम्म बिस्तारै फैलिँदैछ।’’

२०४८ मा पूर्वी पहाडका सडकमा एउटा पर्चा पम्प्लेट छरियो। जसमा लेखिएको कुरा चापागाईं उद्धृत गरेका छन्– मधुकैटव, महिसासुर, दानवहरू किरातका वंशज हुन्, हिन्दूले छलकपट गरेर उनीहरूलाई मारे अनि हाम्रै पूर्खाको रगतमाथि विजय प्राप्त गरेर हामीलाई रगतको रातो टीका लगाउन बाध्य पारे।

नेपालको तेस्रो ठूलो र आदिवासी जनजातिमा सबभन्दा ठूलो जनसंख्यावाल मगर समुदायको संस्था मगर संघले त ‘‘दशैं परित्याग’’ अभियान नै चलायो। भोगिराज चाम्लिङले संघले दशैं परित्यागको अभियानको प्रभाव पनि राई लिम्बु समुदायमा परेको सुनाए। ‘‘दशैं बहिष्कार त किरातमा पनि व्यापक चल्यो। लहर नै चल्यो,’’ चाम्लिङले भने।

चापागाईंका अनुसार मंगोल नेसनल अर्गनाइजेसन र राष्ट्रिय जनमुक्ति पार्टीको दशैं नमनाउने अभियानले पनि किरात समुदायमा दशैं मनाउनेक्रम घटेको हो।

उनले त ‘‘पछिल्लो समय धर्म परिवर्तन गर्दै क्रिश्चियनमा लाग्नेको संख्या बढिरहेकाले पनि यो समुदायमा दशैं मोह घटाउन इँटा थपेको छ’’ तर्क गर्छन्।

पूर्वी पहाडमा छरेको पर्चा

२०४८ मा पूर्वी पहाडका सडकमा एउटा पर्चा पम्प्लेट छरियो। जसमा लेखिएको कुरा चापागाईं उद्धृत गरेका छन्– मधुकैटव, महिसासुर, दानवहरू किरातका वंशज हुन्, हिन्दूले छलकपट गरेर उनीहरूलाई मारे अनि हाम्रै पूर्खाको रगतमाथि विजय प्राप्त गरेर हामीलाई रगतको रातो टीका लगाउन बाध्य पारे।

राई, लिम्बु समुदायमा राजा–महाराजाले राई–लिम्बू समुदायमा जबर्जस्ती लादेको चाडका रूपमा दशैंलाई बुझ्नेको संख्या बढ्यो। बुझाइ मात्र त्यस्तो होइन, दशैं मनाउने चलनमै यसले परिवर्तन ल्यायो।

चाम्लिङ भन्छन्, ‘‘दशैं मान्ने र नमान्ने किरात आधाआधी नै भइसके होला।’’

समय फेरियो। नुमबाट कति काठमाडौं पसे त कति तराई झरे भने कतिले धर्म नै फेरे। पूर्वी पहाडका अन्य गाउँ पनि नुमजस्तै भए।

चापागाईं लेख्छन्, ‘‘पूर्वीपहाडमा पनि उसैगरी दशैं आउँछ, जसरी अरूतिर आउँछ। तर, केही वर्षदेखि यहाँको दशैं फेरिएको छ। विशेषगरी किरात समुदायमा दशैं मनाउने चलन बदलिएको छ। र, यो समुदायमा दशैं मनाउने चलन घट्दै पनि छ।’’ उनका अनुसार नवरात्र आउनेबित्तिकै घर–घरमा घन्किने नगराको रन्को सुगम संगीतको धुन ‘‘इन्डिङ’’तिर गएजसरी धुमिलिँदैछ। तर, न राज्यले राजा र राणाकालीन झझल्को दिन छाडेको छ न त दशैं नमान्ने राई–लिम्बु दशैंमा आफन्तसँग भेटघाटको अवसर बनाउन नै छाडेका छन्। नुमकी युवाकुमारी राई भन्छिन्, ‘‘टीका नलगाए पनि माइतीकहाँ रक्सीलगायतका कोसेली बोकी भेटघाट गर्न जान छाडेकी छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved