कसको चंगा चेट होला र कुदाउँला भनेर बसिन्थ्यो

चंगाका कारण सानोतिनो लड्ने उठ्ने त भइरहन्थ्यो। एकपटक चाहिं घर पछाडि बारीको सिस्नोको झ्याङमा खसेको सम्झिँदा अहिले आङ जिरिङ्ग हुन्छ।

कसको चंगा चेट होला र कुदाउँला भनेर बसिन्थ्यो

दशैं भनेको नै मेरो लागि चंगा मात्र थियो। राम्रो लुगा लाउने, मासु खाने, पिङ खेल्ने, मामाघर जाने सबै बच्चा बेलामा कसलाई रमाइलो लाग्दैन र? तर मेरा लागि चंगा मुख्य प्राथमिकतामा थियो। अरू कुरा सामान्य प्राथमिकतामा पर्थे। बस, दशैंमा चंगा उडाउन पाए पुग्यो।

चंगाको यति क्रेज हुन्थ्यो कि, दशैंभरि टाउको माथितिर मात्र फर्केको हुन्थ्यो। खालि चंगा कहाँ उडिराछ ? कहाँ जुधिराछ ? कसको चंगा चेट होला र लिन कुदाउँला भनेर बसिन्थ्यो।

बाल्यकालमा म भीमसेनस्थानको घरमा बस्थे। काठमाडौंको कोर नेवार बस्तीको पनि भित्री क्षेत्र थियो त्यो। टोलतिर नजिक-नजिक घरहरू हुन्थ्यो। अनि टोलभरिका दाजुहरू, साथीहरूसँग चंगा उडाउन, चंगा जुधाउन निकै मज्जा आउँथ्यो। अहिले मेरो परिवार त्यहाँ बस्दैन। तर मलाई दशैंमा पुरानो घर निकै मिस हुन्छ।

बच्चा बेलाको के कुरा गर्नु ? अहिलै पनि दशैंमा चंगा उडाउन खुब रहर लाग्छ। १-२ वर्ष अगाडिसम्म पनि चंगा उडाउन भनेर लट्टाई, धागो किनेर कम्तीमा एक पटक भए पनि दशैंमा रहर पूरा गर्ने गर्थें।

दशैंभन्दा पनि प्रि-दशैंको महत्व धेरै थियो। दशैं आउन लाग्यो भन्नेबितिकै मेरो त एक महिनादेखि चंगा उडाउने तयारी हुन्थ्यो, चंगा किनेर कोठाभरि झुण्डाएर राख्न मजा लाग्थ्यो। त्यो समयमा घरबाट थोरै पैसा मात्र पाइन्थ्यो। सीमित पैसाले चंगा किन्नु पर्थ्यो, धागो किन्न पर्‍यो, लट्टाई त अझ पुरानै हुन्थ्यो।

यसपछि चोकमा जम्मा भएर धागोमा मादा हाल्ने काम गर्थ्यौं हामी। अहिले पो चंगाको लागि भनेर रेडिमेड धागो आउन थाल्यो। त्यो बेला त रेडिमेड धागो निकै कम हुन्थ्यो, भए पनि किन्नलाई पैसा हुँदैन्थ्यो। सामान्य धागोमा आफै नयाँ नयाँ मादा हाल्ने चिज किनेर धागोमा दल्थ्यौं। जसले चंगा जुधाउँदा अरूको चेट पार्न धागो बलियो र धारिलो बनाउँछ।

त्यो बेला घरमा दिएको पैसा एक दुई दिनमा सकिहाल्थ्यो। सधैं चंगा किन्न कहाँबाट पैसा पाउनु ? कहिले चंगा च्यातिन्थ्यो, अड्किन्थ्यो, अरूले जुधाएर चंगा चेट पार्थे। त्यसपछि अरूको चेट भएको चंगा लिन नकुदेर सुखै भएन।

चेट भएर आएको चंगा समाउन बाटोमा कुद्दा साइकल र मोटरबाइकको ठक्कर त कति खाइयो कति। हाम्रो घर तल नै बाटो थियो। तर चोक गल्लीतिर बाटो ठूलो नहुने। साघुँरो बाटोमा मोटरसाइकलहरू हुइँकाएर ल्याउँथे। आफ्नो ध्यानचाहिँ आकाशतिर मात्र हुन्थ्यो, चेट भएको चंगा कहाँ खस्छ भनेर समात्नलाई। अनि चंगा खस्नु अगाडि साइकल, मोटरसाइकलमा ठोक्किएर आफू पहिले लडिसकिन्थ्यो।

त्यो बेला कागजको चंगा धेरै हुन्थ्यो। प्लाष्टिकको पनि हुन्थ्यो तर त्यो एक त कागजको भन्दा डबल नै पैसा पर्थ्यो। फेरि उडाउन पनि कागजको जस्तो मजा नआउने, त्यही भएर धेरैजसो कागजकै चंगा उडाउँथ्यौं। कहिले चंगा उडाउँदा उडाउँदै टाढा पुगेको हुन्थ्यो। कहिलेकाहीँ ह्वार्र पानी पर्थ्यो। टाढा पुगेको चंगा बचाउन हात गल्ने गरी मरुन्जेल लट्टाईले धागो बेर्‍यो। हातसम्म आइपुग्दा त कागजको चंगाको डाँडी मात्र।

चंगाका कारण सानोतिनो लड्ने उठ्ने त भइरहन्थ्यो। एकपटक चाहिं घर पछाडि बारीको सिस्नोको झ्याङमा खसेको सम्झिँदा अहिले आङ जिरिङ्ग हुन्छ।

घर पछाडि अलिकति खालि ठाउँ थियो। त्यहाँबाट पनि हामी कहिलेकाहीँ चंगा उडाउने गर्थ्यौं। त्यो खालि ठाउँको पछाडि अलिक भिरालो बारी थियो। त्यो बेला त्यहाँ केही पनि रोपिएको थिएन। त्यो भिरालो ठाउँ पूरै सिस्नोको झाडीले भरिएको थियो।

हामी केही साथीभाइ चंगा उडाइरहेका थियौं। माथि उडाइरहेको मेरो चंगा तल खस्लाजस्तो भयो। चंगा तल खस्यो भने अरूको घरको छतमा, बाटोमा अरूका बारीमा जहाँ पनि पर्न सक्थ्यो। अझ त्यो बेला रूख पनि धेरै थियो। फेरि भेट्टाउने त चान्स नै थिएन।

त्यसैले सकेसम्म चंगालाई माथि लानलाई हामी पछाडि हट्दै छिटो छिटो लट्टाईले धागो बेर्ने गर्थ्यौं। मैले पनि त्यसै गर्न थालें। तर चंगा खस्ला भन्ने सुरमा पछाडि डिल छ भन्ने होसै भएन। धागो बेर्दैपछि हट्दै गर्दा म त एकै पटक कान्लामुनि सिस्नोको झाडीमा खसेछु।

झ्वाम्मै झ्याङमा खसेकाले चोटपटक त लागेन तर सिस्नोले शरीरभरि पोलेको रै’छ। त्यो बेला त सिस्नाले पोलेको पनि खासै थाहा भएन र वास्ता पनि गरिनँ। आफूलाई मुख्य टेन्सन त चंगा खस्ला भन्ने पो थियो। आफू लडेर बल्ल बल्ल पोलेको ठाउँमा माड्दै उठें।

यता लट्टाई त हातमा छैन। उता चंगा हावामा विस्तारै तल खस्दै थियो। चंगा बचाउनलाई म हतार-हतार लट्टाई खोज्न थालें। लट्टाई त गुडेर अझ मभन्दा नि तल पुगेछ। धन्न धागोचाहिँ चुँडिएको रहिन्छ। तर उठेर लट्टाई खोज्दा ओर्दा चंगा खसिसकेछ। जति गरे पनि त्यो चंगा बचाउन सकिएन।

अब बल्ल पो सिस्नाले पोलेको थाहा हुन थाल्यो। त्यही पनि उज्यालो छउन्जेल त कहाँ घरभित्र पसिन्थ्यो र। अलि अलि तेल सेल लगाएर फेरि अर्को चंगामा काँकाँ हाल्न थालिहाल्थ्यौं। दिनभरि त चंगाको तालमा सिस्नाको पोलाइको वास्तै भएन।

रात परेपछि पो थाहा भो त। शरीरभरि डाबरै डाबर। राति सुत्न पनि गाह्रो भो। सिस्नाको पोलाइ फेरि २४ घण्टा रहने रैछ। तर भोलिपल्ट उज्यालो भएपछि त्यो नाथे सिस्नाको पोलाइको के मतलब। फेरि पुरानै ड्युटी शुरु भैहाल्यो, कि चंगा छ, कि मान्छे छ।

अर्को एक पटक त झन घरको छतबाट नै खसियो। हाम्रो पाँच तलाको अग्लो घर थियो। सबैभन्दा माथिको तलामा भर्‍याङ छोप्नलाई जस्ताको छानो थियो। पाँच तला अग्लो घरको कौसीको हाइटले नपुगेर हामी त्यहीँ जस्ताको छतमा चढेर चंगा उडाउने गर्थ्यौं।

सधैंजस्तो त्यो दिन पनि हामी जस्ताको छानामा बसेर चंगा उडाइरहेका थियौं। एक्कासि कताबाट चेट भएर एउटा चंगा हाम्रो टाउको माथितिर आइपुग्यो।

चंगा चेट भए पनि उडिरहेको थियो। धागोचाहिँ लत्रिरहेको थियो। त्यो चंगा हात पार्न आँखै नहेरी कुदेछु। सीधै एक तला तलको कौसीमा खसियो। जिउ मजाले बजारियो। तर धन्न त्यस्तो ठूलो केही भएन। अझ धन्न कौसीतिर नै खसे र बँचें। पाँच तलाको घरको अरू साइडमा खसेको भए आज ज्ञानेन्द्र मल्ल कहाँ हुन्थ्यो होला ?

हाम्रो मामाघरचाहिँ दमौलीमा हो। मामाघर अलि टाढा भएकाले प्रत्येक दशैंमा मामाघर जाँदैनथ्यौ हामी। कुनै वर्ष मामाघर गइन्थ्यो, कहिले यता घरतिरै बसेर मनाउने चलन थियो।

तर मामाघर जाने वर्षको रमाइलो छुट्टै हुन्थ्यो। काठमाडौंमा जन्मिएको मान्छे, भ्याली बाहिर लामो टुरमा नयाँ-नयाँ लुगा लगाएर जाँदा-आउँदाको मजा बेग्लै थियो।

कुनै कुनै वर्ष मात्र मामाघर जाने हुनाले हामीलाई दमौलीमा बेग्लै ट्रिट हुन्थ्यो। विशेषगरि मामाघरको हजुरबुबाले जहिले पनि म गएपछि मेरै लागि भनेर विशेष पिङ बनाइदिने गर्नुहुन्थ्यो। त्यो क्षण कहिल्यै बिर्सिदिनँ।

त्यो बेला हाम्रो टोलको चोक चोकमा लङ्गुरबुर्जाहरू थापेको हुन्थ्यो। सानो बेलामा पैसा धेरै हुँदैन्थ्यो, ५० पैसा ,एक रुपियाँसम्म लङ्गुरबुर्जामा खेल्थ्यौं, पैसा जितुन्जेल खेल्याखेल्यै। अनि खेलिरहँदा जितेको पैसा त जान्थ्यो जान्थ्यो, आफ्नो साउ पनि सबै हारिन्थ्यो।

क्रिकेट खेल्न थालेर अण्डर एज टिममा परेपछि भने दशैं मेरा लागि केही परिवर्तित भयो। दशैंमा नै विदेशमा भएको प्रतियोगिता हुन्थे। उतै मनाइन्थ्यो। प्रतियोगिता नभएका बेला पनि राष्ट्रिय टिमको ट्रेनिङ् नियमितजस्तो हुन्थ्यो।

दशैंमा जम्मा दुई दिन बिदा हुन्थ्यो। तर त्यो बिदा त सकिहाल्थ्यो। निर्धक्क दशैं मनाउन पनि नपाइने, भनेको ठाउँमा जान पनि नपाइने, परिवार आफन्तसँग बिताउने समय पनि धेरै हुन्नथ्यो।

हाम्रो नेवारहरूको दशैंमा चलन अलिकति फरक छ। टीका सकेर पनि धेरै दिनसम्म दशैं मनाइरहन्छ। नखट्या भनेर आफन्तकोमा जाने, भोज खाने प्रक्रिया चलिराख्छ।

त्यसैले क्रिकेट खेल्न थालेपछि बच्चा बेलाको जस्तो दशैं मनाउन पाइएन। तर ध्यान अहिले क्रिकेटमै बढी छ। देशका लागि खेल्न थालेपछि खेलाडीका लागि दशैंभन्दा पनि खेलले बढी महत्व राख्छ। खेलाडीका लागि खेल र प्रतियोगिता नै दशैं–तिहारजस्ता चाडपर्व भन्दा पनि ठूलो हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved