मासु कति खाने? कसरी खाने?

मासु कति खाने? कसरी खाने?

काठमाडौं। सामान्यतया मासु कति खाने भन्ने मानिसअनुसार फरक पर्छ। व्यक्तिको उचाइ, तौल, दैनिक क्रियाकलाप आदिले कति खाने भन्ने निर्धारण गर्छ।

कुनै व्यक्तिले आफूले खाएको खानाबाट २० प्रतिशत प्रोटिन पाउनुपर्छ। एक स्वस्थ व्यक्तिले अन्य खानेकुरा नखाई मासु मात्र खाने हो भने इच्छाअनुसार खान सक्छन्। तर खाने शैलीमा भने ध्यान दिनुपर्छ।

स्वस्थ आहारमा मासु पनि समावेश हुन्छ। विश्वमा एउटा यस्तो समुदाय पनि छ, जसले आहारका रूपमा सबैभन्दा बढी मासु नै खाने गर्छ। त्यसैले मासु खानु हुँदैन भन्नु नै गलत हो।

धेरेजसो मानिसहरू मासु खाँदा तौल बढ्छ भन्ने गर्छन्। मासुले होइन मासुसँग खाने अन्य खाद्यपदार्थका कारण तौल बढ्ने गर्छ। फलफूल, साग सब्जीसँगै मासु पनि शरीरका लागी आवश्यक खाद्यवस्तु हो।

नेपालीको खाने शैलीले मासुलाई नराम्रो बनाएको हो। मानिसहरूले अन्य दिनभन्दा मासु भएको दिनमा बढी भात खाने गर्छन्। भात बढी खाँदा त्यसले असर गर्छ तर नेपाली समाजमा दोष भने मासुलाई दिँदै आइरहेका छन्।

दशैंमा मासु पचाउन भनेर धेरै मानिसले  मदिरापान र अन्य पेय पदार्थ सेवन गर्ने गरेको पाइन्छ। यसरी खाँदा स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ। पेयपदार्थ स्वास्थ्यका लागि  हानिकारक हुन्छ। कोलोस्ट्रोल, मोटोपनलगायत समस्या मासुले नभई मासुसँग खाइने अन्य पेय र खाद्य पदार्थका कारण हुन्छ।

कुनै व्यक्तिले मासु मात्र खाने हो भने पनि स्वस्थ तरिकाले खाए केही समस्या हुँदैन। मासु पकाउने तरीका र कस्तो मासु  खाएको हो त्यसले असर पार्छ। दशैंमा मासु खाँदा खसीको गिदी, आन्द्रा, कलेजो, छाला, मिर्गौलालगायत अन्य अंगहरू पनि खाइन्छ। यो खाने शैली एकदमै राम्रो हो। यो बढी पोसिलो हुन्छ।

कलेजो खानु औषधि र भिटामिन खाएसरह हो। नेपाली समाजमा रक्तिम बनाएर खाने गरिन्छ। रगतमा अत्याधिक मात्रामा पौष्टिक तत्त्व समावेश भएको हुन्छ। विदेशमा अन्य अंग खाने चलन छैन। तर नेपालमा मासुका सबै अंग मिसाएर खाने गरिन्छ।

मासु खाँदा कुन परिकार बनाएर खाने भन्ने हुन्छ। सेकुवा आगोमा सिधै तताउँदा केही मात्रामा विषाक्त रसायन निस्कन्छन्। ती रसायनले स्वास्थ्यमा खासै हानी गर्दैनन्। प्राचीन समाजमा वनका फलफूल र शिकार गरेर ल्याएको वस्तुको मासु खाने गरिन्थ्यो। त्यसबेलाका मानिस शिकार गरेर ल्याएको मासु काचै वा पोलेर खाने गर्थे। पोलेर खाँदा हानी हुने भए मानव जातिको त्यसबेला नै अन्त्य हुन्थ्यो भन्ने गरिन्छ।

यस तथ्यमा आधारित भएर हेर्दा पोलेर खाएको मासु त्यति हानिकारक हुँदैन भन्न सकिन्छ रसायन केही मात्रामा हुन्छ भन्ने पुष्टि भएको छ। तर त्यसले स्वास्थ्यमा खासै असर गर्दैन।

मासुसँग मद्यपान, धूमपान र भात बढी आएमा स्वास्थ्यमा असर गर्छ। माछा मासुसँग दही दूध खानु हुँदैन भन्ने गरिन्छ। वास्तवमा यी परिकार मिसाएर खाँदा केही फरक पर्दैन। दशैंको समयमा दही जति आयो त्यति नै राम्रो हो। दशैंमा धेरैजसो मानिसले अस्वस्थ्यकर खानेकुरा खाइरहेका हुन्छन् त्यसलाई पचाउन दहीले सहयोग गर्छ।

दीर्घ रोग (मधुमेह, रक्तचाप) भएका व्यक्तिले खसीको मासु खाँदैनन्। यस्ता बिरामीले स्वास्थ्य अवस्था हेरेर रातो र सेतो मासु छुट्याएर खान सक्छन्। प्राय: मानिसहरूमा अल्प ज्ञान भएकाले रातो मासु खाँदैनन्। मधुमेह, रक्तचाप नियन्त्रणको अवस्था हेरेर चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार रातो मासु पनि खान सक्छन्।

सन्तुलित खानामा मासु पनि समावेश भएको हुन्छ।

मासुभन्दा पनि जंक फुड, रिफाइन्ड गरेको खानेकुरा अर्थात् मैदाबाट बनेका खानेकुरा र फ्याक्ट्रीबाट आउने तेलको प्रयोगमा ध्यान दिन सके ६० प्रतिशत बढी मानिसको स्वास्थ्य सुधार गर्न सकिन्छ। धेरैजसो मानिस खानेकुरा नियन्त्रण गरिरहेको छु भन्छन् तर उनीहरूको स्वास्थ्य अवस्था उस्तै हुन्छ। किनकि धेरैजसो व्यक्ति मासु मात्र नियन्त्रण गरिरहेका हुन्छन्।

नेपालमा पाँच वर्ष अघिको चलन हेर्ने हो भने त्यसबेला तरकारी वा अन्य कुनै तेलको प्रयोगबाट बनाउने परिकारमा घ्यू वा बोसोको मात्र प्रयोग गरिन्थ्यो। जति पनि प्राकृतिक खानेकुरा छन् ती स्वस्थ आहारभित्र पर्छन्। फ्याक्ट्रीबाट बनेका खानेकुरा खानाले स्वास्थ्यमा समस्या ल्याएको छ।

(पोषणविद् कार्कीसँग नेपालभ्यूजकर्मी  भागिरथी पण्डितले गरेको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved