काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टिम पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
माल्दिभ्समा जारी प्रतियोगिताको लिग चरणको अन्तीम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल ईतिहास रच्न सफल भएको हो।
यसअघिका १२ संस्करणमा नेपाल फाइनलमा पुग्न सकेको थिएन।गेमको पहिलो दुई मिनेटमै फ्रिकिक पाएको नेपालले पोस्टमा प्रहार गर्न नसक्दा मौका गुमायो। फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टबाहिर बल प्रहार गरे।
आठ मिनेटमा सुमन रेजाले बंगलादेशलाई अग्रता दिलाए।
नेपालले १५ औं र ४२ मिनेटमा पनि खेल बराबरी गर्ने सुन्दर मौका पाएपनि त्यो मौकाको सदुपयोग गर्न सकेन। फाइनलमा पुग्न नेपाललाई कम्तीमा बराबरी पुग्थ्यो भने बंगलादेशलाई फाइनल प्रवेशका लागि यो खेलमा जित्नैपर्ने दबाब थियो।
५२ र ७१ औं मिनेटमा पनि मौका गुमाएको नेपालले अन्तिम ८८ औं मिनेटमा पेनाल्टीमा गोल फर्काएर खेल बराबरी गरेको हो। पेनाल्टीमा अन्जन बिष्टले गोल गरे।
यससँगै नेपालले हालसम्म सात अंक जोडिसकेको छ भने बंगलादेशको चार अंक छ ।
अब लिगको अन्तिम खेलमा आज राति डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र सर्वाधिक सात पटकको विजेता भारतबीच खेल हुँदैछ। उक्त खेलको विजेतासँग नेपाल उपाधिका लागि भिड्नेछ।
पहिलो संस्करणमा तेस्रो भएको नेपाल सन् २०१८ को गत संस्करणसम्म आइपुग्दा सेमिफाइनलभनदा माथि पुग्न सकेको थिएन। यो १३ औँ संस्करणमा दक्षिण एसियाका ५ राष्ट्र मात्र सहभागी छन्। पाकिस्तानलाई फिफाले नै प्रतिवन्ध गरेको छ भने भूटानलाई कोभिडका कारण सरकारले विदेशमा खेल्न अनुमति दिएको छैन।
त्यसैले ५ टिम मात्रै भएकाले यो पल्टको साफ राउन्ड रोबिन लिगकै आधारमा गरिएको थियो।
जहाँ सहभागी ५ ओटै राष्ट्रले लिग चरणमा एकअर्कासँग खेल्छन् र शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्। पाँच टिम मात्र सहभागी भएको र कुवेती कोच अबदुल्ला अलमुताइरी आएपछि नेपाली टिमको खेल सुधार आएको देखिन्छ। ज्सकारण नेपाललाई यसपालिको उपाधिको दाबेदारको रुपमा पनि हेरिएको छ।
कोच अलमुताइरीले विशेषगरी नेपाली फुटबलको सँधैको समस्या रहेको स्ट्राइकिङ लाइनअपमा सुधार गरेका छन्। अब फाइनलमा भेट हुनसक्ने भारत र माल्दिभ्स भने दुवै तुलनात्मक रुपमा नेपाल भन्दा बलिया छन्।