छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ०५९७ नम्बर र विपरित दिशाबाट आउँदै गरेको ज.१२ प.२९६१ नम्बरको मोटरसाइकल मंगलबार राति एक आपसमा जुधेका थिए। महतोको बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु प्रहरी नायव उपरीक्षक विष्टले बताए।

त्यसैगरी, महाकाली राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा दुर्घटना हुँदा डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय ट्याक्टर चालक योगेश पालको मृत्यु भएको हो।

बुधबार बिहान करिब १ बजेतिर ट्याक्टर दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। पाललाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लाने क्रममा बाटोमा निधन भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved