दशैंबारे मगर समुदायमा किन छ विवाद ?

‘‘हामीले मान्ने दशैं भनेको खाने हो। अष्टमीलाई मात्र दशैं भन्छौँ। नवमीलाई बासी भन्छौँ भने दशमीको दशैंलाई तिवासी। तिवासीको दिन दशैंमा आउन नपाएका पाहुनालाई भैंसीको भुत्रा(सुकुटी) खुवाउने हो।’’

दशैंबारे मगर समुदायमा किन छ विवाद ?
तस्वीर सौजन्य : संगीत मगर

कुरो उत्तरी रोल्पाको मिश्रित बस्तीवाल जैपा गाउँको हो। जुन गाउँको तल्लो र माथ्लो टोल क्षेत्रीको छ भने बीचमा मगर। तिनै मगर दशैंमा पैसा उठाउँथे। उठाएको पैसाले किनेको पंचबली गाउँमुन्तिर पाखामा उभिएको मन्दिरमा चढाउँथे।

जुन मन्दिरलाई तिनले माइधर्काका भन्थे भने पंचबलीलाई पंचपल। पंचबलीकोे राँगा, बोकाको मासु खाएर गाउँबाट एकथरी रांकोटमौला पुग्थे भने एकथरी चुनबाङगार तरेर थुनीमौला। ताहिबाङतिर ढल्केको ओइपासँगै जैपाका जयप्रकाश पुन कहिले थुनिमौला जान्थे त कहिले रांकोटमौला। ‘राँगा राम्चाउन जाने’ भनेर भालुकोट, खिसाबाङ, ट्वाङबाट जैपा गाउँ भएरै थुनिमौला जाने लस्कर लाग्थ्यो।

मौलामा मेला भर्न जानुअघि नै गाउँ नै उठेर मौला सफा गर्न जान्थ्यो। जसलाई ‘कालरात जगाउने’ भन्थे। नगए खारा लाग्छ भन्थे। खारा भनेको नजानेले पैसा तिर्नु हो। त्यसैले प्रत्येक घरबाट मौला सफा गर्न जान्थे।

“कहिले थुनिमौलामा राँगा काटेपछि फर्कन्थ्यौँ भने कहिले रातभर मेला हेरेर,” जयप्रकाश थुनिमौला र रांकोटमौला गएको सम्झनामा लहरिन्छन्, “माइधर्कामा पंचपल हानेर मौला जान्थ्यौँ।”

जयप्रकाश मौला जानुअघि घरको ढोका लिप्थे। लिपेको ढोकामा गेरु र कमेराले चित्र बनाउँथे त कहिले गेरु र कमेरोको रातो र सेतो धर्काजस्तो तान्थे। मूलढोकानेर पात्रो, रामायण वा कुनै किताबसहित कुटो, कोदालो, बन्चरोजस्ता फलामका औजारको पनि पूजा गर्थे। तिनलाई भालेको भोग दिन्थे। यसरी भाले काटेको रगत यसअघि रंगाएको ढोकामा पनि लगाउँथे। सायद पूर्वतिर दशैं मनाएको प्रमाणस्वरुप रगत लगाएर पंजाको छाप लगाएजस्तो हो कि भन्ने मगर अध्येता सुनाउँछन्।

“हाम्रो ठूलाबाइ जैसी थिए। उनले नै आफ्नो जैसेली ठाटीपोष्टक पनि पूजा गर्थे,” जयप्रकाश भन्छन्। उनका अनुसार दशैंमा उनका दिदीबहिनी माइत आउँछन्। तिनलाई आफ्नो गच्छेअनुसारको मिठो मसिनो खानपिन गराउँछन्।

रांकोटको यो जैपा अठार मगरातमा पर्छ। अठार मगरात खामभाषी क्षेत्र हो। तर, जयप्रकाश पुनको गाउँका मगरले भने खामभाषा गुमाइसकेको छ। उनको गाउँसँगै रोल्पाकै रांकोट, राङ्सी, इरिबाङ, पाछाबाङजस्ता मगर बहुल क्षेत्रमा पनि खाम भाषा बोल्दैनन्। ती क्षेत्र खानी भएका क्षेत्र हुन्। तामा, फलाम खानी भएका प्रायः सबै ठाउँका मगर खाम भाषा बोल्दैनन्।

प्रकृति पुजक मगर पछि हिन्दू र बौद्धमार्गी भए। मगरका तीन भाषिक क्षेत्र छन्। काइके भाषी मगर सबै बौद्धमार्गी छन्। उनीहरू डोल्पामा बस्छन्। बाँकी खाम र ढुट भाषी ठूलो जनसंख्या छ। खामभाषीको मूलस्थान रापती क्षेत्र हो भने ढुटको गण्डकी।

मगर नेपालको तेस्रो ठूलो र आदिवासी जनजातिमा सबभन्दा ठूलो जनसंख्यावाल जाति हो। पश्चिम डढेलधुरादेखि पूर्व ताप्लेजुङसम्म फैलिएको मगर पछिल्लो जनगणनाअनुसार यसको जनसंख्या करिब १६ लाख छ।

भाषिक आधारबाहेक अर्को रुपमा मगरजातिलाई अठार र बाह्र मगरात भनेर अलग गरिएको छ। रिडीदेखि पश्चिम अठार मगरात हो भने रिडीदेखि पूर्व बाह्र मगरात। राज्यले अठार मगरातमा भाषा खोस्न बल प्रयोग गरेको देखिन्छ भने बाह्र मगरातमा हिन्दूकरण गर्न। बाह्र मगरातमा हिन्दूकरणका कारण दशैंको बढ्ता प्रभाव र अठार मगरातमा कम देखिएको हो।

अनुसन्धाता मीन श्रीसमगर लेख्छन्, ‘‘रापती क्षेत्रमा दशैंलाई गण्डकी क्षेत्रका मगरले झैं विशेषरुपमा नमनाए पनि सामान्यरुपमा दुई दिनसम्म मनाउने गरेको पाइन्छ। दशैंमा अधिकांश मगरले आमाबा, बाजेबजै मान्यजनका हातबाट दही चामलको सेतो टीका र जौको पँहेलो जमरा लगाउने गर्छन्। कुनै भेगमा टीका नलगाउने गरे पनि प्रायः धेरैले दशैंमा कृषि औजार, घरेलु हातहतियार र कोत पूजा गर्ने तथा परिवारका सदस्य र आफन्त भेला भएर मीठो चोखो खाने गरिन्छ’’, (मीन श्रीसमगर, मगर जातिको संस्कार र चाडपर्व, मगर जाति, १४४)। मीनका अनुसार उँधेली गामपूजा परम्पराबाट शरदकालीन दशैं मनाउने प्रचलन विकास भएको मानिन्छ।

मकै भित्राउने र जौ छर्ने समयमा असौजे दशैं आउँछ। यसैमा मीनको थप कथन छ, ‘‘मुख्य अन्नबाली मकै र जौलाई भूमि तथा प्रकृति देवताका पवित्र एवं अमूल्य प्रसाद सम्झेर छर्ने र भित्र्याउने समयमा पूजाआजा गरी तिनै अन्नका जमरा शिरमा लगाउने परम्पराबाट ऐतिहासिक मगरात क्षेत्रमा दशैं चाड अभ्यासको भएको देखिन्छ। दशैंको समयमा खनजोत गर्न तथा अन्नबाली काट्न प्रयोग गर्ने कृषि औजार तथा हातहतियार आफ्ना कुलपितृ तथा स्थानीय देवदेवीको पूजा गरिन्छ। असौजे दशैं उधेली चाड भएकाले लेकबाट बेसी अउल झरेपछि त्यहाँका जीव, वनस्पति जल, थल, हावा आदि प्राकृतिक वातावरणलाई स्थानीय देवदेवीका रुपमा पुज्ने गरिन्छ। दशैंको जमरा र दहीचामलको टीका, दिइने आशिर्वाद, गोर्खा दरवारका छ पूजारीले सप्तमीका दिन हनुमानढोका दरवारको दशैंघरका देवदेवीलाई कुलपितृ (पिटर, कोट, कुलामी, भैरमआदि) का प्रतीक मानेर सुँगुर, राँगो, बोका, भेडाको साँढ, कुखुरा आदिको बलीपूजा गर्नु, सरकारी दशैं घरमा मगर पूजारी नियुक्तिको परम्परा, सराँयनाच र सोरठी नाचले मगराती सभ्यताको विशेषता झल्काउँछ।’’

हिन्दू पर्वको रुपमा लिइएको दशैंलाई गण्डकेली मगर बस्तीहरूमा मनाइने गरिएपनि बाहुन क्षेत्री समुदायमा भन्दा भिन्न किसिमबाट मनाइने  मीन लेख्छन्। उनी लेख्छन् ‘‘हिन्दू आर्यले दुर्गापूजा गर्ने तिथि र स्थानीय मगरको गामपूजा गर्ने समय मिल्न गएकाले पनि गामपूजाको रुपमा प्रचलित दशैंले गण्डकी क्षेत्रमा सर्बमान्य पर्वको रुपधारण गर्न पुग्यो। गामपूजामा थान बनाएर स्थापना गरिएको ढुंगालाई मगरले देउराली, माइ, देवी, वायु, वाइ भनेर हिंसात्मक बलीपूजा गरे भने हिन्दू आर्यले त्यही ढुंगालाई दुर्गा, महाकाली आदि सम्झेर कर्मकाण्डी पाठ गर्न थाले।’’

…नेपालको भारतीय राज्यसँग सम्बन्ध बिस्तार भएपछि गोरखा दरवार क्षेत्रका शक्तिपिठमा मगर पूजारीका अतिरिक्त हिन्दू बाहुन पण्डित, पुरेत नियुक्त गरी कर्मकाण्डी पूजापाठ विधिविधान थपियो। राजधानी काठमाडौं सारिएपछि पनि हुनमानढोकासम्म मगर पुजारीको परम्परा विस्तार गरियो। दशैंलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्ने क्रममा केही मात्रामा हिन्दूकरण गरिएको छ। …राणा कालसम्म आउँदा दशैं वैदिक कर्मकाण्डी विधिविधान थपेर हिन्दूकरण गर्ने प्रयास गरियो (मीन श्रीसमगर, मगर जातिको चिनारी, ६६–६७)।

मगर निधारमा टीका

मगराति संस्कृति नामक किताबमा धर्मप्रसाद श्रीस लेख्छन्, ‘‘तिहारपछि दशैं मगरको प्रमुख चाड हो। दशैंमा सबभन्दा पहिला आमाबा र आफ्नो कुलको सबभन्दा जेठो व्यक्तिसँग टीकाजमरा लगाई गाउँको मुक्खेका हातबाट टीका लगाउने चलन मगरमा पाइन्छ। आफ्ना कुलका मान्यजन र माइती(ससुराली) गई मामा माइजू(सासूससुरा)को हातबाट टीका थाप्ने प्रचलन पनि छ। टीका थाप्ने कार्य दशमीदेखि पूर्णिमासम्म हुन्छ। दशैंमा कोटमौलामा पूजाआजा गरी बलि दिने गरिन्छ (धर्मप्रसाद श्रीस, मगराती संस्कृति, ८०)। तर, धर्मप्रसादले लेखेजस्तो सबै मगरले टीका भने लगाउँदैनन्। जयप्रकाश सुनाउँछन्, ‘छिमेकका क्षेत्री र ठकुरीले दशैंको टीका लगाउँछन्। मैले थाहा पाउने बेलादेखि नै हामीले भने टीका लगाएका छैनौँ।’’ धर्मप्रसादले अठार मगरातकै कतिपय खाम भाषा नबोल्ने मगर र हिन्दू प्रभावित बाह्र मगरातका मगरका सन्दर्भ उठाएका हुन्।

‘‘हामीले मान्ने दशैं भनेको खाने हो। अष्टमीलाई मात्र दशैं भन्छौँ। नवमीलाई बासी भन्छौँ भने दशमीको दशैंलाई तिवासी। तिवासीको दिन दशैंमा आउन नपाएका पाहुनालाई भैंसीको भुत्रा(सुकुटी) खुवाउने हो,’’ मगर संस्कृतिविद् बमकुमारी बुढामगर भन्छिन्, ‘‘राज्यले बल गरेर मात्र मगरले दशैं मानेको हो। अहिले पनि मगर दशैंमा टीका लगाउँदैन।’’

राज्यले हिन्दू बनाउन र दशैं मनाउन मगरलाई बल प्रयोग गरेका थुप्रै उदाहरण छन्। अड्डामा तिरो बुझाउन जाने प्रत्येक मगर मुक्खेलाई राज्यले नै रामायण किन्न लगाउँथ्यो। ती तालु अमालको घरमा टीकाको दिन कोसेली लिएर जाने चलन चलाउन लगाएको थियो। राज्यले त तिरो तिर्न गएको बेला दशैं मनाउनु भन्ने उर्दी गरेको थियो। बमकुमारी भन्छिन्, ‘‘टीकाको दिन मुक्खेको घरमा भालेको सफेटा र टाउको, रक्सी वा छानेको जाँड लान उर्दी लगायो। तर हाम्रो भेगतिर टीका लगाउन भने उर्दी गरेन कि मुक्खेले नमानेको हो ? कुन्नि! दशैं त मगरको होइन। अड्डाबाट मान्न लगाएको हो।’’

जयप्रकाश पंचपल हानेर मौला जाने थुनिकोटमा पुजारु(पूजारी) थापामगर छन् भने रांकोटमा घर्तीमगर। थुनिकोटको पूजामा बाहुन पनि सहभागी हुन्छन्। तिनले टीकाको दिन मौलामै टीका लगाउँछन्। माओवादी सशस्त्र संघर्षकालमा बन्द थुनिमौला माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेपछि फेरि शुरु भएको छ।

दशैं परित्याग

मगर जातिको साझा संस्था छ, नेपाल मगर संघ। नेतृत्वमा गोरेवहादुर खपांगी आएपछि संघले दशैं परित्याग गर्ने निर्णय गर्‍यो। मगरको दशैं होइन, यो राज्यले लादेको हो भन्ने संघको तर्क थियो।

५० को दशकमा शुरु भएको दशैं बहिष्कार अभियानले कतिपय मगरले दशैं मान्न छाडेका छन् (मीन श्रीसमगर, मगर जातिको चिनारी, ६६–६७)। मीनले लेखेजस्तो मगर संघले दशैं परित्याग गर्ने निर्णय गरेको थियो, बहिष्कार होइन। यसबारे खपांगीले रुद्र गुर्मछानसँगको कुराकानीमा भनेका छन्, ‘‘दशैं परित्याग मुद्दा तेस्रो महाधिवेशनबाट उठेपनि मैले संघको नेतृत्व सम्हालेपछि दशैं परित्यागको बिषयलाई घनिभूत छलफलमा ल्याएँ। केन्द्रीय समितिको औपचारिक बैठकले निर्णय गर्‍यो। कार्यान्वयनतर्फ अग्रसर भयो। यो मुद्दा गाउँघरमा आगोसरी फैलियो। मगरले दशैंमा टीका लगाएर हिँड्न संकोच मान्न थाले। कतिपयले परम्परागत रूपमा मानेको कुरालाई नत्यागौँ भने त कसैले बहिस्कार भने। बहिस्कार त एकचोटी छोडे पनि अर्को चोटी त स्वीकार्न सकिन्छ। मगरलाई परित्याग र बहिस्कार बुझाउन धेरै समय लाग्यो।’’ खपांगी कथन छ, ‘ब्राम्हणवादको सिकञ्जारूपी सनासोबाट मुक्त गर्न दशैं परित्याग जरूरी थियो।’

मगरले दशैं परित्यागको अन्तर्यमा आर्थिक पाटो पनि जोडिएको छ। गाउँघरमा कहावत नै छ, ‘दशैं आयो ढोल बजाई, दशैं गयो रिन बोकाई।’
खपांगी थप्छन्, ‘‘दशैं मान्दा मगर आर्थिकरूपबाट पनि शोसित थिए। सामाजिक, मानसिक, जातीयरूपमा त थिचिएकै थिए। …मगरहरूले दशैं परित्याग गर्नु सामान्यतः दशैंमा ब्राम्हणको जुन विधिविधानअनुसार मगरहरूमा आर्थिकरूपबाट पर्ने असरलाई हटाउनु थियो। आर्थिकरूपले सचेत गराउन पनि दशैं परित्याग जरूरी थियो। १६ लाख मगरले एक लाख सुँगुर ढाल्छ, दशैंमा। एक लाख सुँगुर पोल्न दाउरा, पकाउन तेल मसला, पकाउने समय, १५ लाख प्राणीको हत्या गर्ने यो कस्तो हो ? दही र चामल मुछेर टीका लगाउँदा कति दही, चामल खर्च भयो ? मालभोग केरा प्रयोग गरी टीका लगाउँदा कति खर्च हुन्छ ?’’

मगरले दशैं परित्याग गर्नुपर्ने अर्को तर्क पनि छ, खपांगीको। त्यो हो, नेपालको जात व्यवस्था र जातिवाद। उनको कथन छ, ‘जातिवाद ब्राम्हणवाद हो। ब्राम्हणवाद निक्खर रूढीवादको पराकाष्ठा हो। यसबाट मगरलाई सचेत गराउन दशैं परित्याग ठूलो कडी हो।’

तर, उनै खपांगीमगर राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागी भएर टीका थापे। उनले राजाको हातबाट दशैंको टीका थापे। टीका लगाएपछि उनीमात्र विवादीत भएनन्, मगर संघको दशैं परित्यागको अभियानमा समेत नकारात्मक असर पर्‍यो।

माओवादीले २०५२ फागुन १ गतेदेखि नेपालमा ‘सशस्त्र संघर्ष’ थाल्यो। जयप्रकाश पुनको माइधर्का रहेको ठाउँनेर पानी ट्यांकी बन्यो। अलि मुन्तिर स्कुल। माइधर्का नै नभएपछि कहाँ पुज्नु दशैंकी देवी ? पुज्ने चलन नै हरायो।

‘‘माओवादी शान्तिप्रक्रियामा फर्किसके पनि माइधर्का फर्केको छैन। फर्काउनेबारे चासो र छलफल पनि छैन,’’ जयप्रकाश भन्छन्।

रांकोट र थुनिमौलामा कालरात जगाउन नगए खारा(पैसा तिर्ने) तिर्ने चलन पनि हरायो। दुबै मौला सशस्त्र संघर्षकालमा हराए। मौला भने माओवादी शान्तिप्रक्रियामा आएपछि फर्के।

मगर संघ वा माओवादी प्रभावित क्षेत्रमा माओवादीले दशैंमा थोरतिनो हलचल ल्याएको देखिन्छ। तर, सदियौंदेखि राज्यले लादेको दशैं मनोविज्ञानबाट भने मगर मुक्त हुन सकेका छैनन्। संविधानमा धर्मनिरपेक्ष लेखे पनि व्यवहारमा राज्यले नै हिन्दू धर्मलाई देशको धर्म र दशैंलाई राष्ट्रिय चाड बनाएपछि, दशैं नमान्दा तथाकथित मूलधारमा नपरिने हो कि र झनै शोषित पो भइने हो कि भन्ने सन्त्रास मगर जातीमा छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved