दशैंमा पनि काठमाडौं महानगरले फोहोर उठाउने

नेपालभ्युज

दशैंमा पनि काठमाडौं महानगरले फोहोर उठाउने

काठमाडौं। यस बर्ष दशैंका मुख्य दिनहरूमा पनि काठमाडौं महानगरपालिकाले फोहोर नियमित संकलन गर्ने भएको छ।

कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘‘संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाएका छौँ।’’

स्वच्छ पर्व मनाउने प्रयास भएको बताउँदै उनले उद्योग, व्यवसाय, कार्यालय बन्दै रहने हुँदा काठमाडौंमा हुनेलाई फोहोर बाहिर नफालिदन अनुरोध गरे।

उनका अनुसार देवी शक्तिपीठसहित मानिसहरूको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ-मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्ने लगायतका काम भइरहेका छन्।

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू ल्याण्डफिल साइट सञ्चालन भए आफूहरूलाई नियमित काम गर्न कठिन नहुने बताउँछन्।

वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्छन्, ‘‘सरसफाई कार्य जटिल प्रकृतिको काम हो। पर्वमा सबै व्यक्ति रमाइलो गरिरहेका हुन्छन्। यो सफाइकर्मीको पनि पर्व हो। त्यसैले आधा समय सफाइमा र आधा समय पर्वमा लगाउन पाए हुन्थ्यो।’’

दशैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ। सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ।

उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved