दशैंको पारिवारिक जमघटमा कतै घरका महिला छुटेका त छैनन्!

तपाईं हाम्रो घरमा चाडबाडको समयमा होस् वा अन्य जमघट/समारोहमा, खानेकुरा पकाउनेदेखि सबै तयारीमा महिला नै किन भिड्छन् हँ? उनीहरूलाई पारिवारिक जमघटमा सरिक हुन मन नलागेर हो त?

दशैंको पारिवारिक जमघटमा कतै घरका महिला छुटेका त छैनन्!

काठमाडौँ । दशैंको समय छ, हामी प्रायः सबै छुट्टीको समयमा घरमै छौँ। परिवारका सबै सदस्य जमघट गर्दै सँगै बस्ने समय पनि हो यो। पारिवारिक मिलनको क्षण साँच्चै नै रमाइलो हुनेगर्छ। जमघटका क्रममा खानपिन त हुने नै भयो। तर तपाईं हाम्रो घरमा चाडबाडको समयमा होस् वा अन्य जमघट/समारोहमा, खानेकुरा पकाउनेदेखि सबै तयारीमा महिला नै किन भिड्छन् हँ? उनीहरूलाई पारिवारिक जमघटमा सरिक हुन मन नलागेर हो त?

पारिवारिक भेटघाटका नाममा पुरुषहरू गफगाफमा रल्लिदाँ महिलाहरू भने भान्सामा कतै कुण्ठित भएका त छैनन्? बिदाको समय अतिरिक्त समय भान्सामा बिताउनुपर्ने हुँदा पारिवारिक मिलनका कार्यक्रमहरू महिलाहरूका लागि नजाँनिदो हिसाबमा बोझ थपिने माध्यम भनेको पनि हुनसक्छ। भान्साको काम महिलाहरूका लागि अतिरिक्त पीडाको माध्यम बनेको हुनसक्छ।

यस्तै विषयवस्तुलाई उजागर गर्ने प्रयास गरेको छ दक्षिण भारतीय चलचित्र ‘द ग्रेट इन्डियन किचन’ ले। एक नव विवाहित महिला (नायिका निमिशा सजयान) को माध्यमबाट चलचित्रले भान्साभित्रको दैनिकको कामले महिलालाई कतिसम्म कण्ठित बनाउन सक्छ भन्ने देखाउने प्रयास गरेको छ।

चलचित्रको पहिलो फ्रेममा नाचेको दृश्य र त्यस लगत्तै विवाहको कुरा छिन्दा चलचित्रका प्रमुख पुरुष पात्र (सुरज भेन्जरमुद) सँगै देखिँदा बाहेक प्रमुख महिला पात्र पूरा चलचित्रमा खासै मुस्कुराएको देखिदैन।

उनलाई प्रायः तरिकारी केलाएको, काटेको, केही पिसेको, पकाएको, परिवारका सदस्यलाई खान दिएको, भाडा माझेको, कुँचो लगाएको अथवा भुइँ पुछेको दृश्यमा देखिन्छ। उनी घरको काममा व्यस्त रहँदा उनका श्रीमान मस्त बस्छन्, योग गर्छन्। तर, श्रीमतीलाई केही सघाउँदैनन्।

चलचित्रले भारतीय भान्साभित्रको कथा देखाए पनि यो हाम्रो परिवेशसँग पनि मिल्ने कथा हो। मल्यालम भाषामा निर्माण गरिएको यो चलचित्रले हाम्रो समाजमा रहेको पितृसत्तात्मक सोचमा जकडिएको पारिवारिक अवस्थालाई उजागर गर्दै दैनिक जीवनमा महिलाले भोग्नुपर्ने समस्यालाई देखाउने प्रयास गरेको छ। खासमा यो चलचित्रलाई मध्यमर्गीय परिवारभित्रको भान्साको कथाका रुपमा लिन सकिन्छ।

बीबीसीसँगको कुराकानीका क्रममा चलचित्रका निर्देशकले चलचित्रमा समावेश गरिएको कथालाई सार्वभौम कथा भएको बताएका थिए। भान्साभित्र एउटा महिलाले गर्नुपर्ने संघर्षलाई कथाको विषय बनाएको उनले बताएका थिए।

भारतीय भान्सासम्बन्धि कथाको प्रेरणा आफूलाई आफ्नै घरबाट मिलेको निर्देशकले बताएका थिए। ‘म आफू लैगिंक समानताको पक्षपाती भएका कारण विवाहपछि धेरै समय भान्सामा बिताउने गरेको छु। भान्साको काम गर्दा मैले थाहा पाए त्यो कति मुश्किलको काम रहेछ भन्ने,’ चलचित्रका निर्देशक भन्छन्।

केही दिनको भान्साको कामपछि एकोहोरो काम गर्नबाट कसरी जोगिने भनेर आफूले धेरै जुक्ति लगाएको उनले बताएका थिए। ‘भान्साको काम गर्दा मलाई जेलको अनुभव भयो। त्यतिबेला मैले भान्सा छोडेर भाग्न नसक्ने सबै महिलाका विषयमा सोच्न थाले र त्यही क्रममा यो चलचित्रको निर्माण भयो।’

दक्षिण भारतीय चलचित्रको अनुभव भारतका मध्यवर्गीय परिवारका भान्सामा मात्रै होइन हाम्रै घर परिवारभित्र पनि गर्न सकिन्छ। अझ दशैं जस्ता चाडपर्वमा हुने पारिवारिक जमघटका क्रममा धेरै नै परिकारले पाहुनालाई स्वागत गरौँ भन्ने हुन्छ। धेरै परिकार बनाउनु भनेको धेरै चिज काट्नु हो भने उत्तिनै चिज धुने, पिस्ने काम महिला मात्रैले गर्दा जमघट जस्ता कार्यक्रम महिलाका लागि बोझ हुनसक्छ।

योसँगै जोडिएर आउने अर्को पक्ष भनेको हाम्रो समाजिक परिवेश पनि हो। हामीलाई बच्चैदेखि भान्साको कामलाई महिलाको मात्रै काम हो भनेर बुझाइएको छ। समाज त्यसैमा अभ्यस्त छ। हुर्काइ नै त्यही हिसाबमा भएको हुँदा कतिपय महिला भान्साको कामलाई नै आफ्नो परिपूर्णता ठान्दछन्।

परिवर्तित समयमा महिला पुरुष दुवै रोजगारमा आवद्ध हुने क्रम बढ्दो छ। महिलाहरू रोजगारीमा आवद्ध हुने क्रम बढ्दो भए पनि सायदै उनीहरू भान्साको जिम्मेवारीबाट टाढा हुन पाएका छन्।

गाउँघरका महिला मात्रै होइन, शहर बजारका स्वरोगजार महिलाले पनि भान्साको कामलाई आफ्नो मात्रै जिम्मेवारीका रुपमा लिएको देखिन्छ। चलचित्रको कुरा गर्दा भान्साभित्रको यस्तो प्रवित्तिको अन्त्य हुन आवश्यक रहेको सन्देश दिनु नै यसको प्रमुख उद्देश्य हो।

पारिवारिक जमघट र त्यसभित्र लुकेको रचनात्मकता पुरुष–महिला दुवैका लागि उत्तिकै महत्वपूर्ण छ। ‘द ग्रेट इन्डियन किचन’ले घरपरिवारभित्रको लैगिंक असमानताको विषयलाई जोडदार रुपमा उठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved