कोरियामा पहिलो दशैं

दशैंको टीकाको ठीक ११ दिनअघि देश छोडेर म कोरियातिर लागेँ। तन कोरियामा थियो। मन गाउँमा। मन उड्थ्यो। घरगाउँ पुग्थ्यो। दशैंको रौनकमा रमाउँथ्यो।

कोरियामा पहिलो दशैं

त्यो सालको क्यालेन्डरमा १४ असोज दशमीको साइत बनेर मुस्काइरहेथ्यो। मेरो फाइनल फ्लाइट भने ३ असोजको थियो। लेबर कन्ट्र्याक्ट (श्रम सम्झौता) आएदेखि फाइनल फ्लाइटसम्म गर्नुपर्ने थुप्रै काम थिए। ती सबै काम घरबाट सम्भव थिएनन्। देश छोड्ने साइतको डेढ महीनाअघि नै म बिदावारी भएर काठमाडौं आएकी थिएँ। सोचेकी थिएँ, कोरियाका लागि उड्ने बेलामा एकपटक फर्किएर सबैसँग भेटघाट गरेर मात्र जानेछु। तर समय यति छिटै दौडियो, घर नपुगी कोरिया उड्नुपर्ने भयो।

दिपा मेवाहाङ राई

दशैंको टीकाको ठीक ११ दिनअघि देश छोडेर म कोरियातिर लागेँ। म र अरू दुई जना साथी दोस्रो लटको कामदार बनेर कम्पनीमा आइपुग्यौं। हामीभन्दा आठ महीना पहिला नै दुई जना साथीहरू पहिलो लटका विदेशी कामदार बनेर आइसकेका थ्एि। पढाईको सिलसिलामा घरबाट बाहिर बसेको त दुई दशक भइसकेको थियो। तर पहिलोपटक देश छोडेर हिँड्दैथिएँ। त्यो पनि दशैंको मुखैमा। देशमा हुँदा त चाडबाडमा घर गइन्थ्यो। दुःख साटिन्थ्यो। खुशी बाँडिन्थ्यो। जे छ त्यसैले रमाइलो गरिन्थ्यो। तर, परदेश लागिसकेपछि मन मात्रै घर पुग्दोरै’छ।

दशैं आँगनीमा आउँदै गर्दा घर, देश छोडेर जाने छोराछोरीकी आमाको अनुहार कस्तो हुन्छ ? म शब्दमा लेख्न सक्दिनँ। सम्झाउन त सम्झाएँ आमालाई, फोन गरेर। भनेँ, “चाडबाड त फेरि पनि आउँछ नी ! तीनै वर्ष त हो। अनि त आइहाल्छु।”

तर आफ्नै मनलाई सम्झाउन भने गाह्रो, निकै गाह्रो हुँदोरै’छ। देश छोडेर उडिरहँदा लागिरहेथ्यो आफैलाई छोडेर म त कता–कता हिँडिरहेछु।

कोरिया आइपुगेको अर्को दिनबाटै काम शुरु भयो। तन कोरियामा थियो। मन काममा। मन उड्थ्यो। घरगाउँ पुग्थ्यो। दशैंको रौनकमा रमाउँथ्यो। ओहो ! हप्ता दिन अघिदेखि घरको सरसफाइमा लागिन्थ्यो। लिपपोत गरिन्थ्यो। किनमेल हुन्थ्यो। साजसज्जा हुन्थ्यो।

मिश्रित समाजमा जन्मेकाले हुर्किँदै गर्दा सबै समुदायको रितिरिवाजसँग नजिकिने मौका पाएकी थिएँ। त्यसैले अरूको रितिरिवाज हेरेर खुब आनन्द लिन्थेँ। फेरी हाम्रो घरमा दशैं मनाइन्थ्यो। त्यही कारणले पनि दशैं हाम्रो घरमा खुशी बोकेर आउँथ्यो। दशैंको साइतमा आमाको हातबाट टीका थापेर कुदेर १० मिनेटमा मामाघर पुग्थेँ। मामा र आफन्तहरूको घरमा टीका लगाउँथे।

घरबाट टाढा भएपछि त ससाना क्षण पनि अमूल्य हुँदारहेछन्। छुटिगएका दिनको स्मृतिमा मन घुमिरहँदोरै’छ।

आमासँग दिनहुँ कुरा हुन्थ्यो। भिजेको स्वरमा आमा सुनाउनुहुन्थ्यो, यो गरेँ, त्यो गरेँ। आमाको उदासी स्वरबाटै महसूस हुन्थ्यो। उता आमा बेचैन हुनुहुन्थ्यो, यता म हैरान।

र, त्यो शनिबार आयो।

प्रत्येक हप्ता आउनेभन्दा बिलकुलै फरक थियो त्यो शनिबार। त्यो शनिबार टीकाको दिन थियो। कम्पनीमा काम कम भएकाले बिदा पनि मिल्यो। खुशीले मन चङ्गासरी कावा खान थाल्यो।

त्यो दशैं मेरा लागि मात्र परदेशमा पहिलो थिएन। कम्पनीमा काम गर्ने पाँचै जना नेपालीका लागि बिरानो मुलुकमा पहिलो दशैं थियो त्यो। घरमा नुहुनुको खल्लोपनका बावजुद रमाइलो गरी बनाउने सल्लाह अघिल्लो दिन नै भएको थियो।

अघिल्लो साँझ कम्पनिमा साहुलाई भनेका थियौं, “साजाङ्निम भोली त हाम्र्रो दशैं हो नी।”

साहुले हाँस्दै केही कोरियन वन हातमा राखिदिँदै मीठो खानेकुरा किनेर खाएर दशैं मनाउन भनेका थिए।

दशमीको दिन बिहानैदेखि फोनमा आमासँग कुरा गरिरहेथेँ। आफूले गरिरहेको तयारी आमाले सुनाइरनुभएको थियो। घरीघरी भाईले सोधेको आवाज सुन्थेँ, नेपथ्यमा। वर्षमा एकैपटक त भाइ घर आउँथ्यो। दशैंका ती १० दिन त उसँग कुराकानी हुन्थ्यो। पढाईको कुरा हुन्थ्यो। भविष्यको योजना बुनिन्थ्यो। सपनाको महल बनाइन्थ्यो। तर अब भाईको आवाज नेपथ्यमा थियो। र, म परदेशमा।

अघिल्लो दिन साहुले हातमा थमाइदिएको कोरियन वन बोकेर दाईहरू किनमेल गर्न मार्ट निस्किनु भयो। म र साथी भान्छामा लाग्यौं, तयारीका लागि। दाईहरू मार्टबाट आएपछि सबै मिलेर परिकारहरू बनायौं। कोरियाली दशैंमा खाने परिकारमध्ये मुख्य तक (चामलको पिठोले बनाउने परिकार) रहेछ। हामीले बनाउन नजानेकाले अर्डर गर्‍यौँ। सबै परिकार तयार पार्दा कोरियामा दिउँसाको १ बज्न लागेको थियो। नेपालमा भने टीकाको साइत हुँदै थियो (नेपाल भन्दा कोरियामा समय तीन घण्टा १५ मिनेट अघि छ)। सबैले एकपटक घरमा फोन गरेपछि मात्रै खाने सल्लाह थियो। फोनमा भुल्न थाल्यौं। तर आमालाई फेसबुक मेसेन्जरमा फोन नै लागेन। मोबाइल नम्बरमै फोन गरेपछि भने २/३ घण्टीमै उठ्यो। घरमा एक्लै टीका लगाउन भाइले नमानेपछि आमा र भाइ मावलघर जानुभएको रै’छ। फोनबाटै सबैको आशीर्वाद लिएपछि बल्ल हाम्रो दशैं शुरु भयो कोरियामा। टिको बिनाको। जमरा बिनाको।

बिचमा परिकारहरू राखेर वरिपरि बसियो। सबैजना गफ गर्दै जोक्स भन्दै रमाइलो गरियो। सुगम पोखरेलको गीत सुनेर भावुक पनि भइयो। फोटो खिचियो। भिडिओ बनाइयो। एकजना दाइले फोटोलाई एडिट गरेर टीका, जमरा जोडेर इनबक्समा पठाइदिनुभयो। त्यही फोटोलाई सामाजिक सञ्जालमा पोस्ट गरियो।

पाँच वर्ष भएछ, त्यसरी दशैं मनाउन थालेको। अब त कोरियाली भूमी पनि हाम्रो पसिनाले सिञ्चित हुन थालेको।

हजारौं नेपाली अहिले कोरियामा बसोबास गरिरहेछन्। तीमध्ये कोही श्रमिक छन्। कोही व्यापार–व्यवसाय गरिरहेछन्। कोही त कोरियाली नागरिकसँग वैवाहिक जीवनमा बाँधिएका पनि छन्। तर कामदारको रुपमा कोरिया आएका नेपालीहरूको जीवन एउटा परिधिभित्र सीमित छ। हप्ताको पाँच दिन अनिवार्य रुपमा काम गर्नैपर्छ। यी सीमाभित्र बसेर दशैं मनाउन थालिएको छ। तर सधैँ दशैंको दिन सार्वजनिक बिदा नपर्न नसक्छ। त्यसैले कोरियामा स्थापना भएका विभिन्न सामाजिक संघसंस्था साथै व्यवसायिक रुपमा बसोबास गरिरहेका नेपालीले बिदाको दिन पारेर कुनै रेष्टुरेन्टमा दशैं विशेष कार्यक्रम आयोजना गरेका हुन्छन्। इच्छुकहरू त्यसैमा सहभागी भएर हर्ष–उल्लासका साथ दशैं मनाउने गर्छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved