भारतसँग नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीं समस्या आउनु स्वभाविक हो : डा. महत

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले पूर्ववर्ती केपी ओली सरकारको अस्थिर र अपरिपक्क परराष्ट्र नीतिका कारण दुई देश बीच असमझदारी बढेको बताए। 

भारतसँग नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीं समस्या आउनु स्वभाविक हो : डा. महत

काठमाडौं। हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखा पर्नु स्वभाविकै भएको बताएका छन्।

भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिक लगायत धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध छ, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु स्वभाविक हो।”

उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तर्कियामा उनले भने, “धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ।”

दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने उनको भनाइ थियो। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले पूर्ववर्ती केपी ओली सरकारको अस्थिर र अपरिपक्क परराष्ट्र नीतिका कारण दुई देश बीच असमझदारी बढेको बताए।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्क परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखेका थिए। भारत भ्रमणमा रहेको डा. महतसहितको कांग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गरेका थिए।

डा. महतसहित भारत भ्रमणमा रहेका कांग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वान र राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसंग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतू भएको बताएका थिए।

कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका छन्। भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved