बधाई खान शुभेच्छुकलाई बोलाएर राजीनामा

यसरी बित्यो गजेन्द्र हमालको मन्त्री पदमा ४० घण्टा

यस अवधिमा उनले एक पटक कुर्सीमा बसेर पदभार ग्रहण गरेका छन्।

बधाई खान शुभेच्छुकलाई बोलाएर राजीनामा

काठमाडौँ। सर्वत्र आलोचनापछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिए।

हमाल करीब ४० घण्टा हाराहारी मात्रै मन्त्री पदमा रहे। एक मात्रै निर्णय गर्न भ्याएका उनको बाँकी समय शुभकामना ग्रहणमै बित्यो। छोटो समयमै राजीनामा दिन बाध्य भएपछि उनलाई शुभकामना दिन आउनहेरू समेत यत्तिकै फर्किनुपर्याे।

संभवत: हमाल नेपालमा सबैभन्दा छोटो समय मन्त्री बन्ने नेता हुन्। यसअघि गण्डकी प्रदेशमा दीपक मनांगे १० दिन र पूर्ववर्ती केपी शर्मा ओली सरकारमा केही नेताहरू १३ दिन मन्त्री भएका थिए।

शुक्रबार अपराह्न मन्त्री नियुक्त भएका हमालले साँझ ६ बजे राष्ट्रपतिबाट शपथ लिएका थिए। लगत्तै सिंहदरबार आएर मन्त्रालयमा पदभार ग्रहण गरेका थिए। त्यति बेला करीब साँढे ७ बजेको थियो। पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरूलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए। लगत्तै उनी नक्सालस्थित निजी निवास गए।

शनिबार सार्वजनिक बिदा भएकाले मन्त्रालय जाने कुरा भएन। उनी दिनभर शुभेच्छुकबाट आफ्नै निवासमा बधाई तथा शुभकामना लिन व्यस्त भए। लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औँ बैठकमा एकैछिन सहभागी भएका थिए। त्यसपछि हमाल घर फर्किए। व्यपारीहरूका लागि सबैभन्दा बढी महत्वपूर्ण मन्त्रालय भएकाले शुभकामना दिन पनि धेरैजसो उद्योग व्यवसाय क्षेत्रका व्यक्तिहरू आएका थिए।

बधाई दिन आएकाहरू शनिबार राति अबेरसम्म हमालकै घरमै थिए। त्यो बेलासम्म उनले आफू मन्त्री बन्दा भएको विरोधलाई सामान्य रुपमा लिएका थिए। ‘‘म यस्तो काम गरेर देखाउँछु जुन कामले विरोधीहरू प्रशंसा गरून्’’, हमालले शनिबार साँझ शुभेच्छुकलाई भनेका थिए। आइतबारै दिउँसो पुलचोकस्थित मन्त्री क्वाटरमा सर्ने उनको तयारी थियो। आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने समय तालिका थियो। शुक्रबार राति भएकाले धेरै कर्मचारीले स्वागत गर्न पाएका थिएनन्। सबै कर्मचारीले उनको स्वागत गर्ने कार्यक्रमसमेत थियो।

बिहानै ६ बजे उनी पशुपति मन्दिरमा दर्शनका लागि गए। यता घरमा नवनियुक्त मन्त्रीलाई शुभकामना दिन आउनेहरू थपिँदै थिए। पशुपति दर्शनमा गएका हमाल उतैबाट बिहान साँढे ७ बजे सल्लाहकार तथा ज्योतिषसँग परामर्शका लागि गए। सोही परामर्शकै क्रममा उनले अचानक राजीनामा दिने निर्णय लिएको बताइएको छ।

हमालका एक सहयोगीले भने, ‘‘दिउँसो मन्त्री क्वाटरमा सर्नेगरी घरको सामान सार्ने तयारी भइरहेको थियो। बधाई दिन आउन समय लिएकालाई साँझ वा भोलि बिहान उतै बोलाइएको थियो तर सल्लाहकारसँगको परामर्शमा राजीनामा दिने निर्णय भयो।’’

उनी नक्सालस्थित घर फर्किए। हतार हतार खाना खाएलगत्तै बालुवाटार लागे। प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम जाने तयारी थियो। देउवा पोखरा जानुअघि हमालले राजीनामा बुझाए। यसरी हमालले मन्त्रीमा शपथ लिएदेखि राजीनामा दिएसम्मको अवधि लगभग ४० घण्टा हो। यस अवधिमा उनले एक पटक कुर्सीमा बसेर पदभार ग्रहण गरेका छन्। त्यसबाहेक शुभकामना दिनबाहेक अरू केही गर्न भ्याएनन्।

आरोप र आलोचनाले पदमा बस्न दिएन

आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिएको हमाल बताउँछन्। नेपालभ्यूजसँगको संक्षिप्त कुराकानीमा उनले आफूले स्व:स्फूर्त राजीनामा दिएको बताए।

उनले भने, ‘‘मप्रति धेरै आरोप र आलोचना आए। बदनाम हुन चाहिनँ र राजीनामा दिएँ। मैले कांग्रेसका लागि गरेको योगदानका कारण मन्त्री पद पाएको हुँ। म बाँकेको पार्टी सभापति समेत बनें। यसरी राजनीतिमा लागेको मान्छेलाई नै अरूसँग नाम जोडेर बदनाम बनाए। ती आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महशूस भयो र राजीनामा दिएँ।’’

गजेन्द्र हमाल पदमुक्त हुँदा सहोदर भाइ सुरेन्द्र बने मन्त्री

गजेन्द्रबहादुर हमालले राजीनामा दिएलगत्तै उनका सहोदर भाइ भने मन्त्री बनेका छन्। भाइ सुरेन्द्र हमालले प्रदेश मन्त्रीमा शपथ लिएका हुन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सुरेन्द्र हमाललगायत मन्त्रीलाई शपथ गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved