लुम्बिनी मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्रीहरूको शपथ ३ बजे

नेपालभ्युज

लुम्बिनी मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्रीहरूको शपथ ३ बजे

बुटवल। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ। सत्तासाझेदार नेपाली कांग्रेसले मन्त्रिपरिषद्मा सहभागी हुनेहरूको नाम टुंग्याएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रदेश प्रमुख कार्यालयका अनुसार दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। कांग्रेसले वन वातावरण तथा भू-संरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरेको छ।

त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय भएको स्रोतको दाबी छ। त्यसबाहेक एक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ।

नेकपा माओवादी (केन्द्र) ले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो। दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषदमा पठाउने निर्णय माओवादीले गरेको हो। निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन्।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।

माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा एकीकृत समाजवादी(एस) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। नेकपा (एस) बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती मन्त्री पनि सरकारमा सहभागी हुनेछिन्।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ। त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved