दशैंमा उपत्यका छाड्ने बढ्दै, अहिलेसम्म एक लाख बाहिरिए

दशैंमा उपत्यका छाड्ने बढ्दै, अहिलेसम्म एक लाख बाहिरिए

काठमाडौं।  नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ।

१ असोजदेखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिक रुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्। प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दशैं बिदा शुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए।

“अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ।”

यही १६ असोजसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए। प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो। त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो। असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए। त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन्।

यही २१ असोज (घटस्थापना) मा सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए। महाशाखाले दिएको तथ्यांकअनुसार २२ असोज शुक्रबार ६ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए। सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छन्। त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ।

१ असोजदेखि २२ सम्म कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्यांक छ। सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ। प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन्।

यद्यपि रिजर्भ गरेर जाने यात्रुको सङ्ख्या यसपालि बढी छ। त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन। साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गर्ने अनि घर जाने प्रचलन यसपालि बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए।

यसपालि ११ असोजदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो। अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ। त्यस्ता काउन्टर तथा यात्रुको भीडभाड हुने क्षेत्रमा भीडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ।

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ। माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ। कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ।

यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिए।

चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परे नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved