शिखरवेसीका सुत्केरीको पीडा

जहाँ गर्भवतीले बाटैमा जन्माउँछन् बच्चा

जसको भोटले सरकारमा पुगे, तिनैका लागि बनाएनन् बाटो

जहाँ गर्भवतीले बाटैमा जन्माउँछन् बच्चा
फाइल तश्वीर

काठमाडौं। २०७५ सालतिरको कुरा हो। घ्याङ्फेदी मजुवाकी एक सुत्केरीलाई डोकोमा बोकेर दुप्चेश्वर-७ शिखरबेसी स्वास्थ्यचौकी ल्याइँदै थियो।

अप्ठ्यारो गोरेटो बाटोमा डोको बोक्ने भरिया चिप्लिए। गर्भवती खसिन्। धन्न उनी खोलामा परिनन्, बुट्यानमा अल्झिएर बाँचिन्। पेटमा कुनै चोट लागेन। स्वास्थ्यचौकी पुगेपछि सुत्केरी भइन्।

शिखरबेसी स्वास्थ्यचौकीकी स्वास्थ्य्यकर्मी मंगला थापा भन्छिन्, ‘‘सुत्केरीलाई डोकोमा बोकेको मान्छे चिप्लनुभएछ, सुत्केरी समेत लड्नुभएको रहेछ। सुत्केरीको कपडामा पनि हिलै हिलो लागेको थियो। तर खासै चोटपटक र असर भने लागेको रहेछ। उहाँ यहाँ आएको केहीबेरमा हामीले सामान्य प्रक्रियाबाट सुत्केरी गरायौँ।’’

गत असारमा शिखरबेसी ६ की अप्सरा पण्डित (३५) लाई सुत्केरी व्यथाले च्याप्यो। बिहान ४ बजेको थियो। सबै जना सुतिरहेका थिए। उनले आफूलाई व्यथा लागेको परिवारलाई भनिन्।

सबै जना सुतिरहेकाले उठ्न मानेनन्। उनको समस्या सामान्य होला भन्ने ठानेर परिवारले वास्ता गरेनन्। अप्सरा एक्लै स्वास्थ्यचौकी हिँडिन्। केहीबेर हिँडेपछि उनले बाटैमा बच्चा जन्माइन्। बच्चा जन्मिएपछि अप्सराले स्वास्थ्यचौकी लिएर गइन्। स्वास्थ्यकर्मीहरुले बच्चाको सरसफाइ गरिदिए।

सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा स्वास्थ्यचौकी लगिँदै

गत पुसको घटना हो, दुप्चेश्वर गाउँपालिका-३ कै शान्ति तामाङलाई सुत्केरी गराउन स्वास्थ्यचौकी ल्याइँदै थियो। सडक नभएको र स्टेचरमा बोक्न साधन र मान्छे नभएकाले हिँडाएरै लगिँदै थियो। स्वास्थ्यचौकी नआउँदै बच्चा जन्मियो। बाटोमा बच्चा जन्मिएकाले माटो र बालुवा शिशुको शरीरभरि लाग्यो।

सुत्केरी भएकी शान्ति र नवजात शिशुलाई केही पर स्वास्थ्यचौकी लगियो। स्वास्थ्यचौकीका स्टार्फ नर्स शर्मिला कठायत, स्वास्थ्य्यकर्मी मंगला थापालगायतकाले बच्चाको सरसफाइ गरिदिए।

बाटोमा जन्मिएको बच्चा अहिले नौ महिना पुगिसकेको छ। अहिले  बच्चाले खोपसमेत पाइसकेको छ। दोस्रो सन्तानकी आमा बनेकी उनी अहिले आफ्नो बच्चा देखेर खुशी छिन् । सुत्केरी हुन समस्या भोगे पनि गर्भावस्था र सुत्केरीमा आफ्नो र बच्चाको स्याहार राम्रैसँग गरिन्।

शान्तिले भनिन्, ‘‘बाटोघाटो नहुँदा हिँडेरै सुत्केरी हुन जानुपर्याे। तर स्वास्थ्य्यकर्मीको सल्लाहमा स्याहारसुसार कसरी गर्ने भन्ने थाहा भयो। हामीले त धेरै दुःख पायौं, यस्तो दुख अरू सुत्केरीले नपाओस् भन्ने मेरो चाहना छ।’’

एम्बुलेन्स नभएपछि सार्वजनिक बसमै लगिन्छ सुत्केरी

८ जेठमा सोही गाउँपालिका ८ सेराङकी संञ्चमाया तामाङलाई सुत्केरी व्यथा लाग्यो। स्वास्थ्यसंस्थामा सुत्केरी गराउन लैजान घण्टौँ हिँड्नुपर्ने थियो। उकालो गोरेको बाटोमा स्टेचरमा बोक्न पनि समस्या थियो। तैपनि परिवारले स्ट्रेचर र खोज्ने मान्छेको व्यवस्था गर्दा गर्दै घरमै बच्चा जन्मियो। तर बच्चा जीवित थिएन। किनकि बच्चा जन्मँदा उल्टो थियो। यदि स्वास्थ्यसंस्थामा सुत्केरी गराउन पाएकी भए बाँच्ने सम्भावना रहेको स्वास्थ्य्यकर्मी बताउँछन्।

असारमा सोही गाउँपालिका-७ की बाँसबोटेकी फूलमाया तामाङलाई सुत्केरी व्यथा लाग्यो। गाडीमा स्वास्थ्यसंस्था लैजाऔँ भने सडक नै थिएन। स्टेचरको व्यवस्था र बोक्ने मान्छे खोज्दाखोज्दै घरमै सुत्केरी भइन्।

तर २४ घण्टासम्म साल झरेन। अत्यधिक रक्तस्रावले उनी बेहोस भइन्। अन्तमा शिखरबेसी स्वास्थ्यचौकी लगियो। त्यहाँ पुग्दा फूलमाया सिकिस्त भइसकेकी थिइन्। स्वास्थ्य्यकर्मीले साल त निकालिदिए तर उनको अवस्था सामान्य भएन।

स्वास्थ्यचौकी प्रमुख प्रवीण श्रेष्ठ र स्टार्फ नर्स शर्मिला कठायतले सुत्केरीको रत्तस्रावको व्यवस्थापन गरिदिए। रगत धेरै गइसकेकाले उनको अवस्था खराब थियो। जिल्ला त्रिशूलीको डाक्टर सुनिता केसीको परामर्शमा उतै लगियो। बोलेरो रिजर्भ गरेर त्रिशूली पुर्‍याइएकी फूलमायालाई चार पिन्ट रगत चढाएपछि अवस्था सहज भयो। ४ दिनपछि सुत्केरी सामान्य अवस्थामा फर्किन्।

किशोरावस्थामै आमा बनेकी एक युवती

असारमा शिखरबेसी-६ की लाई शिल्पा विकलाई सुत्केरी गराउन स्वास्थ्यचौकी लगियो। स्वास्थ्य्यकर्मीले सहज सुत्केरी गराए। भल्बल हेमाटोमाका कारण दुखाइ बढी भयो। शिशुको टाउकोले धेरै बेर थिचेकोले भल्बल हेमाटोमा भएको स्वास्थ्य्यकर्मी बताउँछन्।

दुखाइ व्यवस्थापन गर्न नसक्दा सार्वजनिक बसबाट जिल्ला अस्पताल त्रिशूली लगियो। अत्यधिक दुखाइको कारण सुत्केरीको अवस्था जटिल बन्दै थियो। उनलाई त्रिशूली त पठाइयो तर त्यहाँ उपचार सम्भव भएन। त्यहाँबाट थापाथली पठाइयो। तर आफन्तहरूले शिक्षण अस्पताल लगे। शिक्षण अस्पतालले समेत उपचार गर्न नसक्ने जनायो। अन्त्यमा  थापाथलीस्थित प्रसूतिगृहमा लगिएपछि शिल्पाको उपचार भयो। उपचारका लागि चार ठाउँ धाएपछि धन्न उनको ज्यान बच्यो। शिल्पाले पुनर्जन्म पाइन्।

आफ्नो पीडादायी विगत सम्झँदै शिल्पा भन्छिन्, ‘‘धन्न म बाँचेछु, त्यो बेलामा बेहोस मात्रै भएछु। त्यो कष्ट म अहिले सँम्झ पनि सक्दिनँ। एकदम दुखिरहेको थियो। काठमाडौं जान लागेको बाटोसम्मको झल्को छ। पछि ब्युँझदा अस्पतालमा पो रहेछु।’’

दुप्चेश्वर-१ घ्याङ्गफेदीका महिलाहरू बारीमा डल्ला फोर्दै

यी अपत्यारिला लाग्ने घटना हाम्रै समाजका यथार्थ भोगाइ हुन्। त्यो पनि धेरै टाढाको होइन। राजधानीबाटै नजिकैको जिल्ला नुवाकोटको। राजधानीबाट तीन घण्टाको बाटोको यात्रापछि पुगिन्छ यो ठाउँ। सक्षम  नेतृत्वको अभावले नेपालमा भौतिक पूर्वाधारमा विकास हुन नसकेको धेरैले भन्दै आएका छन्।

यसको ज्वलन्त प्रमाण खोज्न कतै टाढा जानु पर्दैन। संघीय राजधानी काठमाडौँबाट तीन घण्टा उत्तरतर्फ गए पुग्छ। काठमाडौँसँग साँध सीमा जोडिएको जिल्ला नुवाकोटको शिखबरबेसीका महिलाहरूको विवशता हो यो।

शिखरबेसी स्वास्थ्यचौकीमा जन्मिएको एक शिशु

किन विवश छन् महिला?

अनेक सम्भावना बोकेको ठाउँ दुप्चेश्वरको शिखरवेशी र घ्याङफेदी दुर्गममा पर्छ। पूर्वाधार गाउँ-गाउँसम्म सडक पुर्‍याउने स्थानीय सरकारको प्रयास भए पनि सफल भइसकेको छैन। पवित्र धाम गोसाईंकुण्ड जाने पदमार्ग यही गाउँपालिकामा पर्दछ। दुप्चेश्वर गाउँपालिका स्थानीयतह पुनर्संरचनापश्चात् बनाइएको गाउँपालिका हो।

गाउँपालिकाको सदरमुकाम समुन्द्र टारमा छ। समुन्द्रटार आसपासको जनजीवन भने सहज  छ। तर पूर्वीक्षेत्र भने विकटमा पर्छ। नुवाकोटका साविक गाविसहरू शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतेनी र घ्याङफेदीलाई जोडेर दुप्चेश्वर गाउँपालिका बनाइएको हो। नुवाकोट, रसुवा, धादिङलगायत क्षेत्रका बासिन्दाहरूको आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेव मन्दिरको नामबाट  गाउँपालिको नाम राखिएको हो।

दुप्चेश्वर-१ घ्याङफेदीको घ्यावारचौर

दुप्चेश्वरको पूर्वीक्षेत्र शिखरबेसी, घ्याङफेदीमा बनेका कच्ची सडक हरेक वर्ष मर्मत गर्नुपर्छ। नयाँ सडक खन्नुपर्ने ठाउँमा बजेट पुग्दैन। बनेका सडकमा समेत हिउँमा मात्र गाडी चल्छन्। सडक नभएको ठाउँमा गोरेको बाटो छ। गोरेटो बाटोसमेत राम्रो छैन। कतिपय ठाउँमा खानेपानीको धारा गाउँमै ल्याइए पनि बस्ती पातलो भएको ठाउँका मानिसहरू टाढा जानुपर्छ। मावि तहको पढाइका लागि विद्यालय जान पनि विद्यार्थीहरू घण्टौँ हिँड्नुपर्छ। वडा नम्बर १ घयाङफेदी जान अझै डरलाग्दा पहाड छिचोल्नुपर्छ।

शिखरबेसी, घ्याङफेदीलगायत नक्सा (गुगल म्यापबाट)

माथि डरलाग्दा पहाड, तल एकनासले बगेको खोला छ। गोरेटो बाटो हिँड्दा खुट्टा थोरै चिप्लियो भने बाँच मुस्किल देखिन्छ। त्यस्तो गोरेटो बाटोको दैनिकी अवश्य सहज छैन। झन् बिरामी, गर्भवती, सुत्केरीहरूको पैदल यात्रा जो कसैले सम्झँदा पनि आङ सिरिंग हुन्छ। सडक भएको ठाउँमा यात्रा पनि कहाँ सहज छ र। डाँडाकाँडा, त्यो भीरको बाटोमा सामान बोक्ने ‘आइचर’ गाडीमा पछाडि मानिसहरू बस्ने गर्छन्।

खाल्डाखुल्डी बाटो कतै हिलाम्मे। कतै कतै ओर्लिँदै गाडी ठेल्दै जानुपर्छ। यस्तै बाटोको सामना गर्दै बिरामी तथा गर्भवती तथा सुत्केरीलाई जिल्ला अस्पताल तथा काठमाडौं लगिन्छ। शिखरबेसी हुँदै रामतीसम्मको बाटो अप्ठेरो छ। समुन्द्रटार आएपछि पिच भेन्टिन्छ। पिच पनि धेरै ठाउँमा उप्किसकेको छ। खरानीटार, आँप्रह, ढिकुरे हुँदै काठमाडौं वा त्रिशूली जानुपर्छ। सामान्य औषधिमुलोको काम शिखरबेसीमै रहेको स्वास्थ्यचौकीमा हुन्छ। जटिल तथा गम्भीर उपचार गराउन काठमाडौं जानुपर्छ।

दुप्चेश्वर रामती, समुन्द्रटार शिखरबेसी घ्याङफेदी सडकखण्डको अवस्था

यी नेता : जसको भोटले सरकारमा पुगे, तिनैका लागि बनाएनन् बाटो

मुलुक हाँक्ने धेरै शीर्षस्थ नेता जन्माइसकेको नुवाकोटमा महिलाहरू भने बच्चा जन्माउन हिँडेर स्वास्थ्यचौकी जान बाध्य छन्। हिँड्न नसक्नेहरूलाई भने डोकामा वा स्ट्रेचर बोकिन्छ। यसरी लामो समयको यात्रापछि मात्रै सडक भेटिन्छ। तर एम्बुलेन्स भेटिँदैन। सुत्केरी व्यथाले च्यापेकालाई सार्वजनिक बसमा लैजानुपर्छ। त्यो पनि नभए मालसामान बोक्ने आइचर गाडीमा लगिन्छ।

जहिल्यै असल नेताको चाहना राखेका नुवाकोटको शिखरबेसी क्षेत्रका गर्भवतीको जीवन अन्योल, असुरक्षामा डुबेको छ।  तर संख्यात्मक रूपमा धेरै रहेका नेताबाट दुप्चेश्वरका नागरिकका चाहना पूरा हुन सकेन। हालसम्म मुलुकको पटक पटक नेतृत्व गर्दै आएका सबै राजनीतिक दलहरूमा नुवाकोटमा जन्मिएका वा त्यहाँबाट प्रतिनिधित्व गर्ने शीर्षस्थ नेताहरू छन्।

सांसद र जनप्रतिनिधि त सबै जिल्लामा हुन्छन्, तर नुवाकोटका नेता पार्टीका केन्द्रीय अध्यक्षदेखि शीर्षस्थ पदमा छन्। उत्कृष्ट अर्थमन्त्री भन्दै पुरस्कार पाएका कांग्रेस नेता डा. रामशरण महत पनि नुवाकोटकै हुन्। आफूलाई विकासप्रेमी भन्न चाहने पटक पटक पटक मन्त्री भएका डा. प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन्।

कांग्रेसका अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी त नुवाकोटको शिखरबेसीकै हुन्। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत पनि नुवाकोटकै हुन्। केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका महेन्द्रबहादुर पाण्डे उही नुवाकोटकै हुन्।

नेकपा माओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी पनि नुवाकोटकै थिए। उनको भने ७ वर्षअघि नै निधन भइसकेको छ। यसरी धेरै शीर्षस्थ नेता जन्माइसकेको भए पनि नुवाकोटको विकास बत्तीमुनिको अँध्यारोमा  छ।

नुवाकोट गृहजिल्ला भएका नेताहरू, डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत र महेन्द्रबहादुर पाण्डे

नेताको प्राथमिकता नागरिकको सुविधाको लागि गाँउगाँउमा जोड्ने सडक बनाउने हुनुपर्ने हो। तर, शिखबेसीमा स्वास्थ्यसंस्थासम्म जाने सामान्य सडक बाटोसमेत बनेको छैन। बाटोकै कारण एम्बुलेन्स समयमै बिरामी लिन पुग्न नसक्दा कतिपयले जीवन गुमाएका छन्। कुनै घटना दुर्घटना वा आकस्मिक बिरामी परेमा डोकोमा बोकेर लैजानुपर्छ। वा बनेको सडकमा समेत हिउँदमा मात्र गाडी चल्ने गर्छ। दुप्चेश्वर गाउँपालिकामा केही ठाउँमा सडक सञ्जाल जोडिए पनि माथिल्लो भेगतिर सडक छैन ।

गर्भवती र सुत्केरीका सारथि

दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरीको हेरविचारमा सारथिको भूमिकामा छन् दुप्चेश्वर-७ का स्वास्थ्य्यकर्मीहरू। गर्भवती र सुत्केरीलाई सहजीकरण उनीहरूले नै गर्दै आएका छन्। गर्भवती भएपछि आफूलाई जानकारी गराउने र त्यसपछिका उपायहरू आफूहरूले सुझाउने स्वास्थ्यकर्मीहरू बताउँछन्। सडक नहुँदा र गोरेटो बाटोसमेत सहज नहुँदा गर्भवतीहरू स्वास्थ्यचौकीसम्म आउन मुस्किल पर्छ। यसैले सकेसम्म स्वास्थ्य्यकर्मीहरू गर्भवती र सुत्केरीकै घरमा जाने गर्दछन्।

स्टार्फ नर्स शर्मिला कठायत भन्छिन्, ‘‘बच्चा नहुन्जेलसम्म उनीहरूलाई भेटिरहेका हुन्छौं । जाँच गर्नुपर्ने महिनामा स्वास्थ्यनै आउन भन्छौँ। सुत्केरी व्यथा लाग्न लागेमा स्वास्थ्यसंस्था आउन वा जिल्ला अस्पताल जान सुझाव दिन्छौं , गाउँपालिका ठूलो छ । सबैको घरघरमा जान सम्भव हुँदैनन्। नजिकका केही ठाँउमा भ्याएसम्म जान्छौँ । तर स्वास्थ्यसंस्थाबाट धेरै टाढाका महिलाहरुलाई गर्भवती हुनु भनेको जीवन र मरण बीचकै दोसाँधमै पुगेको जस्तो हुन्छ ।’’

स्वास्थ्य्यकर्मीहरू गर्भवती, सुत्केरीका घरघरमै गएर परीक्षण गर्दै

आफू सुत्केरी भएको समयमा स्वास्थ्य्यकर्मीबाट धेरै सहयोग मिलेको महिलाहरू बताउँछन्। एक महिलाले भनिन्, ‘‘आइरन चक्की, जुकाको औषधि खाने र अन्य जाँचका लागि नर्सहरूले नै खबर गर्नुहुन्थ्यो। उहाँहरूले गर्दा गर्भावस्थामा धेरै आड भरोसा भयो।’’  गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी अर्थात् सबै गर्भवतीलाई स्वास्थ्यचौकीमै सुत्केरी गराउने लक्ष्य लिएको छ। गर्भवतीहरू पनि स्वास्थ्यचौकीमै सुत्केरी हुन चाहन्छन्। तर  भौगोलिक विकटता तथा सडक अभावले त्यो सम्भव भएको छैन।

शर्मिला कठायत, स्वास्थ्य्यकर्मी, शिखरबेसी स्वास्थ्यचौकी

सडककै कारण आम र बच्चा दुवैको ज्यान जोखिममा रहेको शिखरबेसी स्वास्थ्यचौकीमा कार्यरत स्टार्फ नर्स कठायत बताउँछिन्।  ‘‘हामी टाढाबाट समेत घर छाडेर यो दुर्गम ठाउँमा आएर सेवा गरेर बसेका छौँ। तर, विडम्बना यो ठाउँसम्म गर्भवतीहरू सहज आउन पनि सक्ने अवस्था छैन। गर्भ जाँच गराउन आउनेहरू बढे पनि सुत्केरी हुन आउनेहरू निक्कै कम छन्। कतिपय गर्भवतीहरू सुत्केरी व्यथा लागेपछि हिँडेरै स्वास्थ्यचौकीसम्म आउन बाध्य छन्,’’ कठायत भन्छिन्, ‘‘व्यथाले च्यापेपछि हिँडेरै स्वास्थ्यचौकी आउँदै गर्दा धेरै गर्भवतीले बाटैमा बच्चासमेत जन्माइसकेका छन्। अनि बाटोबाटै घर फर्कन्छन्। यो क्षेत्रका गर्भवती महिलाले यस्तै पीडा भोग्दै आएका छन्।’’

महिलाहरू स्वास्थ्यचौकी नआएकाले कतिपय अवस्थामा आफूहरू गर्भवतीलाई घरमा खोज्दै जाने गरेको नर्स कठायत बताउँछिन्। उनले भनिन्, ‘‘महिलाहरू सडककै र बाटोकै कारण स्वास्थ्यचौकी आउन सक्दैनन्, सकेसम्म अस्पताल लैजान भन्छौँ, त्यति गर्दा पनि मानेनन् भने हामी आफैँ उनीहरूको घरमा गएर सहयोग गर्दै आएका छौँ।

हवाई उद्धार प्रचार मात्र

सरकारले ६ पुस २०७५ देखि ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार शुरु गरेको खबर पनि दुप्चेश्वरबासीलाई थाहा छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार गर्न थालिएको छ।  तर पनि थोरैले मात्रै  त्यो सेवा पाएका छन्। मौसम सफा भएको अवस्थामा दिउँसो मात्रै हेलिकप्टर आउँछ। तर साँझपछि कसैलाई सुत्केरी व्यथा लागेमा समस्या हुने गर्छ।

घरमै गएर सुत्केरीको स्वास्थ्यपरीक्षण गर्दै स्वास्थ्य्यकर्मी

दिउँसो पनि पानी पर्दा वा हुस्सु लाग्दा हेलिकप्टर आउन सक्दैन। हेलिकप्टर आउन सक्ने अवस्था भए पनि प्रशासनसँग अनुमति लिइनेजस्ता प्रक्रियामै दुई-तीन घण्टा लाग्छ। त्यो बेलासम्म सुत्केरीलाई गाडीमै काठमाडौं पुर्‍याउने बेला भइसक्ने स्थानीय बताउँछन्। यस्तो अवस्थामा समयमै अस्पताल नपुग्दा आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

घ्याङ्गफेदीबाट सुत्केरी महिलाको हेली द्वारा उद्वार गरिँदै

हिउँदमा गाडी पुग्ने ठाउँमा बर्खामा गाडी आउँदैन। सुत्केरी तथा बिरामीलाई स्टेचरमै बोकेर लैजानुपर्छ। डोकोमा र स्टेचरमा सुत्केरी बोक्नुपर्छ। गाउँबाट दुई तीन घण्टा हिँडेपछि मात्रै गाडी चल्ने ठाउँ सडकमा पुगिन्छ। एम्बुलेन्स नहुँदा यात्रुबहाक बस र मालसामान ढुवानी गर्ने आइचरमा गर्भवतीलाई लैजानुपर्ने अवस्था रहेको योविन्द्रसिंह तामाङ बताउँछन्।

दुप्चेश्व गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङ

उनले भने, ‘‘पाँच कक्षाभन्दा माथिको स्कूल पढ्न यहाँका विद्यार्थीहरू करिब दुई तीन घण्टा पैदल हिँड्नुपर्छ। बिहान उठ्ने बित्तिकै हिँडेका विद्यार्थी रात परेपछि मात्र घर फर्कन्छन् । सडक पनि सबै ठाउँमा पुगेको छैन। सडक पुगेका ठाउँमा पनि बर्खामा बन्द हुन्छ, गाउँपालिकाको बजेटले सडक पूर्वाधारको विकासको पहल हुँदै छ।’’

नुवाकोटको दुप्चश्वेर गाउँपालिका भूगोलमा ठूलो भए पनि कमै मात्रामा गर्भवती तथा सुत्केरी स्वास्थ्यसंस्थामा सेवा लिन आउँछन्। वडा ५ मा स्वास्थ्यचौकी छ। जहाँ दुप्चश्वेर ८ सेराङ, वडा ९ को गैरी टोल, १ र २ को सिम्ताङ, ३ को सिम्ले र ४ को हिले टोलबाट सेवा लिन आउँछन्। शिखरबेसी-७ मा रहेको हेल्थपोष्टमा अघिल्लो वर्ष हेल्थपोष्टमा २५ जना सुत्केरी भएका थिए।

जहाँ उपचार हुन नसकेको ८ जना काठमाडौं थापाथली र जिल्ला अस्पताल पठाइएको थियो।

स्वास्थ्यचौकीकी स्टार्फ नर्स कठायत भन्छिन्, ‘यहाँमा धेरै पुरुष गर्भवती श्रीमती छाडेर विदेश गएका हुन्छन्। घर खर्च चलाउन विदेश जानुपर्ने बाध्यता छ। कतिपयले भने विदेश गएपछि घरमा श्रीमतीको वास्ता गर्दैनन्। सुत्केरी गराउन आउनको शरीरमा राम्रो कपडासमेत हुँदैन। कतिपयको दयानीय अवस्था देखेर आफूले लगाइरहेको कपडासमेत लगाएर पठाउने गरेको छौँ।’’

शिखरबेसी स्वास्थ्यचौकीमा सुत्केरी गराउन आएका महिला तथा आफन्तहरू

सडककै कारण घरमै सुत्केरी

गाउँघरबाट स्वास्थ्यचौकी जाने बाटो नभएकाले घरमै धेरैजसोले सुत्केरी गराउने प्रयास गर्छन्। अस्पताल लैजाने झन्झट बेहोर्नुभन्दा धामीझाँक्रीलाई गुहार्छन्। त्यति गर्दा पनि सुत्केरी भएन भने मात्रै स्वास्थ्यचौकी जान्छन्। तर त्यतिबेला ढिलो भइसकेको हुने स्वास्थ्य्यकर्मी बताउँछन्। स्टार्फ नर्स शर्मिला कठायत भन्छिन्, ‘‘सकेसम्म घरमै सुत्केरी गराउने प्रयास गर्छन्। त्यहाँ नभएमा बल्ल स्वास्थ्यचौकी ल्याउँछन्। त्यति बेलासम्म निक्कै ढिला भइसकेको हुने छ। गम्भीर अवस्थाका गर्भवतीलाई सुत्केरी गराउन पनि सकिँदैन। जिल्ला सदरमुकाम वा काठमाडौं तत्कालै पठाउन पनि सवारी साधन हुँदैन।’’

घरमै सुत्केरी गराउँदा धेरै जना आमा र शिशुको ज्यान गएको छ। स्वास्थ्यसंस्थामा सुत्केरी गराउन जानेलाई गाउँपालिकाले एकतर्फी यातायात खर्च दिने गर्छ। तर स्वास्थ्यसंस्था जान गाडी नै नभएकाले स्थानीयलाई समस्या हुने गर्छ।

बच्चालाई खोप लगाइदिँदै स्वास्थ्य्यकर्मी

२०७६ मा स्वास्थ्यचौकीमा संस्थामा ३१ जना सुत्केरी भएका थिए। स्वास्थ्यकार्यालयको तथ्याङअनुसार घरमै ६ जना सुत्केरी भएका छन्। स्वास्थ्यचौकीमा सुत्केरी गराउन आएका तर त्यहाँबाट त्रिशूली अस्पताल तथा काठमाडौं-७ जना गर्भवतीलाई पठाइयो।

२०७७ मा स्वास्थ्यचौकीमा २६ जना गर्भवतीलाई सुत्केरी गराउन आएको तथ्याङ छ। घरमा सुत्केरी गराउनेको संख्या अघिल्लो वर्षको तुलनामा २ जना बढेर ८ जना देखिन्छ। स्वास्थ्यचौकीमा गर्भवती गराउन आएका ८ जनालाई जिल्ला अस्पताल तथा काठमाडौं पठाइएको छ। २०७८ को अहिलेसम्म स्वास्थ्यचौकीमा ६ जनाले गर्भवती सुत्केरी भइसकेका छन्। १ जनालाई भने अरू अस्पतालमा पठाइएको  छ। यो साल घरमै सुत्केरी हुने तीन जना छन्।

दुप्चेश्वर रामती, समुन्द्रटार शिखरबेसी घ्याङफेदी सडकखण्डअन्तर्गत रामतीस्थित डुँडेखोलामा मर्मत गर्दै स्थानीय

जनप्रतिनिधि प्रतिबद्धता मात्र गर्छन्

यो दुर्दशाको अन्य गर्न सडक सबै क्षेत्रमा पुर्‍याउनुपर्ने स्थानीयको माग छ। सडक पुर्‍याउन सबैसँग समन्वय गर्ने भन्दै गाउँपालिका अध्यक्ष तामाङले अन्य विकास निर्माणका काम अघि बढाउने बताउँछन्। तर, स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दा देखिने र आम नागरिक जनजीवनमा सुविधा पुग्ने धेरै काम नभएको स्थानीको गुनासो छ।

सबै क्षेत्रमा सडक पुर्‍याउन राजनीतिक दल, जिल्ला समन्वय समिति आफ्नो पालिकाका वडा कार्यालयसँग समन्वय गर्ने गरिने उनले बताए। गाउँपालिकाका अध्यक्ष तामाङ भन्छन्, ‘‘सबैको पहल भयो भने सडक गाउँमा पुग्नेछ, तर केन्द्र सरकारबाट पर्याप्त बजेट नै आएको छैन। स्थानीय सरकारको बजेटले सबै ठाउँमा बाटो बनाउन बजेट पुग्दैन।’’

सडक मैले लगेको हुँ, अब थप विस्तारमा ध्यान दिनेछु : नेता केसी

नुवाकोटका राजनीतिज्ञ अर्जुन नरसिंह केसी आफूले दुप्चेवर गाउँपालिकामा पर्ने शिखरबेसी घयाङफेदीलगायतको क्षेत्रको पूर्वाधारको विकासको शुरुवात आफैंले गरेको दाबी गर्छन्। बहुदल स्थापनापश्चात् शान्ति सम्झौता र गणतान्त्रिक नेपालको स्थापनामा मुख्य भूमिका निर्वाह गर्दै आएका कांग्रेस नेता केसी आफ्नो जिल्लाको विकासमा पनि ध्यान दिएको बताउँछन् ।

नुवाकोटलाई केन्द्रीय विकास योजनामा सम्मिलित गर्न कयौँ समावेशी र आर्थिक विकासका योजनाहरू मन्त्रिपरिषद् र संसद्बाट पारित गर्न सफल रहेको बताउने उनी भन्छन्, ‘‘त्यो क्षेत्रमा सडकको सुरुवात र हेल्थपोष्ट स्थापना मैले गरेको हुँ।’’

‘‘ दुप्चेश्वरको राउतबेशीमा अहिले भएको हेल्थपोष्ट स्थापना गरेको मैले नै हो। म त्यही गाउँमा जन्मिएको हुँ । त्यो ठाउँमा सडक बाटो लैजाने पहल पनि मैले नै गरेको हुँ। मेरै पहल कदमीमा पहिलो पटक बजेट २०४१ सालतिर पारेर त्यहाँ बाटो सुरु गरिएको हो । अहिले पनि हरेक बर्ष बजेट थपिँदै छ। हुन त म त्यो ठाउँबाट चुनावमा उम्मेदवार होइन । उम्मेदवार होइन भनेर म पन्छिन खोजेको होइन म त्यही जन्मिएको नाता र राष्ट्रिय राजनीतिमा लामो समय योगदान दिएको नाताले म पनि त्यो क्षेत्रको स्टेकहोल्डर हुँ । अहिलेको प्रतिनिधिसभा चुनावमा माओवादीका उम्मेदवार हीतबाहदुर तामाङ त्यहाँबाट जित्नुभएको हो । उहाँले आफ्नो मतदाताको लागि के–के गरिरहनुभएको छ त्यो भने मलाई थाहा छैन।

यसअघि हामीले त्यो क्षेत्र विकासको लागि जे–जति प्रयत्नहरू गर्नुपर्ने थियो त्यो गरेका हौँ । पछिल्ला दिनमा अब त्यहाँको समस्या समाधानको लागि सडक पूर्वाधार स्वास्थ्यसंस्था अस्पताललगायतको विकासको लागि हामी प्रयत्नशील उनेछौँ । अरू महिलाहरूको समस्या त देशव्यापी रुपमा छ । मातृ कल्याण सेवाको लागि स्वास्थ्यमन्त्रालयले उचित सेवा पुर्‍याउन सकेको छैन । यता सडक पूर्वाधारमा हरेक बर्ष छुट्टाइएको बजेटले राम्रो सडक पूर्वाधार बन्न सकेको छ । त्यहाँ सरकारलाई ध्यानाकर्षण गराउन म घचघचाउनेछु ।‘’’


Comment

One thought on “जहाँ गर्भवतीले बाटैमा जन्माउँछन् बच्चा

  1. कमै मात्रै पुरुषहरूले महिलाको पीडा बुझ्छन् । त्यसमाथि गर्भवती तथा सुत्केरीको पीडा अथाह हुन्छ । दुर्गम भेगका महिलाको यस्तै पीडालाई उजागर गरेर राज्यलाई ध्यानाकर्षण गराउन समाचार लेख्नुहुने लोकप्रिय पत्रकार तथा निर्भीक पत्रकार श्यामसुन्दर पुडासैनी सरलाई धन्यवाद । दुर्गम भेगमा हामीले गरेको सेवाको कदर गर्दै केही कुराहरू प्रकाशित गरिइदिनुभएकोमा पनि धन्यवाद । तपाईँसँग समय छ भने यो पीडादायी समाचार एक पटक पढ्ने की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved