काठमाडौं। साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बाँकी दुई खेलमा नेपाललाई अब एक जित नै काफी हुनेछ। भारत र बंगलादेश दुवैसँग बराबरी खेले पनि यो च्याम्पियनसिपको अन्तिम दुईमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ।
फाइनल प्रवेशका लागि नेपालले राउण्ड रोविन लिगका बाँकी दुई खेलमध्ये कुनैमा पनि हारको नतिजा भने भोग्नु हुँदैन। त्यसो भएमा नेपालले अन्य देशको नतिजामा भर पर्नुपर्ने हुन्छ।
च्याम्पियनसिपको लिगका शुरुआती दुई खेल नै जितेर अंक तालिकाको अग्रस्थानमा रहेको नेपाल अब आइतबार तेस्रो लिग खेलमा चीर प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ। तर उक्त खेल नेपालले जित्ने संभावना निकै कम रहेको नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले बताएका छन्।

भारतसँगको खेलको अघिल्लो दिन अलमुताइरीले भने, “भारत यो साफकै बलियो टिम हो, जसले सात पटक उपाधि जितिसकेको छ। मलाई लाग्छ आइतबार भारतले खेल जित्ने संभावना ९५ प्रतिशत छ, ४ प्रतिशत संभावना खेल बराबर हुनेमा छ। नेपालले खेल जित्ने संभावना एक प्रतिशत मात्र छ।”
नेपाली फुटबलका लागि भारत सँधैंं बलियो प्रतिद्वन्दी मानिन्छ। हालसम्मको ‘हेड टू हेड’ हेर्दा पनि भारतसँग नेपालको इतिहास निकै खराब छ। हालसम्म नेपालले भारतसँग खेलेका २१ खेलमा मात्र दुई खेल जितेको रेकर्ड छ।
भारतविरुद्धका दुई जितमध्ये पछिल्लो जित नेपालले साफ च्याम्पियनसिपमा नै हात पारेको थियो। सन् २०१३ मा काठमाडौंमै भएको दशौं साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको खेलमा भारतलाई २–१ गोल अन्तरले हराएको थियो। जसमा नेपालका स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले एक एक गोलको योगदान गरेका थिए।
यसअधि सन् १९९३ को दक्षिण एसियाली खेलकुद ‘साग’ को फुटबलतर्फको फाइनलमा भारतलाई टाइब्रेकरमा ४–३ ले हराउँदै नेपालले उपाधि जितेको थियो। यसपछिका अन्य १४ खेलमा भारत विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको थियो।
लगभग एक महीना अघि साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले आफ्नै बलियो प्रतिद्धन्दी भारतलाई घरेलु मैदानमा बोलाएर दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
दशरथ रंगशालामा खेलिएको पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २–१ ले पराजित भएको थियो। यी दुई खेलमा भारतले आफ्नो स्तरको खेल देखाउन सकेको थिएन भने नेपाललाई घरेलु मैदानको साथ थियो। तर माल्दिभ्स दुवैको लागि न्युट्रल भेन्यू हो।
फिफा वरियता क्रममा पनि भारत नेपाल भन्दा ६१ स्थान माथि छ। वरियता क्रममा भारत मात्र १ सय ७ औँ स्थानमा छ नेपाल १ सय ६८ औँ स्थानमा छ।
माल्दिभ्समा जारी यो च्याम्पियनसिपको उपाधिको प्रवल दावेदार मानिएको भारत भने शुरुआती दुवै खेल बराबरीमा रोकिएको थियो। तुलनात्मक रुपमा कमजोर मानिएका श्रीलंका र बंगलादेशसँग बराबरीको खेल खेलेपछि भारतको फाइनल प्रवेशको संभावना कठिन बनेको छ।
यदि भारतले नेपाल र माल्दिभ्ससँगका बाँकी दुई खेलमध्ये एक मात्र हारेमा पनि ऊ यो प्रतियोगिताबाट बाहिरिनेछ। फाइनल प्रवेशको संभावना कायमै राख्न पनि नेपालविरुद्ध भारत ‘गर या मर’को स्थीतिमा छ। त्यसैले नेपाललाई भारतले कडा टक्कर दिने पक्का छ।
यता लिगमा हालसम्म अविजित नेपालको मनोबल निकै उच्च छ। नेपालका कप्तान किरण चेम्जोङ भन्छन्, “भारतविरुद्वको हाम्रो तयारी राम्रो छ, उक्त खेल कठिन हुने पक्का छ। साफ च्याम्पियनसिपको हाम्रो उपाधि लक्ष्यमा दुई स्टेप पुरा भैसक्यो। अर्को स्टेप पुरा गर्न भारतसँग पनि ९० मिनेट नै जितका लागि लड्ने छौ।”
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो। माल्दिभ्सलाई नेपालले साफ च्याम्पियनसिपमा हराएको यो पहिलो पटक थियो। मालदिभ्सविरुद्धको अन्य खेलमा पनि नेपालले मालदिभ्सलाई हराएको यो २२ वर्ष पछि थियो।
नेपालको जितमा मनिष डाँगीको ८६ औं मिनेटको आकर्षक तथा एक मात्र निर्णयक गोल गरेका थिए।
त्यसैगरी लिगको दोस्रो खेलमा नेपालले श्रीलंकालाई निकै रोमाञ्चक प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित गरेको थियो। यो खेलमा नेपालको जितमा सुमन लामा, आयुष घलान र अन्जन बिष्टले एक एक गोलको योगदान गरेका थिए।
नेपाली फुटबल टिममा सँधैं एउटा टाउको दुखाइको बिषय स्ट्राइकिङ् लाइन–अप हो। प्राय: खेल जति नै राम्रो खेले पनि फिनिसिङमा चुक्दा हार्न पुग्थ्यो। जसले गर्दा नेपाली टिमका सबैजसो प्रदर्शन ‘मन जित्ने तर खेल नजित्ने’ हुन्थे।
प्रशिक्षक अब्दुल्ला अलमुताइरीले टिम सम्हालेपछि भने नेपालको यो समस्या विस्तारै हट्दै गएको देखिन्छ। पछिल्ला खेलमा नेपालले फिनिसिङमा राम्रो खेल देखाइरहेको छ भने गोलका लागि पाएका मौकाहरूको बढी सदुपयोग गरिरहेको छ। यही साफका शुरुका दुई खेलमा पनि नेपालको ‘सट अन टार्गेट’ विपक्षी टिमको भन्दा बढी देखियो।
नेपाल आफ्नो पुरानो समस्या सुधार्दै गइरहेको छ भने उता आक्रामक खेल खेल्न माहिर भारतलाई भने नेपालको समस्या सरेको देखिन्छ। एक महीना अघि नेपालसँग भएका दुई मैत्रीपूर्ण खेलमा पनि भारतको फ्रन्टलाइन चलेको थिएन।
यता साफ च्याम्पियनसिपमा पनि बंगलादेशविरुद्धको पहिलो खेलमा भारतले आठ ‘सट अन टार्गेट’मा मात्र एक गोल गर्न सक्यो। दोस्रो हाफको शुरुआततिर नै १० जनामा समेटिएको बंगलादेशसँग भारतले जित निकाल्न सकेन। जबकी बंगलादेश भन्दा भारतको ‘बल पोसेसन’ दुई गुणा बढी थियो।
उता श्रीलंकासँगको खेलमा त झन् भारतको ‘बल पोसेसन’ ७५% थियो। तर ‘सट अन टार्गेट’ जम्मा एउटा। भारतको ‘स्ट्राइकिङ लाइन–अप’ नचल्दा यो खेल पनि गोलरहित बराबरीमा सकिएको थियो।
दक्षिण एसियामा राष्ट्रिय टिमको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छैन। साफमा अहिलेसम्म जनाएका १२ सहभागितामा नेपाल फाइनलसम्म पनि पुग्न सकेको छैन। नेपालको ठूलो उपलब्धि तेस्रो स्थानसम्म मात्रै हो।
पहिलो संस्करणमै तेस्रो भएको नेपालले पछिल्ला साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। नेपालले पाँच पटक सेमिफाइनल खेलेको छ भने ६ पटक नेपालको यात्रा समूह चरणबाटै सकिएको थियो। त्यसैले यसपालिको नेपालको पहिलो लक्ष्य फाइनलसम्म पुग्ने छ।
यो पटक नेपाली टिम फाइनल पुगेमा उपाधि जितेर इतिहास रच्ने सुनौलो मौका पनि छ। किनभने यो संस्करणमा दक्षिण एसियाका ५ टिम मात्र सहभागी हुँदैछन्।
पाकिस्तान र भूटान बाहेक यसपालि साफमा नभएकाले फाइनल ‘राउण्ड रोविन लिग’का आधारमा हुनेछ। जसमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टिम उपाधिका लागि फाइनलमा भिड्नेछन्।
Facebook Comment
Comment