काठमाडौं। यस वर्षको दशैका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएको हो।
दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको कम्पनी लिमिटेडले यसपटक पनि निरन्तरता दिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए।
कम्पनीले हाल २ हजार खसी, बोका विक्रीका लागि ल्याएको छ। तर ग्राहकहरूको चाप बढेकाले आवश्यकता अनुसार फेरी पनि खसी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन्। उनले दैनिक ५ सय वटा खसी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।