सन्दर्भः पन्छीको अन्तर्राष्ट्रिय बसाइँसराइ दिवस

वर्षौँपछि देखिए पाहुना चरा

गत महीना मुस्ताङमा नेपालका लागि दुर्लभ मानिएको ‘युरोपियन रोलर’ नामक ठेउवा चरा र इलामको कन्याममा वन टिकटिके फेला परेको छ।

वर्षौँपछि देखिए पाहुना चरा

काठमाडौं। गत भदौ दोस्रो साता मुस्ताङको लोमान्थाङ-५ केकीघाङमा ‘युरोपियन रोलर’ नामक चरा फेला पर्‍यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगतको केकीघाङमा १३ भदौमा भेटिएको उक्त चरा नेपालका लागि नयाँ हो।

एक्यापका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइमा ‘युरोपियन रोलर’को तस्वीर खिचेका हुन्। सो पन्छी नेपालमा पहिलो पटक अभिलेख भएको पन्छीविद् हेमसागर बरालले जानकारी दिए।

टाढाबाट हेर्दा भँगेरा जस्तो देखिने ‘युरोपियन रोलर’को खैरो पखेटा, खुट्टासँगैको भाग निलो, घाँटी र टाउकोमा खैरो र सेतो मिश्रित प्वाख हुने उनले प्रष्ट्याए। बरालका अनुसार यो पन्छी ठेउवा प्रजातिको चरा हो।

‘‘यसअघि नेपालमा लाल चुच्चे, ठेउवा र हरित गर्धने ठेउवा रेकर्ड भएका थिए, ‘युरोपियन रोलर’ नेपालका लागि नयाँ हो”, उनले भने, ‘‘नयाँ भएकाले यसलाई नेपाली नाम दिइएको छैन।’’

नेपालका लागि दुर्लभ मानिएको वन टिकटिके २४ भदौमा कोशी पन्छी समाजका अध्यक्ष सञ्जिव आचार्य नेतृत्वको टोलीले इलामको कन्याममा फेला पार्‍यो। वन्यजन्तु फोटोग्राफर सञ्जय था श्रेष्ठले नेपालमा विरलै देखिने वटुवा पन्छीको तस्वीर खिचेका हुन्।

चीनको पूर्वी भेग, दक्षिण र उत्तर कोरिया, पूर्वी रुसको रैैथाने यो पन्छी हिउँदे जाडो छल्न नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र विचरण गर्न जाने गर्छ। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हरेक वर्ष भदौमा एक/दुई वटाको संख्यामा देखिने वन टिकटिके यसपटक पाँच वटासम्म भेटिएको छ।

आचार्यले भने, ‘‘वन टिकटिके इलाममा पहिलोपटक रेकर्ड भएको हो। हिउँदमा यो पन्छी नेपालको बाटोहुँदै दक्षिण भारत र श्रीलंकासम्म पुग्ने गर्छ।’’ उनका अनुसार अन्यत्र भएर आउनेहरु म्यानमार, थाइल्याण्ड, बंगलादेश पुग्ने गर्छन्।

काठमाडौं उपत्यकामा मलगुझा नामक जलपन्छी ३२ वर्षपछि पुनः फेला परेको छ। गत १३ भदौंमा भक्तपुरको मनोहरामा वन्यजन्तु फोटोग्राफरहरु सञ्जय था श्रेष्ठ, पेम्बा शेर्पा र सुगम ताम्राकारले भेटेका हुन्। पन्छीविद् ब्रायन हड्सनले यो प्रजाती सन् १९८९मा तीन पटकसम्म भेटेका थिए। त्यसयता यो पन्छी उपत्यकामा अभिलेख नभएको विज्ञ बताउँछन्।

त्यसैगरी पानी गौंथली ३८ वर्षपछि पुनः उपत्यकामा अभिलेख भएको छ। गत ८ असारमा फोटोग्राफर श्रेष्ठ र शेर्पा फ्रेन्च पेम्बाले फेला पारेका हुन्। गर्मीयामको आगन्तुक यसले मनोहरामा बच्चासमेत कोरलेको पाइयो। यस्तो गौंथलीले नेपालमै बच्चा कोरलेको यो पहिलो घटना भएको दाबी गरिएको छ।

वायु फ्यालफ्याले नामक जलपन्छी पनि यही वर्ष १६ वर्षपछि मनोहरामा फेला परेको छ। यसअघि, सन् २००५ मा काठमाडौंको टौदहमा यो पनि अभिलेख गरिएको थियो।

आज अक्टोबर महीनाको दोस्रो शनिबार, पन्छीहरुको अन्तर्राष्ट्रिय बसाइँसराइ दिवस। आगन्तुक र रैथाने पन्छीहरुको संख्या र उपस्थिति खस्किएको, बढेको र अन्य विविध पक्षबारे थाहा पाउन दिवस मनाइन्छ।

बसाँइसराइ गर्ने पन्छीहरुको संरक्षण, आहारा, वासस्थान र उडान मार्गको सुरक्षाका लागि एक अर्को मुलुकबीच हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो दिवस मनाउने गरिन्छ।

दुर्लभ सूचीका पन्छीको विचरण क्षेत्र र बासस्थान सुर्धान दिवस महत्वपूर्ण मानिन्छ। यस वर्षको नारा ‘सिङ, फ्लाई, सोर लाइक ए वर्ड’ अर्थात् ‘गाउनुहोस्, उड्नुहोस्, चरा जस्तै उड्नुहोस्’ तय गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे महिनाको दोस्रो र अक्टोबर महीनाको दोस्रो शनिबार यस्तो दिवस मनाउने गरिन्छ।

अनकुल मौसम, सुरक्षित बासस्थान, विचरण र प्रजननको लागि पन्छीहरु आफ्नो थातथलो छाडेर एकदेशबाट अर्को देशमा बसाइँ सर्ने गर्छन्। विगतमा प्रायः नेपालमा नदेखिने मण्डारिन हाँस लगायतका जलपन्छी फिरन्ते सूचीमा रहेकोमा अब नियमित हिउँदे आगन्तुक बन्ने संकेत देखिन थालेको पन्छीविद् बताउँछन्।

नेपालमा ८८८ प्रजातिका पन्छी अभिलेख गरिएको छ। तीमध्ये करीब ६०० प्रजाती रैथाने सूचीमा सूचीकृत छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हिउँदयामका बेला डेढसय प्रजाती र गर्मीयाममा करीब ६५ पन्छीका प्रजाति विचरणका क्रममा नेपाल भित्रिन्छन्।

चीन, मंगोलिया, रुसको साइबेरिया र आसपासका भेगबाट जाडो छल्न नेपाल आउनेमध्ये अधिकांश जलपन्छी छन्। नेपालमा अभिलेख भएकामध्ये २९ प्रजाति बटुवा र ७४ प्रजाति फिरन्ते सूचीमा छन्।

बसाइँसराइको क्रममा नेपालको बाटो हुँदै अन्यत्र जाने बटुवा र बाटो बिराएर फाट्टफुट्ट मात्रै देखिनेलाई फिरन्ते प्रजातिका रुपमा बुझ्ने गरिन्छ। पन्छीविद्का अनुसार करीब ५० प्रजाति पन्छी नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र जान्छन्।

त्यसैगरी विभिन्न ७४ प्रजाति फाट्टफुट्ट देखिने फिरन्ते सूचीमा छन्। बटुवा पन्छी नेपालका नदी, सिमसार र जलाधार क्षेत्रमा एक हप्ता हाराहारी आराम गरेर गन्तव्यतर्फ लाग्ने गर्छन्। पन्छीको बसाइँसराइ दिवस सन् २००६ देखि अफ्रिका, युरोप र एशियाका केही मुलुकमा मे महिनामा मनाउने गरिन्थ्यो। सन् २०१८ देखि वर्षमा दुई पटक मनाउन थालिएको हो।

दिवसका अवसरमा पन्छी अवलोकनसँगै लोपोन्मुख र दुर्लभ पन्छीको महत्व बताउन, बुझाउन विभिन्न सचेतना कार्यक्रम गरिन्छ। नेपालमा नेपाल पन्छी संरक्षण संघ (बीसीएन), पोखरा बर्ड सोसाइटी, हिमालयन नेचर, बर्ड एजुकेसन सोसाइटी, कोसी बर्ड सोसाइटीजस्ता संघ संस्थाले विविध कार्यक्रम गर्छन्।

(तस्वीर सौजन्य: संजय था श्रेष्ठ)


Comment

One thought on “वर्षौँपछि देखिए पाहुना चरा

  1. वायु फ्यालफ्याले नामक जलपन्छी पनि यही वर्ष १६ वर्षपछि मनोहरामा फेला परेको छ। यसअघि, सन् २००५ मा काठमाडौंको टौदहमा यो पनि अभिलेख गरिएको थियो।
    २०७८/६/१ गते मैले फोटो खिचेर राखेको हो यो चरा गलत information भयो यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved