ईपीएल क्रिकेट

उपाधिका लागि चितवन र पोखराको भिडन्त

लिग चरणमा पोखराले एक खेल मात्र हारेको चितवनसँग नै हो। त्यसैगरी पहिलो क्वालिफायरमा पनि पोखरा चितवनसँग नै पराजित भएको थियो। पोखरालाई पूरै दबाबमा राख्दै चितवनले यी दुवै खेल ९ विकेटले नै जितेको थियो।

उपाधिका लागि चितवन र पोखराको भिडन्त

काठमाडौं। यो पटकको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि नयाँ टिमले जित्ने पक्का छ। चौंथो संस्करणको ईपीएलमा पुगेका दुवै टिम चितवन टाइगर्स र पोखरा राइनोजले हालसम्म यो प्रतियोगिताको उपाधि जितेका छैनन्। उपाधि जित्नेमा मात्र होइन, यो पटक उपाधि भिडन्त गर्ने दुवै टिमले नै पहिलो पटक ईपीएलमा फाइनलको यात्रा तय गरेका हुन्।

यो पटकको ईपीएल उपाधिको प्रबल दाबेदारको रुपमा चितवन टाइगर्सलाई हेरिएको छ। फाइनलसम्म आइपुग्दा उत्कृष्ट प्रदर्शन गर्दै लिगको पाँच मध्ये चार खेल जितेको चितवनले लिगको पहिलो स्थानमा रहँदै क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। पहिलो क्वालिफायरमा चितवनले पोखरालाई ९ विकेटले हरायो र पहिलो पटक ईपीएलको अन्तिम दुईमा प्रवेस पायो।

उता पोखराले पनि लिगमा हार्न त एक खेलमात्र हार्‍यो। तीन खेल जितेको पोखराको भैरहवासँगको खेल भने वर्षाको कारण बिनानतिजा टुङ्गिएपछि दुवैले अङ्क बाँडेका थिए। पोखराले जारि लिगको दास्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो।

तर पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएपछि सिधै फाइनलमा पुग्नबाट चुकेको पोखराले दोस्रो मौका पाएको थियो। यसपछि एलिमिनेटरबाट उक्लिएको भैरहवालाई दोस्रो क्वालिफायरमा ७ विकेटले हराँउदै पोखराले पुनः फाइनलमा चितवनसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा पोखराले एक खेल मात्र हारेको चितवनसँग नै हो। त्यसैगरी पहिलो क्वालिफायरमा पनि पोखरा चितवनसँग नै पराजित भएको थियो। पोखरालाई पूरै दबाबमा राख्दै चितवनले यी दुवै खेल ९ विकेटले नै जितेको थियो।

लिग चरणको यी दुई बीचको खेलमा पहिले ब्याटिङ गरेको पोखरा २० ओभरमा मात्र १ सय २३ रनमा समेटिदा चितवनले लक्ष्य २० बल खेल्नु अगाडि नै मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो। चितवनका लागि अफगानी स्टार विकेट किपर ब्याट्सम्यान मोहमद सहेजाद र भीम सार्की दुवैले उत्कृष्ट अविजित अर्धशतकीय पारी खेलेका थिए।

यसपछि पहिलो क्वालिफायरमा पनि पोखराको भेट चितवनसँग नै भयो। यो खेलमा भने चितवनका बलरहरु चम्किँदा पोखरा १५ ओभरमा ६६ रनमा नै अलआउट भयो। चितवनका सागर ढकाल र सहाब आलमले किफायती बलिङ गर्दै चार–चार विकेट लिएका थिए। चार ओभर बलिङमा सहाबले मात्र १० र सागरले मात्र १४ रन खर्चेका थिए।

यो खेलमा पनि ब्याटिङमा चितवनका मोहमद सहेजादले उत्कृष्ट प्रदर्शन गर्दा मात्र २६ बलमा ४८ रनको योगदान दिएका थिए।
चितवन अब यो ईपीएलमा पोखरालाई लगातार तेस्रो पटक हराउँदै उपाधि उचाल्ने तयारीमा छ।

“मलाई लाग्छ हामीले पोखरा विरुद्ध फाइनलमा त्यति धेरै केही गर्नु पर्दैन। पोखरासँग दुई खेल खेलिसकियो, त्यसैले उनीहरुको कमजोरी के हो थाहा छ। दुवै खेलमा हामीले राम्रो खेल्यौँ। त्यसैले जित्यौँ। तर हाम्रो टिमको ईपीएलको यो यात्रा सकिएको छैन। अब फाइनलमा राम्रो खेल्न बाँकी छ”, चितवनका कप्तान सोमपाल कामीले फाइनल अघिको पत्रकार सम्मेलनमा भने।

पोखरासँगका अघिल्ला दुवै खेल सजिलै जितेकाले फाइनल जित्नेमा पनि चितवनको मनोबल उच्च छ। चितवनको टिमको कम्बिनेसन पनि राम्रो देखिन्छ।

ब्याटिङमा अफगानी ओपनर मोहमद सहेजाद उच्च फर्ममा छन्। उनले चितवनले यसै सिजन खेलेको ६ मध्ये चार खेलमा ३० भन्दा बढी रन बनाएका छन्। त्यसैगरी भीम सार्की र राजेश पुलामी मगरले मिडल अर्डरमा राम्रो खेल देखाइरहेका छन्।

उता बलिङमा भने यो लिगमा सागर ढकालले चितवनका लागि हालसम्म १३ विकेट लिइसकेका छन्। अझ चितवनका कप्तान सोमपाल कामीको तीव्र गतिको बलिङको फर्म यो प्रतियोगितामा देखिएको छैन।

पोखरा भने यो लिगमा भोगेको दुई हारको बदला लिँदै चितवनलाई हराएर पहिलो पटक ईपीएल उपाधि उचाल्ने दाउमा छ। पोखराका कप्तान बिनोद भण्डारी भन्छन्,“लिगमा हाम्रो प्रदर्शन कस्तो भयो, त्यो बारेमा हामीले धेरै सोचेका छैनौँ। फाइनलमा पुग्ने दुवै टिम राम्रा छन्। अघिल्ला नतिजाको अब मतलब छैन। अब फाइनलमा जसले राम्रो खेल्छ, उपाधि जित्छ।”

पोखराको पनि ब्याटिङ लाइनअप राम्रै छ। ब्याटिङमा विशेषगरी बिदेशी ब्याट्सम्यानको बाहुल्यता छ। दक्षिण अफ्रिकी ओपनर रिचार्ड लेभी तथा श्रीलङ्काका दुई ब्याट्सम्यान साहन आराच्चिगे र असेला गुनरत्नेले राम्रो ब्याटिङ गरिरहेका छन्। यी तीन र फर्ममा रहेका अर्का नेपाली ब्याट्सम्यान विवेक यादव मध्ये दुई जना मात्र चलेमा पनि फाइनलमा चितवनलाई समस्यामा पार्न सक्छन्।

तर कप्तान बिनोद भण्डारीको ब्याटिङको खराब फर्म भने पोखराको लागि टाउको दुखाइको विषय बनेको छ। पोखराको मुख्य समस्या बलिङमा छ, जहाँ टिममा हालसम्म गेम चेन्जिङ बलिङ प्रदर्शन कुनै पनि बलरले गर्न सकेका छैनन्।

चितवन लिग चरणको खेलमा मात्र भैरहवा ग्लाडियटर्ससँग ६ विकेटले पराजित भएको थियो। लिगका बाँकी चार खेल जित्ने क्रममा भने चितवनले पोखरालाई नौ विकेट, विराटनगरलाई दुई विकेट, काठमाडौंलाई तीन विकेट र ललितपुरलाई पाँच विकेटले पराजित गरेको थियो।

उता पोखराले भने लिगमा तीन खेल जित्ने क्रममा ललितपुरलाई नौ विकेटले, विराटनगरलाई सात विकेट, काठमाडौंलाई डकवर्थ लुईस नियमका आधारमा १४ रनले हराएको थियो।

हाल नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा स्थापित ईपीएलको सन् २०१६ को पहिलो संस्करणमा भने कर्पोरेट हाउसको नाउँमा प्रतियोगितामा सहभागी हुने टिमको नामाकरण गरिएको थियो। यसपछि सन् २०१७ मा कर्पोरेट हाउसका सट्टा प्रमुख शहरको नाउँमा आधारित रहेर दास्रो संस्करणको ईपीएल टिमको घोषणा भएको थियो।

सन् २०१७ को ईपीएलमा चितवन टाइगर्सले लिगको पुच्छारमा रहँदै खेल सकेको थियो। लिग चरणका पाँच खेलमा मात्र एक खेल जितेको चितवनले दुई अङ्क जोड्दै खराब नतिजा छाडेको थियो।

उक्त लिगमा चितवन पोखरा राइनोजसँग १० विकेट र विराटनगर वारियर्ससँग ७१ रनको भारी अन्तरले पराजित भएको थियो। त्यसैगरी भैरहवा ग्लाडियटर्ससँग चार विकेट र काठमाडौं किङ्गस ११ सँग तीन विकेटले पराजित चितवनले एक मात्र खेल जित्ने क्रममा ललितपुर प्याट्रोयट्सलाई भने पाँच विकेटले हराएको थियो।

पछिल्लो ईपीएलमा चितवन एलिमिनेटरसम्म पुगेपनि माथिल्लो चरणमा भने उक्लन सकेन। एलिमिनेटरमा चितवनलाई भैरहवाले चार विकेटले हराएको थियो। सन् २०१८ को लिगमा पाँच खेल मध्ये दुई खेल जित्ने क्रममा चितवनले पोखरालाई सात विकेट र विराटनगरलाई पाँच रनले पाखा लगाएको थियो। तर चितवन ललितपुरसँग ११ रन, काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित भएको थियो।

उता पोखराले भने सन् २०१७ को दोस्रो ईपीएलमा एलिमिनेटरसम्मको यात्रा तय गरेको थियो। तर एलिमिनेटरमा पोखरा ललितपुरसँग २७ रनले पराजित भयो। यसअघि लिगमा पाँच खेल मध्ये दुई खेल जित्दै पोखराले शीर्ष चारभित्र स्थान सुरक्षित गरेको थियो।

लिगमा काठमाडौंलाई ६ विकेट र चितवनलाई १० विकेटले हराएको पोखराले विराटनगरसँग तीन विकेट, भैरहवासँग सात विकेट र ललितपुरसँग ६ विकेटको हार भोगेको थियो।

यसपछि सन् २०१८ को गत संस्करणको लिगमा भने पोखराले एक खेल पनि जित्न सकेन। लिगको पाँच खेलमा पाँचवटै खेल गुमाएको पोखरा लिगको अन्तिम स्थानमा रह्यो। भैरहवासँग चार विकेट र ललितपुरसँग आठ विकेटको हार भोगेको पोखरा लिगमा काठमाडौंसँग पाँच विकेट र चितवनसँग पनि सात विकेटले नै पराजित भएको थियो। त्यसैगरी कुल ८४ रनमा पनि बराबर भएको लिगको अर्को खेलमा भने पोखरा विराटनगरसँग सुपर ओभरमा पराजित भएको थियो।

यी दुई बीचको हेड टू हेड हेर्दा चितवन ३–१ ले अगाडि छ। सन् २०१७ को दोस्रो संस्करणको लिग खेलमा पोखरा विजयी भएको थियो भने सन् २०१८ को एक खेल र यो संस्करणको दुवै भिडन्तमा चितवनले पोखरालाई हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved