घटेको छैन कोभिड त्रास, उस्तै छ संक्रमणदर

दशैं शुरु भइसक्यो तर पोहोरको तुलनामा यसपाली कोभिड महामारीको त्रास घटेको छैन। सावधानी नअपनाए दशैं मनाउँदै गर्दा संक्रमणदर ह्वात्तै बढ्नसक्छ।

घटेको छैन कोभिड त्रास, उस्तै छ संक्रमणदर
फाइल तस्वीर ।

काठमाडौं। दशैं लाग्यो। अधिकांश नेपालीका लागि घर फर्किने चाड हो यो। ११ असोजदेखि नै देशकै ठूलो भनिने गोंगबु बसपार्कमा घर फर्किने बस टिकट लाग्न थालेको थियो। यद्यपि यो लाम भयमुक्त भने छैन।

०७६ माघदेखि नेपालमा पनि फैलिन थालेको कोभिड महामारी अहिलेसम्म पनि कायमै छ। अघिल्लो वर्षको दशैं संक्रमणका माझ मनाउँदै गर्दा धेरैलाई लागेको थियो, अर्को साल यो त्रासमुक्त भएर मनाइनेछ। त्यसैले धेरै शहरबासी गाउँ फर्किएका थिएनन्।

वर्ष फेरियो तर महामारीको त्रास घटेको छैन। कोभिड खोपको आविष्कार र वितरण भए पनि महामारी भने घटिसकेको छैन।

हामीले अघिल्लो वर्ष र यसवर्षको दशैंताकाको महामारीको स्थितिको तुलना यहाँ गरेका छौं। अघिल्लो वर्ष १० कात्तिकमा दशैंको टीका थियो भने यसपालि २९ असोजमै परेको छ।

उस्तै छ संक्रमणदर

अघिल्लो वर्षको भदौदेखि कात्तिकसम्मको र यस वर्षको साउनदेखि असोजसम्म (दशैंसम्मका तीन महीना)को संक्रमण दरको अवस्था तुलना गर्दा पोहोरभन्दा बढी संक्रमण र बढी नै मृत्युदर देखिन्छ (हेर्नुहोस्ः तालिका)।

अघिल्लो वर्ष दशैंभन्दा दुई महीनाअघि भदौमा परीक्षण गरिएका सय जनामध्ये करीब ९ जना संक्रमित थिए। संक्रमित भएका सय जनामध्ये ०.८६ प्रतिशतको मात्र निधन भएको थियो। अर्थात् दुई सय जना संक्रमित हुँदा एक जनाको निधन भएको थियो।

यो वर्ष दशैंभन्दा दुई महीनाअघि साउनमा परीक्षण गरिएका सय जनामध्ये २४ जना संक्रमित थिए। संक्रमित भएका सय जनामध्ये ०.७५ प्रतिशतको निधन भएको थियो। अर्थात् दुई सय जना संक्रमित हुँदा एकजनाको निधन भएको थियो।

तर दशैंको एक महीनाअघिको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमित हुने र निधन हुनेको संख्या बढी छ।

अघिल्लो वर्ष दशैंको एक महीनाअघि असोजमा परीक्षण गरिएका सय जनामध्ये करीब १८ जना संक्रमित थिए। संक्रमित सय जनामध्ये ०.४९ को निधन भएको थियो। अर्थात् दुई सय जनामध्ये एक जनाको निधन भएको थियो।

यस वर्ष दशैंको एक महीनाअघि भदौमा परीक्षण गरिएका सय जनामध्ये करीब १४ जना संक्रमित छन्। संक्रमित सय जनामध्ये १.१३ को निधन भएको छ। अर्थात् दुई सय जनामध्ये दुई जनाको निधन भएको छ।

यस्तो किन भयो त ? कारण हो, कोभिडको दोस्रो लहर। वैशाखदेखि साउनसम्म उच्च विन्दुमा पुगेको कोभिड महामारीको दोस्रो लहरमा संक्रमित र मृत्यु हुने संख्या मात्र बढेन महामारी गाउँ–गाउँसम्म पुग्यो।

“पोहोर समुदायस्तरमा कोभिड फैलिसकेको थिएन। यसपाली दोस्रो लहरपछि (वैशाखदेखि साउनसम्म) कोभिड समुदायस्तरमा फैलियो”, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्।

डा. अधिकारीका अनुसार पोहोर साल दशैं मनाउँदासम्म सक्रिय संक्रमित नै नभएका केही जिल्ला थिए। तर यसपालि सबै जिल्लामा सक्रिय संक्रमित छन्।

बढ्न सक्छ संक्रमण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘‘हामी अझै महामारीकै बीचमा छौँ। जोखिममुक्त भइसकेको अवस्था छैन। चाडपर्व नजिकिँदै छन्, स्वास्थ्य मापदण्ड पालना नगरेर जथाभावी रूपमा निस्कियो भने संक्रमणदर ह्वात्तै बढ्न सक्छ।”

त्यस्तै जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी ९० प्रतिशत भन्दा बढीले खोप नलगाउँदासम्म संक्रमणको जोखिम नघट्ने बताउँछन्। त्यसैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने उनको सुझाव छ।

‘‘हिन्दुहरूको महान पर्व विजया दशमी नजिकिँदै छ”, डा. मरासिनी भन्छन्, ‘‘गत वर्षको दशैंमा संक्रमणदर निकै बढी नै थियो गत वर्षको तुलनामा यो वर्ष केही कम भएको जस्तो देखिएको छ तर संक्रमण गाउँ–गाउँसम्म पुगेकाले परीक्षण कम भएपछि संक्रमितको संख्यामा कमी आएको हो।”

उनले दशैंमा यात्रा गर्दा र टिका लगाउँदा स्वास्थ्य मापदण्ड कायम राख्न सुझाव दिए।

खोपको पहुँच

संक्रमित हुने र निधन हुनेको संख्या उस्तै भए पनि यस वर्ष दशैं मनाउँदै गर्दा आशाको सानो किरण भने छ। त्यो हो– कोभिड खोप।

२०७७ माघको दोस्रो साताबाट नेपालमा कोभिडविरुद्ध खोप दिइन शुरु गरेको थियो। २० असोजसम्म ६४ लाख १९ हजार ४८० (लक्षिण जनसंख्याको २९.५ प्रतिशत) ले पूर्ण खोप लगाइसकेका छन्। पहिलो मात्रा खोप लगाउनेको संख्या ७९ लाख ६२ हजार ६४७ (लक्षित ३६.६ प्रतिशत) रहेको छ। अर्थात्, १८ वर्ष उमेर पुगेका सय जना मध्ये २९ जनाले दुवै डोज खोप र करीब ३७ जनाले एक डोज भए पनि खोप लगाएका छन्।

नेपालले विभिन्न देशहरूसँग अनुदान र खरिद गरेर हालसम्म एक करोड ७८ लाख ५८ हजारभन्दा बढी डोज खोप ल्याइसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

त्यसमध्ये भेरोसेल एक करोड १९ लाख डोज, कोभिसिल्ड २४ लाख ४८ हजार, अस्ट्राजेनेका १९ लाख ७५ हजार ८ ३० र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० डोज ल्याइएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved