घाउ निको पार्न बलिको रगत टेक्थेँ

दशैं नमनाए पनि उराव समुदायका आफ्नै पर्व छन्। हाम्रो समुदायमा करम पूजालाई महत्त्वपूर्ण पर्वको रूपमा लिइन्छ। यो पर्व भदौ पूर्णिमामा शुरु हुन्छ। यसको पूजाआजा भने स्थानअनुसार फरकफरक तरिकाले गर्ने गरिन्छ।

घाउ निको पार्न बलिको रगत टेक्थेँ

सुनसरीको इनरुवामा संयुक्त परिवारमा जन्मिएँ म। हाम्रो गाउँमा उराव, ठाकुर, थारु, साहु र मुश्लिम लगायतका मानिसहरू बसोबास गर्छन्।

उराव समुदायमा दशैं मनाउने प्रचलन छैन। बालापनमा मलाई पहाडी समुदायका मानिसले मात्र धुमधामले दशैं मनाउँछन् भन्ने लाग्थ्यो।

अहिले उराव समुदायका केही व्यक्तिहरूले देखासिकी गरी जमरा राख्ने, टीका लगाउने गर्छन्। घटस्थापनाको दिन कलश राख्ने जमरा राख्ने गरेको पाइन्छ। दशैंको समयमा हाम्रोतिर मेला लाग्थ्यो। मेला हेर्न जान्थ्यौं।

दशैंमा उराव समुदायमा घरको खम्बाहरूमा कालो कोइला र चुना मिलाएर तीन वा पाँच ओटा आँखा बनाउने गरिन्छ। यस्तो गर्दा नराम्रो दृष्टिबाट जोगिन्छ भन्ने मान्यता छ। त्यस्तै, दशैंमा हजुरआमाले हाम्रो अनुहार, खुट्टामा तेल र आँखामा गाजल लगाइदिनुहुन्थ्यो। अहिले पनि दशैंको समयमा बालबालिकालाई तेल र गाजल लगाइदिने चलन यथावत नै रहेको छ।

दशैंको समयमा हाम्रोतिर मेला लाग्थ्यो। मेला हेर्न जान्थ्यौं। घरबाट मेला हेर्न जाँदा साइकलमा आधा घण्टा लाग्थ्यो। हिँड्दै जाँदा लगभग डेढ घण्टा लाग्थ्यो। सानो हुँदादेखि नै बाबा आमाले मेलामा लिएर जानुहुन्थ्यो। एकपटक त फुपुका तीनजना छोरीसहित हामी चार जना मेला हेर्न गएका थियौँ। साइकलमा बाँसको भाटा बाँधेर पछाडि तीन जना र अगाडि साइकलको डण्डीमा एक जना राखेर बाबाले हामीलाई मेलामा लैजानुभएको थियो।

मेलामा विभिन्न परिकारहरू किनेर हामीलाई एक ठाउँमा राखिदिनुहुन्थ्यो। त्यही खाँदै मेला नियालेर साँझ घर फर्कन्थ्यौं। घर फर्कंदा माटोले बनेका विभिन्न भाँडाकुँडा लिएर आउथ्यौँ।

दशैं नमनाउने भएकाले होला टीका जमरा लगाउनेमा भन्दा पनि मेला हेर्न मात्र हाम्रो ध्यान जान्थ्यो।

दशैंको समयमा स्कुल बिदा हुन्थ्यो। सरकारी स्कुलमा धेरै गृहकार्य दिनुहुँदैनथ्यो। केहि दिनमा नै गृहकार्य सकिन्थ्यो। घरको काम सघाउने, साथीहरूसँग खेल्ने, घुम्न जाने गरेरै दशैं बिदा सकिन्थ्यो। दशैं बिदामा हामी घर नजिकैको माछा, गंगटा, घुंगी मार्न जाने गर्थ्यौं।

दशैंसँग जोडिएको एउटा रमाइलो सम्झना छ। सानो छँदा मेरो पैतालामा निकै घाउ आउने गर्थ्यो। खेतबारीमा काम नगर्ने समयमा पनि पैतालामा घाउ हुन्थ्यो। दशैंमा बली चढाएको ठाउँमा गएर रगतमा टेकेर फर्केर नहेरी सिधै आए घाउ निको हुन्छ भन्ने विश्वास थियो। मलाई हजुरआमाले त्यसै गर्न लगाउनुभयो। तीन कक्षामा पढ्दा पहिलोपटक नवमीको दिन बली चढाउने ठाउँमा गएँ। त्यहाँ पुग्न एकदमै भीड छिचोलेर जानुपर्थ्यो। शुरुमा रगतमा टेक्न निकै डर लागेको थियो। तर घाउ सञ्चो हुन्छ भनेर टेकेर आएँ। दुई वर्षसम्म त्यसरी रगतमा टेकेको थिएँ। सात वर्षजति भयो पैतालाको समस्या निको भएको। काठमाडौं आएपछि सञ्चो भएको हो।

काठमाडौं आएपछि मात्र मैले दशैं मनाउने तरिका थाहा पाएकी हुँ। नाटक खेल्न थालेपछि नाटकघरका साथीहरूले दशैं मनाउन घरमा बोलाउनुहुन्छ। दशैंको बारेमा थाहा पाएपछि भने यो पर्व पनि स्पेशल लाग्न थालेको छ।

करम पूजा

दशैं नमनाए पनि उराव समुदायका आफ्नै पर्व छन्। हाम्रो समुदायमा करम पूजालाई महत्त्वपूर्ण पर्वको रूपमा लिइन्छ। यो पर्व भदौ पूर्णिमामा शुरु हुन्छ। यसको पूजाआजा भने स्थानअनुसार फरकफरक तरिकाले गर्ने गरिन्छ।

करम पूजा प्रकृतिको पूजा हो। रोपाइ सकेपछि उत्सव मनाउने माध्यम हो यो। आफ्नो कर्मलाई विश्वास मानेर यो पूजा गर्ने गरिन्छ। यो मूर्ति पूजा नभई प्रकृतिको पूजा हो।

करम भनेको एउटा रुख हो। रुखको हाँगा काटेर ल्याएर पूजा गरिन्छ। यो पूजा दुई दिनको हुन्छ। दुई जना कुमार केटा र तीन जना कुमारी केटी गरी पाँच जना व्रत बस्छन्। साँझपख पूजा छ भने दिनभरी व्रत बसिन्छ। करम गाडेपछि खानपिन गरिन्छ। भोलीपल्ट जितिया करम हुन्छ।

यसपाली प्रदेश १ मा भदौ पूर्णिमाको दिन उरावहरूको महान पर्व भनेर सार्वजनिक बिदा दिइएको थियो। आफ्नो पर्वलाई प्राथामिकता दिई बिदा पाउँदा निकै खुशी लाग्यो।  यसरी सार्वजानिक बिदा घोषणा गर्दा हाम्रो जातीमा पनि यस्तो पर्व मनाइन्छ भनेर सबैले जानकारी पाउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved