‘नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेटफर्म दुवै’

नेपालभ्युज

‘नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेटफर्म दुवै’

काठमाडौँ। नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेटफर्म दुवै भएको चलचित्रकर्मीहरूले बताएका छन्। कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरूले उक्त कुरा बताएका हुन्।

अब बजार भनेकै डिजिटल प्रणाली हो भनी अफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्योल रहेको बताए। चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धी जागरुकता कम रहेको र यसलाई क्रमश: प्रविधिमैत्री बनाउनपर्ने निर्देशक पण्डितले बताए। अबको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्ने र स्वतन्त्र बजार डिजिटल प्रविधिमा मात्रै सम्भव भएको तर्क उनको थियो। निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनु पर्ने भनाइ उनको थियो।

निर्देशक पण्डितले डिजिटल प्रविधिमा चलचित्र प्रर्दशन गर्दा पारदर्शिताको प्रश्न उठाउँदा डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिस होम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्ब रुपैयाँ कर तिरेको दाबी गरे। उनले डिजिटल प्रविधि विकासको एकदमै प्ररम्भिक चरणमा रहेकाले अहिले पनि हल चलचित्रको पहिलो बजार भएको बताएको छन्। उनले ठूलो लगानी हुने भएकाले आफूले योजनाबद्ध तरीकाले काम गर्दैै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने कुरामा विश्वस्त रहेको बताए।

कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई सँगसँगै लैजानुपर्ने बताए। बजार जति विस्तार भयो त्यति नै निर्माता सुरक्षित हुने बताउँदै उनले अब चलचित्रसँगै हल र डिजिटल प्लेटर्फलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए।

असोज २६ गतेबाट आफ्नो नयाँ चलचित्र ‘डाँडाको वरपिपल’ हलमा रिलिज गर्न लागेका निर्देशक सोभित बस्नेतले हल संचालनमा आएकाले दर्शक आए नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफू फिल्म प्रदर्शन गर्न तयार भएको बताए। ‘‘कसै न कसैले त जोखिम मोल्नु नै थियो, म तयार भएँ,’’ उनले भने। डिजिटल प्रणालीले नेपाली चलचित्रको बजारलाई विस्तार गरेकाले आफू डिजिटल प्रणालीमा पनि जान लागेको जानकारी उनले दिए।

नेपाली चलचित्र हलमा प्रदर्शन गरे बजार चलायमान हुने भनाइ उनको थियो। पहिलो प्राथमिकतामा हल र दोस्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटर्फमबाट लगानी उठाउन पनि कठिन हुने दाबी उनले गरे।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित बहस कार्यक्रममा नेपाली चलचित्रलाई अब डिजिटल प्रविधिबाट अगाडि बढाइनुपर्नेमा जोड दिइएको थियो। जुममार्फत संचालित कार्यक्रमका सहजीकरण नेपाल चलचित्र तथा संस्कृति प्रतिष्ठानका महासचिव तथा चलचित्र निर्देशक यादव कुमार भट्टराईले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved