मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ दिउँसो ४ बजे!

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित नौ, नेकपा माओवादी केन्द्रले पाँच, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले चार-चार मन्त्रालय लिने गरी सहमति भएको बताइएको छ।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ दिउँसो ४ बजे!
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। पटकपटक भाका सर्दै आएकामा सत्ता गठबन्धनभित्र सहमति भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिएको झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। पाँच दलीय सत्ता गठबन्धनमा कैयौँ जटिलता देखिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको हो ।

यसअघि, हिजो बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि सत्तारुढ दलहरूले पटकपटकको भाका सार्दै आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने दाबी गरेका छन्।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लगाएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार आज बिहान १२ बजे मन्त्रिपरिषद् विस्तार गरी दिउँसो ४ बजे शपथ गराउने गठबन्धनमा सहमति भएको छ।

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित नौ, नेकपा माओवादी केन्द्रले पाँच, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले चार-चार मन्त्रालय लिने गरी सहमति भएको बताइएको छ।

गृह, कानुन, परराष्ट्रमन्त्री नियुक्त गरिसकेको कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय राखेको छ।

नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ। बाँकी मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ।

एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ। यसअघि उसले पाँच मन्त्रालय पाउनै पर्ने दाबी गरेको थियो।

एकीकृत समाजवादीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिएर चार मन्त्रालयमा चित्त बुझाइदिएको गठबन्धनका नेताहरु बताउँछन्। साथै २ राज्यमन्त्री पनि दिने सहमति छ।

यस्तै, जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved