खसी काट्न दिएनौँ

फुलपातीको दिन हजुरबुबाले कपडा दिने भएकाले हामी त्यस दिनको प्रतिक्षामा बस्थ्यौँ। त्यो प्रतिक्षा निकै रोमाञ्चकारी हुन्थ्यो। अहिले त त्यस्तो रोमाञ्च, उल्लास कहाँ छ र ?

खसी काट्न दिएनौँ

मेरो बालापन कालिम्पोङ र काठमाडौंमा आधाआधा बित्यो। ठुलोबुबा धर्मभक्त माथेमालाई फाँसी दिइएपछि हामी देश छोडेर भारतको कालिम्पोङमा बसेका थियौँ। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मात्र नेपाल फर्किएका हौं। नेपाल फर्किदा म करीब नौ वर्षको थिएँ।

कालिम्पोङमा दशैमा पिङ थाप्ने गरिन्थ्यो। पिङमा मच्चिनुको मज्जा फरक छ। हाम्रो घर अगाडिको चौरमा पिङ हुन्थ्यो नजिकका सबै बालबालिका लगायत वृद्ध उमेरका पनि पिङ खेल्न आउँथे। कहिलेकाहि त पिङ खेल्न हानथाप नै पर्थ्यो।

त्यतिबेला काठमाडौं आउन बसको सुविधा थिएन। कालिम्पोङबाट सिलिगुडीसम्म बसमा र त्यहाँबाट कटियारसम्म रेलमा आएका थियौँ। त्यसपछि भिमफेदि हुँदै चन्द्रागिरीको पहाड चढेर काठमाडौं प्रवेश गरेका थियौँ। त्यतिबेला म बालक नै भएकाले अरूको बुई चढेरै काठमाडौं आइपुगेको थिएँ।

मलाई अहिले पनि स्मरण छ हामी आउने बेलामा भिमफेदिमा ३० भन्दा बढी मानिसले बस बोकेर ल्याउँदै थिए। त्यो दृश्य देखेर म अचम्भित भएको थिएँ। त्यो बस काठमाडौं ल्याउन लागिएको रहेछ। त्यसबेला काठमाडौंमा मात्र सडक भएका कारण बोकेर ल्याइएको रहेछ।

काठमाडौं आएपछि दशैंमा एकदमै काटमार भएको पाएँ। कालिम्पोङमा दशैंमा काटमार एकदमै कम हुन्यो। काठमाडौंमा देवीस्थल पनि धेरै भएकाले होला अष्टमी र नवमीमा काटमार हुन्थ्यो। कालिम्पोङको तुलनामा यता दशैंमा टिकाटाला पनि धेरै हुन्थ्यो।

म काठमाडौमा आउँदा अहिलेको जस्तो भिडभाड थिएन। राणा र शाह बाहेक आम नागरिकमा गरिब र धनी बिचकोे खाडल कम मात्रामा थियो। सबै मानिसहरूको आर्थिक अवस्था लगभग उस्तै थियो।

आर्थिक अवस्था कमजोर भए पनि थोरै पैसामा धेरै सामान पाइने भएकाले दशैंमा सबैजसो परिवारमा खुशियाली हुन्थ्यो।

त्यतिबेला अहिलेजस्तो रेडिमेड कपडा पाइँदैनथ्यो। त्यसैले एक महीना अगाडिदेखि नै दशैंको तयारी गर्नुपथ्र्यो। हजुरबुबा एक महिनादेखि दशैको तयारीमा जुट्नुहुन्थ्यो। परिवारका सबै सदस्यका लागी कपडा किनेर सुजिकारलाई सिलाउन दिने, च्याङ्ग्रा, खसि र हाँस लगायत सबै थोकको व्यवस्थापन गर्नुहुन्थ्यो।

फुलपातीको दिनमा सबैलाई पालैपालो बोलाएर कपडाको चाङ हातमा थमाइदिनुहुन्थ्यो। हरेकलाई दुई जोर कपडा हुन्थ्यो। दशैमा एकैपटक दुई जोर कपडा पाउँदा उत्साहित भएर नाच्थ्यौँ। बुबामुमालाई दुःख दिन नचाहने बालबालिकाले टालटुल पारेर एक वर्षसम्म त्यहिँ कपडा लगाउथ्यौँ।

दशैंमा हामीलाई सिलाइएको कट्टु (हाफपाइन्ट) दिइन्थ्यो। त्यतिबेला पाइन्ट लगाउनु नौलो विषय थियो। नौ कक्षामा पढ्दा पहिलोपटक पाइन्ट लगाउन पाएको थिएँ।

फुलपातीको दिन हजुरबुबाले कपडा दिने भएकाले हामी त्यस दिनको प्रतिक्षामा बस्थ्यौँ। त्यो प्रतिक्षा निकै रोमाञ्चकारी हुन्थ्यो। अहिले त त्यस्तो रोमाञ्च, उल्लास कहाँ छ र ?

त्यतिबेला जुत्ता लगाउन पाउनु भनेको धेरै ठुलो बिषय थियो। कालिम्पोङमा चिनियाँ नागरिकहरूले जुत्ता बनाएर दिन्थे। काठमाडौंमा आएपछि मोचिले बनाइदिन्थे। केहि समयपछि भारतबाट जुत्ता आयात हुन थाल्यो। म बच्चा छँदा रेडिमेड पाइने भनेकै जुत्ता–मोजा थियो।

मौसमको हिसाबले पनि दशै एकदमै रमाइलो पर्व लाग्थ्यो। खेतमा धानका बाला झुलिरहेका हुन्थे। हामी चङ्गा लिएर उडाउन जान्थ्यौ। धागोमा माझा लगाएर अरूको  चङ्गा  काटेर ‘चट मण्डली’ भनेर खुशी हुँदै उफ्रिन्थ्यौ। आफुले अरूको चङगा काट्दा खुशीको सीमा नै हुँदैनथ्यो। चङ्गा झरेपछि लिन जान्थ्यौँ। कहिलेकाहिँ चङ्गा धान खेतमा खस्थ्यो। पाकेको धान खेतमा चङ्गा खोज्न जाँदा खेतधनिको गालि कैयौं पटक खाएका छौं। एक पटक त लखेटेका पनि छन्। आफ्नो चङगा काट्दा चाहिँ मुख लटकाएर घर जान्थ्यौँ। त्यतिबेला दशैंमा पटका पनि पड्काउने प्रचलन थियो।

त्यतिबेला दशैंको महत्त्व मासुसँग पनि जोडिएको थियो। अहिलेको जस्तो फ्रिजमा राखेर दैनिक मासु खाने चलन थिएन। धेरैजसो मानिसहरू दशैंमा मात्र मासु खान्थे। हाम्रो घरमा च्याङ्ग्रा, खसी र हाँस काट्नुहुन्थ्यो। एकैपटक धेरै मासु भएपछि केको मासुको कुन परिकार खाने भनेर छलफल हुन्थ्यो।

बाल्यकालको एउटा प्रसंग कहिल्यै बिर्सिन्नँ। एकपटकको दशैंमा घरमा नै पालेको खसी काट्न लागिएको थियो। आफ्नै परिवारको सदस्य जसरी पालेको खसी काटेर खान हाम्रो मनले मानिरहेको थिएन। त्यसैले परिवारका सबै बालबालिका रोएर त्यो खसी काट्न दिएनौं।

विजया दशमीको दिनमा नयाँ कपडा लगाएर बुबा, मुमा, हजुरबुबा, हजुरमुमाबाट टिका र आशीर्वाद थाप्न पाउँदा निकै खुशी लाग्थ्यो। अझै टिका लगाएर दक्षिणा पाउँदा झन् खुशी हुन्थ्यौँ। छोराहरूलाई दक्षिणा दिने प्रचलन नभए पनि बच्चा भनेर हाम्रो हातमा पैसा थमाईदिँदा दिदीबहिनीलाई पैसा देखाएर गिज्याउनुको मज्जा छुट्टै हुन्थ्यो। मामाघरमा जाँदा पैसा र विभिन्न परिकार खान पाउँदा मन फुरुङ्ग हुन्थ्यो। दशैँमा आफ्नो घरमा आउने आफन्तसँग कुराकानी गर्न पाउँदा साह्रै रमाइलो हुन्थ्यो।

स्कुलको छुट्टि, चङगा उडाउनुको मज्जा, नयाँ कपडा उपहारमा पाउनु, टिका लगाएर आशीर्वाद र पैसा पाउने, साथीसँग बिहान देखि साझँसम्म खेल्न पाउने यि सबै कुराले बाल्यकालको दशैंको रौनक भरेका हुन्थे।

अहिले बुढ्यौली लागेर होला ‘आहा दशैं आयो’ भन्ने लाग्दैन। ‘ए दशैं आयो तयारी गर’ भनेर सन्ततीलाई अह्राइसिकाइ गर्ने मात्र हुन्छ।

(शिक्षाविद्, पूर्व उपकुलपति एवं पूर्व राजदूत माथेमासँग भागिरथी पण्डितले गरेको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved