बेइजिङ डायरी

चीनमा सापटी बिदा : अनौठो प्रणाली

अन्यन्त्र ‘बिदा अधिकार होइन सुबिधा हो’ भनिए पनि चीनमा चाहिँ बिदालाई अर्थतन्त्रको चालक मानिन्छ।

चीनमा सापटी बिदा : अनौठो प्रणाली

नेपालमा दशैँ बिदा शुरु हुनै लाग्दा चीनमा अक्टोबर एक तारिख मनाइने राष्ट्रिय दिवसको बिदा सकिएको छ। एक साता लामो यो बिदालाई चीनमा सुनौलो सप्ताह भनिन्छ। बिदालाई घुमफिर गर्ने अवसरका रुपमा लिन्छन् चिनियाँहरू। लामा सार्वजनिक बिदाले चिनियाँ अर्थतन्त्रलाई चलायनमान बनाउने भएकाले देशको आर्थिकबृद्धिसँग पनि यी बिदा जोडिएका हुन्छन्।

शनिबार र आइतबार बाहेक चीनमा वर्षमा जम्मा ११ दिन मात्र सार्वजनिक बिदा हुन्छन्। वर्षमा तीनपटक सुनौलो सप्ताह मनाउने चीनमा जम्मा ११ दिन मात्र बिदा हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ। तर यो सत्य हो। बिदालाई लामो बनाउनका लागि चीनमा सापटी बिदा दिने चलन छ। यस्तो सापटी बिदा कुनै कर्मचारी केन्द्रित नभएर समस्त चीनभरि लागू हुने गरेको छ।

सन् १९४९ अक्टोबर १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको नेतृत्वमा जनगणतन्त्र चीन स्थापना भएको हो। चिनियाँहरू जनगणतन्त्र चीनलाई नयाँ चीन पनि भन्छन्। सीपीसीका अध्यक्ष माओ चतोङले बेइजिङको केन्द्रभागमा रहेको थिआन आनमन क्षेत्रको उत्तरमा रहेको फर्बिडन सिटी दरवारको प्राङ्गणबाट सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र चीन घोषणा गरेका थिए। त्यसपछि हरेक वर्ष चीनले अक्टोबर १ तारिखलाई राष्ट्रिय दिवस मनाउन थालेको हो।

राष्ट्रिय दिवसका अवसरमा गत अक्टोबर १ तारिख शुक्रबार (असोज १५ गते) बाट शुरु भएको सुनौलो सप्ताहको बिदा अक्टोबर ७ तारिख बिहीबार (असोज २१ गते) सम्म जारी रहेको छ। राष्ट्रिय दिवसका अवसरमा चीनमा तीन दिन सार्वजनिक विदा दिइन्छ। तीन दिनको बिदा भए पनि थप दुई दिन सापटी लिएर सात दिनको (बीचमा शनिबार र आइतबार पनि जोडेर) बनाइएको हो।

चीनमा राष्ट्रिय दिवस र परम्परागत चिनियाँ नयाँ वर्षमा तीन/तीन दिन बिदा हुने गर्छ। यी तीन दिन बिदाभित्र शनिबार र आइतबार पर्‍यो भने त्यो गणना हुँदैन। त्यसभन्दा बाहेककै ३ दिन बिदा दिइन्छ। अनि त्यसमा पनि बिदा हुनुभन्दा अगाडिको आइतबार र बिदा सकिएपछिको शनिबारको बिदा पनि सापटी लिएर तीन दिनको बिदामा थपिन्छ।

यसलाई अझै यसरी प्रष्ट्याउन सकिन्छ। यस पटकको राष्ट्रिय दिवस अर्थात् अक्टोबर १ तारिख शुक्रबार परेको थियो। त्यसभन्दा अगाडिको आइतबार अर्थात् सेप्टेम्बर २६ तारिख बिदा दिइएको थिएन। त्यसैगरी अब आउने शनिबार अर्थात् अक्टोबर ९ तारिख शनिबार पनि चीनमा बिदा छैन। सेप्टेम्बर २६ र अक्टोबर ९ तारिखको विदा सापटी लिएर राष्ट्रिय दिवसको विदामा जोडिएको हो।

अक्टोबर १ तारिख यसै बिदा हुने नै भयो। यो वर्ष अक्टोबर २ र ३ तारिख शनिबार र आइतबार परेकाले तीन दिनको बिदामा ती दुई दुई गणना भएनन्। बाँकी दुई दिन सोमबार र मंगलबारसम्म राष्ट्रिय दिवसको बिदा थियो। सेप्टेम्बर २६ तारिख आइतबार र अक्टोबर ९ तारिख शनिबारको सापटी बिदालाई बुधबार र बिहीबार सोधभर्ना गरिएको छ।

यस हिसाबले यसपटकको चिनियाँ राष्ट्रिय दिवसको बिदा अक्टोबर १ देखि ७ तारिखसम्म रह्यो। यही हिसाबले परम्परागत चिनियाँ नयाँ वर्षमा पनि अगाडिको आइतबार र पछाडिको शनिबार बिदा सापटी लिएर बिदालाई एक सातासम्म लम्बाइने गरिन्छ।

चीनमा दिइने वार्षिक सार्वजनिक बिदा शनिबार अथवा आइतबार परेमा त्यसको सट्टामा त्यसपछिको सोमबार बिदा दिइन्छ। सोमबारदेखि शुक्रबारसम्म हप्ताको सरदर ४० घण्टा काम गर्छन् चिनियाँहरू। सुनौलो सप्ताह अथवा अन्य एक दिनको बिदामा सापटी लिइएका बिदामा चिनियाँले सोधभर्नका रुपमा शनिबार अथवा आइतबार पनि काम गरेर फच्चे गर्नुपर्दछ। यसबाट जनतालाई दिइने सेवा सुबिधामा कटौति नहोस् र राष्ट्रिय सेवामा आँच नपुगोस् भनेर चीनले ध्यान दिएको देखिन्छ।

चीनमा दिइने सट्टा बिदा अथवा सापटी बिदाको गणना पनि निकै रोचक हुने गर्छ। अक्टोबरको राष्ट्रिय दिवस र जनवरीको मध्यदेखि फेब्रुअरीमा पर्ने परम्परागत चिनियाँ नयाँ वर्षको बिदा चीनमा सबैभन्दा लामो बिदा हुन्। परम्परागत चिनियाँ नयाँ वर्षलाई वसन्त चाड पनि भनिन्छ र यो चीनको सबैभन्दा ठूलो पर्व पनि हो। यी दुवै अवसरमा तीन/तीन दिनको बिदा दिइन्छ। तीन दिनमा सापटी बिदा दुई दिन जोडेर बिदालाई एक साता बनाएपछि सुनौलो सप्ताह भनिएको हो।

यसैगरी अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मे १ तारिख एक दिनको बिदामा दुई दिन सापटी लिएर पाँच दिन पुर्‍याउने गरिन्छ। राष्ट्रिय दिवस र वसन्त चाडको लामो बिदासँगै श्रमिक दिवसको बिदाको अवधिलाई पनि चीनमा सुनौलो सप्ताह अर्थात् ‘गोल्डेन विक’ भनिन्छ। सन् २००८ सम्म श्रमिक दिवसका अवसरमा चीनमा तीन दिनको बिदा दिइन्थ्यो।

चीनका अन्य पर्व बिदाहरू एक दिन मात्र हुने गर्छन्। यस्ता एक दिने पर्व बिदामा पुर्खा दिवस, ड्रागन डुङ्गा महोत्सव र मध्य शरद चाड हुन्। यी पर्वमा हुने एक दिनको बिदामा चाहिँ थप एक दिन सापटी लिएर लगातार तीन दिन बिदा दिने चलन छ। तर एक दिनको पर्व बिदा बुधबार पर्‍यो भने चाहिँ सापटी लिने चलन छैन। किनभने बुधबार एक दिनको बिदामा थप एक दिन सापटी लिँदा पनि लगातार दुई दिन मात्र बिदा हुने भएकाले नलिने परम्परा चलेको हो।

उदाहरणका लागि कुनै पर्व सोमबार परेमा शनिबारदेखि सोमबारसम्म लगातार तीन दिन बिदा हुन्छ। यस्तो बेला सापटी बिदा लिन आवश्यक पर्दैन। मंगलबार परेमा त्यस अगाडिको शनिबार अफिस लगाएर त्यसको सट्टामा सोमबार बिदा दिइन्छ। यसो गर्दा आइतबारदेखि मंगलबारसम्म तीन दिनको बिदा हुन्छ।

बिहीबार भएमा त्यसपछिको आइतबार अफिस लगाएर त्यसको सट्टामा शुक्रबार बिदा दिइन्छ र बिहीबारदेखि शनिबारसम्म तीन दिन लगातार बिदा बनाइन्छ। शुक्रबार पर्‍यो भने त्यसपछि शनिबार र आइतबार भएकाले सापटी नलिइकन तीन दिन बिदा हुने गर्छ। तर बुधबार परेचाहिँ एक दिन सापटी लिएर पनि तीन दिन लगातार बिदा नपुग्ने भएकाले सापटी लिइँदैन। त्यसकारण बुधबार परेको पर्व बिदालाई चीनमा ‘सिङ्गल डे होलिडे’ भनिन्छ।

चीनमा वर्षमा कति दिन सार्वजनिक बिदा हुन्छ भन्ने कुरालाई पनि सजिलै आकलन गर्न सकिन्छ। हरेक शनिबार र आइतबार चीनमा सार्वजनिक बिदा हुन्छन्। यसबाहेक परम्परागत चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडमा तीन दिन, पुर्खा दिवसमा एक दिन, श्रमिक दिवसमा एक दिन, ड्रागन डुंगा दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्ष अर्थात् जनवरी एक तारिख एक दिन गरी जम्मा ११ दिन चीनमा सार्वजनिक बिदा हुने गर्छ।

अब प्रश्न उठ्छ भएको बिदा मात्र नलिएर सापटी बिदा किन? आखिर त्यो थपिएको बिदाका सट्टामा फेरि शनिबार अथवा आइतबार काम गर्नै परेपछि सापटी बिदाको अर्थ के?

चीनमा सापटी बिदाको चलन सन् २०१४ देखि शुरु भएको हो। कर्मचालीलाई लागातार लामो बिदा दिएर चीनले आफ्ना नागरिकलाई विभिन्न ठाउँको भ्रमणमा प्रोत्साह गर्दछ। जन्म थलोबाट टाढा रहेकाले आफन्त भेट गर्न सकुन्, केही दिन भए पनि प्रियजनसँग समय बिताउन पाउन्, पर्यटकीय स्थलको भ्रमण गरेर मनोरञ्जन लिउन् भन्ने सरकारको मनोकांक्षा हो। अनि थपिएका बिदाको गहिरो सम्बन्ध चिनियाँ अर्थतन्त्रसँग जोडिएको छ।

चिनियाँ अर्थतन्त्रको मुख्य हिस्सा आन्तरिक उपभोक्तामा निर्भर छ। निकासी व्यापारमा निर्भर रहेको अर्थतन्त्रलाई चीनले बिस्तारै आन्तरिक उपभोक्तातिर सार्न थालेको छ। चीनमा ४० करोडभन्दा बढी सङ्ख्यामा मध्यम तथा उच्च आय भएका मानिस बस्छन्। सशक्त क्रय शक्ति भएका ती ४० करोड चिनियाँ बासिन्दाको खर्च नै चिनियाँ अर्थतन्त्रको मुख्य खम्बा हो।

अत्यन्त खर्चालु र घुमक्कड हुन्छन् चिनियाँहरू। भनिन्छ, चिनियाँहरूले वर्षभरिमा गर्ने खर्चको एक तिहाई त वसन्त चाडकै समयमा गर्दछन्। यसैगरी सुनौलो सप्ताहमा पनि घुमफिर गर्ने, महङ्गा रेष्टुरेन्टमा गएर खाने, विभिन्न उपभोगका सामग्री किन्ने गर्दछन्। जुन देशका नागरिकहरू जति खर्चालु हुन्छन् त्यो देशको अर्थतन्त्र त्यति नै चलायमान हुन्छ। अर्थतन्त्र चलायमान हुनु भनेको आर्थिक वृद्धि पनि हुनु हो। क्रय शक्ति बढेसँगै चिनियाँहरूले गर्ने खर्चले रोजगारी, पर्यटन व्यापार, स्थानीय उत्पादन, कर र आयमा वृद्धि हुने गर्छ।

चिनियाँ आन्तरिक बजार अर्थात् ‘डोमेस्टिक मार्केट’ यति सशक्त छ कि यसले चीनको कूल गार्हस्थ उत्पादनमा मुख्य खम्बाका रुपमा भरथेग गरेको छ। यही महत्व बुझेर नै चीनले दुई वर्ष अगाडिदेखि ‘डुअल सर्कुलेसन सिस्टम’ अँगालेको छ। डुअल सर्कुलेसन सिस्टम भनेको चिनियाँ उत्पादनलाई निकासी मात्र गर्ने होइन आन्तरिक बजारमा पनि खपत गराउने र चिनियाँहरूमा अझै खर्च गर्न प्रेरित गर्नु हो।

चीन विशाल मुलुक हो। चिनियाँहरू आफ्नो घरभन्दा निकै टाढा टाढा काम गर्न गएका हुन्छन्। एक अथवा दुई दिनको बिदामा आफ्नो घर फर्कन सम्भव हुँदैन। सापटी बिदा थपिएपछि उनीहरू आफ्नो घर फर्कन पाउँछन्। आफ्नो घरपायक काम गर्नेहरू चाहिँ घुम्न निस्कन्छन्। कोभिड महामारीकै समयमा पनि लाखौँ चिनियाँहरू घुम्न निस्किएका थुप्रै दृष्टान्त छन्।

बिदाको समयमा चिनियाँ सार्वजनिक यातायातमा रेलसेवा, हवाइ सेवा र बस सेवा लगायतमा उच्च चाप हुने गर्छ। यसबाहेक बिदामा सबैभन्दा राम्रो व्यवसाय गर्ने क्षेत्रमा होटल र रेष्टुरेन्ट हुन्। अनि पर्यटकीय पार्क र मनोरञ्जन व्यापार पनि उत्तिकै चम्किने गर्छन्।

चिनियाँ बिदामा अर्को अनौठो चलन पनि छ। जन्मघरभन्दा बाहिरी प्रान्तमा काम गर्ने कर्मचारीका लागि विवाहित र अबिबाहितका लागि फरक फरक बिदा प्रणाली लागू छ। अबिबाहितले वार्षिक २० दिनको बिदा पाउँछ भने बिबाहितले चार वर्षमा जम्मा २० दिन बिदा पाउँछ।

तर घर पायक जागिर खानेले यो सुबिधा पाउँदैनन्। अबिबाहितले आफ्ना बुबाआमालाई समय दिनुपर्छ भन्नका लागि यसो गरिएको हो। बिबाहितले पनि आमाबुबालाई समय दिनुपर्छ तर आफ्नो जोडीले पनि समय निकाल्ने भएकाले बिबाहितलाई अलिक सजिलो हुन्छ भन्ने ठानेर चार वर्षमा २० दिन बिदा दिइएको हो।

अन्यन्त्र ‘बिदा अधिकार होइन सुविधा हो’ भनिए पनि चीनमा चाहिँ बिदालाई अर्थतन्त्रको चालक मानिन्छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved