यात्रा संस्मरण : नेपालगन्जबाट मुगुको कार्मारोङसम्म (तस्वीरसहित)

यात्रा संस्मरण : नेपालगन्जबाट मुगुको कार्मारोङसम्म (तस्वीरसहित)

काठमाडौं । नेपालगन्जबाट कर्णालीको मुगु पुग्न धेरैले जहाज यात्रा रोज्छन्। हामीले पनि जहाजै रोज्यौं। उडानका लागि तोकिएको समय भन्दा एक-डेढ घण्टा अगावै नेपालगञ्जस्थित राँझा विमानस्थल पुग्यौं।

ताल्चा विमानस्थलको मौसम सफा नभएकाले करीब साढे तीन घण्टा ढिलो मात्रै सीता एयरको विमान उड्यो। गन्तव्य थियो- मुगुको कार्मारोङ गाउँपालिकाको पुलु।

कार्मारोङ गाउँपालिकाको स्थानीय अनुकूलन कार्ययोजना तयार गर्न साथीहरू केशव पौडेल, सुसन बानियाँ, विकेश थापाको टोली खटिएको हो। मैले र केशवले वातावरण तथा जलवायु परिवर्तन र सुसन र विकेशले कृषि तथा खाद्य सुरक्षाको पाटो नियाल्ने मौका पाएका छौं।

ताल्चाबाट गाडीमा गमगढी झर्न झण्डै एक घण्टा लाग्यो। त्यसैले हामी पहिलो दिन (असोज ८ गते) गमगढीमै बस्यौं। भोलिपल्ट सबेरै फोरह्विल गाडीले छायल चौर पुर्‍यायो। छायल चौर कार्मारोङ गाउँपालिकाको सानो व्यापारिक केन्द्र हो। यहाँबाट अघि बढ्न भने हिँड्नैपर्छ। गाडी र सडक सुविधा छैन। तर, बास बस्न ठाउँ–ठाउँमा होमस्टे सेवा छ। होमस्टेमा स्थानीय उत्पादन नै प्रयोग हुन्छ। शहरी स्वादले अतिक्रमण गर्न अझै भ्याएको छैन।

हिउँदमा गमगढीदेखि छायलसम्म नियमित गाडी चल्छन्।गमगढीबाट गमगाड खोला घाटहुँदै लुम्सा गाउँबाट करिब १६ किमि दूरीमा पर्छ छायल गाउँ। त्यहाँबाट भने मुगु कर्णालीको तिरैतिरै हुँदै माङ्ग्री गाउँ पुगिन्छ। सो गाउँको ठ्याक्कै पारिपट्टि देखिन्छ महगाउँ।

गमगाड खोला घाटबाटै मुगु कर्णालीले यात्रामा साथ दिन्छ। गमगढीबाट करिब ३५ किमि टाढाको पुलु पुग्दा पनि मुगु कर्णाली सुसाउन छोड्दैन, आवाजले पछ्याइरहन्छ। कतिपय ठाउँमा चट्टान फोरेर बनाइएको बाटो निकै साँघुरो छ। ठाउँठाउँमा खच्चडसँग जम्काभेट भइरहन्छ। बाटो साँघुरो भएकाले भारी बोकेका खच्चडसँग कहीँ कतै त किनार लाग्न पनि मुश्किल पर्छ। मुगु कर्णालीको ठाउँ–ठाउँमा ग्याविन वाल उठाएर पदमार्ग बनाइए पनि पदमार्ग फराकिलो भने छैन।

अनौठा र ठूला चट्टानसँग धेरै पटक साक्षात्कार गर्न पाइन्छ। एक अर्को गाउँ पुग्न घोरेटोबाटो समात्नुपर्छ। सामान ढुवानीका लागि बाह्रैमास खच्चड प्रयोग गरिन्छन्। माङ्ग्रीगाउँबाट करिब एक घण्टा लम्किँदा ढुंगेधारा भन्ने गाउँ पुगिन्छ। ढुंगेधाराबाट रिउसबगर करिब साढे एक घण्टामा पुगिन्छ। पुलु पुग्न क्यूङदोको झोलुंगे पुल तर्नुपर्छ। रिउसबगर–पुलुको पैदल दूरी साढे एक घण्टा हाराहारीको हो।

मुगु कर्णालीमा मिसिने खहरेमा काठे पुल बनेका छन्। काठे पुललाई स्थानीय भाषामा साँबा भनिँदो रै’छ। छाइल गाउँमा रोकाय क्षत्रीको बाहुल्य छ। माङ्ग्रीमा लामा र दलित बढी छन्, ढुंगेधारामा लामा र क्षत्री। रिउसबगरमा दलित क्षत्री र लामा बढी छन्। अनि पुलुगाउँमा लामा र क्षत्री तथा उपल्लो मुगुको डोल्फु, मुगुम लगायतका भेगमा लामा जातिको बाहुल्य छ।

यी भेगमा तिब्बेतियन संस्कृतिको प्रभाव देखिन्छ। महगाउँ, माङ्ग्री, ढुंगेधारा, रिउसबगर, पुलुगाउँ र यी बस्ती भन्दा माथिका डोल्फु, किम्री, मुगुमलगायत बस्तीको जनजीवन तिब्बेतियन पात्रोअनुसार चल्छ।

तिब्बेतियन संस्कृतिको प्रभाव भएकाले पुरुषले झ्याटमा, धंव लगाउँछन्। महिलाले केकाप, स्याव, काराक, थिंड्मा जस्ता पहिरन प्रयोग गर्छन्। यो भेगको मुख्य चाड लोसार हो।

बस्ती नजिकै तिब्बेतियन संस्कृति झल्काउने छोर्देन (सानो तीनतले मन्दिरको आकृति) बनाइएको प्रशस्तै देखिन्छ। छोर्देन मृत्त आत्माको चीर शान्ति र अर्को जुनी राम्रो होस भन्ने कामना गर्दै बनाइन्छ। छोर्देनलाई स्थानीय भाषामा चिट्टिम पनि भनिन्छ।

पुलु कार्मारोङ गाउँपालिकाको प्रस्तावित केन्द्र हो। हाम्रो गन्तव्य पुलु भएकाले त्योभन्दा माथि उग्लिएनौं। यो भेगको मुख्य बाली चिनो, ऊवा, कोदो, मार्से, कागुनो, फापर, र सिमी हो। यहाँको कुनै उत्पादनमा विषादी प्रयोग हुन्न। महगाउँ नाम अनुसारकै ठाउँ। मह धेरै उत्पादनका लागि कहलिएको ठाउँ।

माङ्ग्री आलु उत्पादनका लागि प्रख्यात छ। यहाँको आलुको स्वाद अन्यत्रको भन्दा निकै फरक पाइन्छ। यहाँका स्थानीयको मुख्य आम्दानी कृषि र जडीबुटी हो। यार्सागुम्बा, कटुकी, वन लसुन, चौर औला, पाँचऔंले, पदमचाल, अत्तिस, गन्धाइनो, झम्फु (जिम्मु) लगायत यो भेगका मुख्यका जडीबुटी हुन्।

छायानाथ हिमालको फेदमा रहेको छायानाथ धाम यहाँको चर्चित धार्मिक गन्तव्य हो। बौद्ध र हिन्दू धर्मावालम्बी पूजापाठका लागि पुग्ने गर्छन्। हिन्दू धर्मावलम्बीका चार धाम मध्येको एउटा महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ यो धाम।

स्थानीय नाच स्याब्रो, चेलु, ङलु, मिलाइलु, माडाल यो भेगका परम्परागत नाच हुन्। ढुंगा, माटो र काठ प्रयोग गरिएका घरहरू परम्परागत शैलीका छन्। कंक्रिटको अतिक्रमण भित्रिएको छैन।

तीन दिनपछि फर्कँदा झरीले निकै दुःख दियो। बाटो आसपासका ओडार र स्थानीयका घरमा ओत लाग्दै फर्कियौं। छायल चौरदेखि पुलुसम्म जोडिए चिमात गाउँका सिंहबहादुर बुढा। फर्कँदा गमगढीसम्म उनी सँगै भए। त्यसैले यात्रा सकस भएन, सोचेभन्दा निकै सहज भयो।

मह गाउँको मह मिठो , माङ्ग्री गाउँको आलु
छ्याङ रक्सी चाखखाईथुम भन्दा जातीका मायालु
म त राइझुमा झुमा क्या मस्क्याकी छौ राइझुमा….
पुलु बसाइको अन्तिम दिन जुम्लाका शिक्षक दत्तबहादुर शाहीले गाएको यो लय अझै कानमा गुन्जिरहेछ।

(बाँकेको नेपालगन्ज हुँदै मुगुको कार्मारोङ गाउँपालिकाको पुलुसम्म पुगेर फर्किँदा)

शब्द/तस्वीर:अजय श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved