आजबाट सोह्रश्राद्ध समापन

नेपालभ्युज

आजबाट सोह्रश्राद्ध समापन

काठमाडौं। असोज कृष्ण पक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ। अर्थात् आजबाट यो वर्षको सोह्रश्राद समापन भएको छ।

बडादशैँ पर्व शुरु हुनुअघि पितृ (दिवंगत आफन्त) लाई तर्पण दिँदै असोज कृष्ण पक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ। यसै परम्परालाई थाम्दै आज देशभरका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन्।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन्।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ। यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण) लाई पनि भ्याइनभ्याइ परेको छ। कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक संकल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन्।

असोज कृष्ण पक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्रश्राद्ध’ पनि भन्ने गरिन्छ।

दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन्।

वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने कर्मकाण्डी ब्राह्मणहरू बताउने गर्छन्।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ।

पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल शुरु हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved