सुन्दर हिमाली देश नेपालबारे भारतीयहरूको रोमाञ्चकारी धारणा छ। उनीहरूले नेपाललाई भारत र भारतीयलाई माया गर्ने हिन्दू देशको रूपमा लिन्छन्। धर्ममा आस्था राख्ने भारतीयका लागि नेपालको पशुपतिनाथ र मुक्तिनाथ ठूला आकर्षण हुन्। नेपाल हुँदै केही भारतीय कैलाश मानसरोवर जाने गर्छन्।
सन् २०१५ को भूकम्पले कोदारी राजमार्ग हुँदै त्यसतर्फ जाने बाटो अवरुद्ध नबनाउँदासम्म भारतीय तीर्थयात्रीहरू त्यही बाटो हुँदै कैलाश मानसरोवर जान्थे। पछिल्लो समय तिर्थयात्रीहरूले बाटो परिवर्तन गर्दै नेपालगञ्ज, हुम्ला–सिमकोट हुँदै त्यसतर्फ जान्छन्।
मेरो पुस्ताका भारतीयलाई नेपालसँग परिचित बनाउने काम भने देवानन्दको ‘हरे राम हरे कृष्ण’ फिल्मले गर्यो।। नेपालको प्रकृतिका साथै १९७० को दशकको हिप्पी संस्कृतिले पनि धेरै भारतीयलाई नेपालले आकर्षित गर्यो। सेनासँग सम्बन्ध भएका भारतीयहरू भारतको गोर्खा रेजिमेन्टलाई धेरै नै सम्मान गर्छन्।
आजसम्म भारतले नेपालका हजार भन्दा बढी युवालाई भारतीय सेनामा लिन्छ। गोर्खा सैनिकहरू भारतीय सेनाका शान हुन्। उनीहरू भारतीय अस्मिता रक्षाका लागि बहादुरीपूर्वक लडेका छन्। गोर्खा अफिसर समेत रहेका फिल्ड मार्शल शाम मनेक्श (सन् १९७१ मा बंगलादेश विभाजन हुँदाताकाका भारतीय सेना प्रमुख) को प्रख्यात भनाइ नै छ- ‘कसैले मर्नदेखि डर लाग्दैन भन्छ भने कि त ऊ झूठ हुन्छ कि गोर्खाली।’
तर, दिल्लीका शिक्षित र देश–विदेश भ्रमण गरेका मानिसले पनि एक घण्टा १५ मिनेटको हवाई यात्रामा पुगिने नेपालको भ्रमण नगरेको देख्दा अचम्म लाग्छ। धेरै भारतीयका लागि नेपालीको परिचयको दायरा सीमित छ। उनीहरू रोजगारीका लागि भारतमा मजदुरी गर्दै आएका, सुरक्षागार्डका रूपमा काम गर्ने र उत्तराखण्डको उच्च हिमाली भेगमा भारी भोक्ने भरियासँगको साक्षात्कारबाट नेपाल बुझिरहेका छन्।
गोर्खा अफिसर समेत रहेका फिल्ड मार्सल शाम मनेक्श (सन् १९७१ मा बंगलादेश विभाजन हुँदाताकाका भारतीय सेना प्रमुख) को प्रख्यात भनाइ नै छ- ‘कसैले मर्नदेखि डर लाग्दैन भन्छ भने कि त ऊ झूठ हुन्छ कि गोर्खाली।’
सन् २००० को एक घटनाले यसलाई थप पुष्टि गर्छ। नेपालकी तत्कालीन उपसभामुख चित्रलेखा यादव भारतको भ्रमणमा थिइन्। भारतीय संसद्का एक उच्च अधिकारीसँग उनको भेटघाट थियो। यादवलाई स्वागत गर्दै ती भारतीय अधिकारीले आफ्नो नेताका व्यक्तिगत सहयोगी नेपाली भएको बताएका थिए। कुराकानीका क्रममा थाहा भयो उनले भनेका सहयोगी व्यक्तिगत कामका लागि राखिएका रै’छन्। मलाई अझै पनि सम्झना छ, त्यो थाहा पाएपछि यादवले केही असहज महशुस गरेकी थिइन्।
त्यो योजनाबद्ध हिसाबमा चालिएको कदम थियो जस्तो लाग्छ। त्यसले नेपाल–भारत सम्बन्धमा भारतीय अधिकारी कति कमजोर छन् भन्ने पनि देखाउँछ। दुःखका साथ बन्नपर्छ केही भारतीयहरूका लागि नेपालीको परिचय भन्नु नै विश्वासिला चौकीदार मात्रै हो।
केही भारतीयलाई मात्रै नेपालको कला, संस्कृतिलगायत विषयमा थाहा छ। यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकरण गरेका सात विश्व सम्पदा काठमाडौँमा नै छन्। नेपालका महान् शिल्पकार अरनिकोले प्यागोडा शैलीको वस्तुकलाको विकास गरेका थिए जुन चीन हुँदै पूर्वी एशिया र जपान, कोरियासम्म फैलिएको छ। यी सबै देशमा भएका बुद्धिष्ट मन्दिरहरू यही शैलीका बनाइएका छन्।
नेपालको मुस्ताङले अझै पनि तिब्बती संस्कृतिको स्वाद दिन्छ भन्ने नगण्य भारतीयलाई मात्रै थाहा होला। नेपालप्रतिको अज्ञान र मजदुरी गर्न भारत आउने नेपालीसँगको कुराकानीका आधारमा मात्रै नेपाललाई बुझ्ने प्रयासले दुई देशको सम्बन्धमा नै समस्या ल्याएको छ। यस्तै व्यवहारले गर्दा नेपाली भारतीयलाई असंवेदनशील र दमनकारीका रूपमा बुझ्ने गर्छन्।
नेपालको विविधताप्रति पनि भारतीय अज्ञानी छन्। नेपालका मधेशी समुदाय त्यहाँको तराईका वास्तविक बासिन्दा हुन् भन्ने धेरै भारतीयलाई थाहा नै छैन। यो एकीकृत समुदायलाई सन् १८१६ ले विभाजन गरेको थियो भन्ने तथ्य पनि उनीहरूलाई थाहा छैन। मधेशीहरूको रूपरङ, उनीहरूको नाम, भाषा र पहिरनका कारण धेरै भारतीय उनीहरू भारतबाट बसाई सरेर नेपाल गएको समुदाय हो भन्ने ठान्छन्।
यस्तै गल्ती नेपालका विषयमा राम्रो जानकारी राख्ने पूर्वविदेशमन्त्री सुष्मा स्वराजले पनि गरेकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डायस्पोरा र्यालीका विषयमा पूर्वविदेशमन्त्री स्वराजले ट्वीट गर्दै नेपालको तराईमा रहेको जनकपुरमा पनि भारतीय डायस्पोरा रहेको उल्लेख गरिन्। नेपालबाट यस विषयमा प्रतिवाद भएपछि ट्वीट हटाउँदै उनले माफीसमेत मागेकी थिइन्।
पछिल्लो समय भारतीय भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा समावेश गरेसँगै भारतीय मिडियाले नेपालको तीव्र विरोध गरेका थिए। भारतीय मिडियामा पाकिस्तानप्रति आउनेजस्तै धारणा नेपालप्रति विकसित भएको थियो। त्यस घटनाले भारतीयमा नेपालप्रति नकारात्मक धारणा विकास गरेको छ।
भारतका केही मुलधारका मिडियाले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई नेपालस्थित चिनियाँ राजदूतले मोह जालमा पारेको समेत उल्लेख गरे। यस्ता प्रकारका समाचार नेपालमा धेरै आलोचित भयो। भारतीय टीभी समाचार च्यानललाई नेपालमा प्रतिबन्ध लगाउने सम्मको परिस्थिति विकास भयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डायस्पोरा र्यालीका विषयमा पूर्वविदेशमन्त्री स्वराजले ट्वीट गर्दै नेपालको तराईमा रहेको जनकपुरमा पनि भारतीय डायस्पोरा रहेको उल्लेख गरिन्। नेपालबाट यस विषयमा प्रतिवाद भएपछि ट्वीट हटाउँदै उनले माफीसमेत मागेकी थिइन्।
उल्लेख्य संख्यामा नेपाली भारतमा बस्ने गरेका छन् भने भारतीय समुदाय पनि नेपालमा छ। यकिन तथ्यांक नभए पनि करीब ४० लाखदेखि ६० लाख नेपाली भारतमा बस्दै आएका छन्। भारतमा क्षणिक समयका लागि काम गर्न आउने र स्वदेश फर्किने नेपाली पनि छन्। भारतमा काम गर्न आउने नेपालीको संख्या माओवादी सशस्त्र संघर्षताका अझै बढी थियो। माओवादी सैनिकमा भर्ती नहुन उनीहरू सीमापार आउने गर्थे।
नेपालबाट कामका सिलसिलामा भारत आउने प्रवासी नेपाली राजनीतिक रूपमा सक्रिय पनि छन्। नेपालका प्रमुख राजनीतिक दलको भारतमा शाखासमेत छ। सशस्त्र संघर्षको समयमा केही माओवादी नेताहरू प्रवासी नेपालीको सहयोगमा भारतका विभिन्न शहरमा लुकेरसमेत बसेका थिए। भारतमा बसेका अधिकांश नेपाली भारतको कानूनको अधीनमा रहँदै शान्तिपूर्वक बसेको पाइन्छ। एकाध हत्या र लुटपाटका घटना हुने गरेका छन्। भारतीय कानूनको उल्लंघन गर्दै नेपाल भागेकाहरूलाई दुई देशबीच सुपुर्दगी सन्धिको अभावमा भारतीय कानूनको दायराभित्र ल्याउन सकिँदैन।
नेपाली प्रवासीको तुलनामा नेपालमा बस्ने भारतीयको संख्या थोरै छ। यद्यपी, यस विषयमा कुनै आधिकारीक गणना भने भएको छैन। दुई देशबीच कागजपत्रबिना आवतजावत गर्न सकिने भएकाले तथ्यांक राख्न गाह्रो समेत हुन्छ।
पहिला भारतको केरलाबाट समेत नेपालमा शिक्षक जाने गर्थे। अहिले नेपालमा रहेका अधिकांश भारतीय बिहार र आसपासका छिमेकी प्रान्तका बढी छन् जो सानो व्यवसाय सञ्चालन गरी बसेका छन्। भारतीय समुदाय नेपालका मधेशी समुदायसँग मिल्दाजुल्दा छन्। नेपाल भारत सम्बन्धमा समस्या आउँदा नेपालका पहाडे समुदायको रिसको तारो समेत बन्ने गर्छ भारतीय समुदाय।
– नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको पुस्तक ‘काठमाडौँ डेलेमाः रिसेट्लिङ इन्डिया नेपाल टाईज’ पुस्तकबाट पुरूषोत्तम पौडेलले गरेको अनुवाद।
Facebook Comment
Comment