काठमाडौं । दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेको छ। दलसम्बन्धी अध्यादेश फिर्ता भए पनि दलहरूबीच सहमति नजुट्दा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८५ दिनसम्म पनि सरकार विस्तार हुन सकेको थिएन।
सत्ता साझेदारीको प्रमुख दल नेपाली कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ। कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानून मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ।
नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, कृषि तथा पशुपक्षी मन्त्रालय लिने मोटामोटी सहमति जुटेको छ। माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।
त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ।
जनता समाजवादी पार्टी (जसपा) ले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति भएको सतारुढ गठबन्धनले जनाएको छ।
दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति बनेपछि आज दिउँसो ४ बजे कार्यदलको बैठक बालुवाटारमा बस्न लागेको छ। गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए। अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ जना मन्त्री मात्रै छन्।
Facebook Comment
Comment