एमाले बनेका पूर्वलडाकू भन्छन्

“संसदीय राजनीतिका लागि एमाले नै ठीक”

कुनै बेला आफैले संशोधनवादी भन्ने गरेको एमालेका नेता बनेर विधान महाधिवेशनमा सहभागी भएका पूर्व माओवादी नेताहरूसँग पुरानो ऊर्जा छैन, छ त केवल राजनीति निरन्तरताको चाहना मात्रै।

“संसदीय राजनीतिका लागि एमाले नै ठीक”

ललितपुर गोदावरी एमाले विधान महाधिवेशनमा देशभरका करिब ६ हजार एमाले अगुवा कार्यकर्ता र नेता सहभागी भए। तीमध्ये एकथरी पूर्वमाओवादी कार्यकर्ता थिए। माओवादी विद्रोहका क्रममा बन्दुक बोकेका पूर्वलडाकू पनि एमालेको विधान महाधिवेशनका प्रतिनिधि थिए। नवोदित एमालेको यो पंक्तिले विधान अधिवेशनमा के कुरा दर्ज गरे होलान् ? तिनले कसरी आफ्ना कार्यक्षेत्र फर्केर एमालेमा ज्यान भर्लान् ? महाधिवेशन थलोबाट फर्केका तिनका कुरा सुनौँ।

रोल्पाली माओवादीको सहभागिता

रोल्पाको उत्तरी भाग कुरेली, ढाङढुङ, उपाबाङका पूर्वजनमुक्ति सेनाका कमाण्डर कमरेड हितमान (गंगाराम बुढामगर) एमाले विधान महाधिवेशनमा सहभागी भए।

माओवादीले सशस्त्र संघर्ष शुरू हुनुअघि नै क्रियाशील थिए। माओवादी शब्दमा ‘वर्ग संघर्ष’ताका नै हितमान त सानतिनो कमाण्डर भइसकेका थिए। योजना बनाउन र कमाण्ड गर्न सिपालु माहिर मानिने हितमान सशस्त्र संघर्षकालीन गनिएका थोरै कमाण्डरमध्ये एक थिए।

२०५५ को थालनीतिरको कुरा हो। माओवादी बीउ छर्न दुई सेक्सन पश्चिमतिर हान्नियो। ती सेक्सन रोल्पा र रुकुमका थिए। सेक्सन माओवादी जनमुक्ति सेनाको सबैभन्दा सानो युनिट हो। जसमा नौदेखि ११ जना हुन्छन्। माओवादी सैन्य संरचनामा सेक्सन, प्लाटुन, कम्पनी, बटालियन, बिग्रेड र डिजिभन थिए। यी जम्मै माओवादी सेनाको सुप्रिम कमाण्डर भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए।

ती दुई सेक्सन भेरी पुगे। कर्णाली पुगे। कर्णाली पुगेपछि भने अलगअलग भएर सेती-महाकाली पुगे। रोल्पाको सेक्सन उकालिँदै दार्चुला पुग्यो भने रुकुमको सेक्सन ओरालिँदै कन्चनपुर। रोल्पाको त्यस सेक्सनको कमाण्डर नै हितमान थिए। तिनले गाउँगाउँमा मानिसहरूलाई माओवादी बनाए। सेना बनाए। ठाउँठाउँमा ससाना आक्रमण पनि गरे। कतै पुलिसचौकीमा आक्रमण गरे भने कतै माओवादी भाषामा ‘वर्ग दुश्मन’लाई भाटे कारबाही गरे।

डोल्पा सदरमुकाम दुनै आक्रमण गर्नुअघि डोल्पामा खिचिएको तस्वीर। सेतो ह्याट लगाएका हितमान हुन्। तस्वीरमा वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, शक्तिवहादुर बस्नेतसहित माओवादी लडाकू डिभिजन कमाण्डरद्वय कालीबहादुर खाम ‘विविध’ र धनबहादुर मास्कीमगर ‘राजेश’ पनि देखिन्छन्। तस्वीर सौजन्यः हितमान।

हितमानकै छिमेकी गाउँ मिरुलका अर्का कमाण्डर कमरेड नेपेरु त पत्नी रेखासँगै एमाले विधान महाधिवेशनमा सहभागी भए। माओवादी सशस्त्र संघर्षताका हितमानजत्तिकै चिनिएका कमाण्डर नेपेरु नै हरिबहादुर बुढामगर थिए। नेपेरुले रेखालाई बिहे गर्नुअघि दुई पत्नी गुमाएका थिए। दुवै पत्नी माओवादी लडाकू थिए र दुवै लडाइँमा मारिएथे। पहिलो पत्नी अनिता बुढामगर त माओवादीको पहिलो राष्ट्रिय स्तरको सैन्य तालिममा मारिएका थिए। उक्त तालिम नेकपा नेता नेत्रविक्रम चन्द विप्लवको गाउँ सिरानको सुकीदहमा राखिएको थियो।

कुनै बेला आफैले संशोधनवादी संज्ञा दिएको एमाले विधान महाधिवेशनबारे ती लडाकू कमाण्डरका अनुभूति के हुँदो हो ?

“राजनीतिक प्रतिवेदनमा हामीले पसिना बगाएको जनयुद्धको भूमिका पनि समेटेको छ,” महाधिवेशनबाट फर्केका हितमानले भने, “संगठनभित्र पनि हार्दिकताको हिसाबले राम्रै छ। पुरानो भन्दा पनि नयाँको माहौल देखेँ। माओवादीको ठूलो हिस्सा नै देखेँ।”

युद्धकालभरि माओवादीले एमालेलाई संशोधनवादी र एमालेले माओवादीलाई उग्रवामन्थी कित्तामा राखेका थिए। एकअर्कालाई धारे हात लगाउँदै माओवादी र एमाले कार्यकर्ता भौतिक आक्रमणको तहमै ओर्लेका थिए।

माओवादी दुत्कारेरै आफ्नो विम्ब बनाएका ओलीले माओवादीविरोधी नेतृत्व विकास गरेका थिए। ओलीले माओवादीलाई व्यंग्य, कटाक्षमार्फत ‘मानमर्दन’ गरिरहे। तर, उनै ओलीले माओवादी तान्न भए पनि राजनीतिक प्रतिवेदनमा माओवादी आन्दोलनकै कारण नेपालमा गणतन्त्रको आधार तयार भएको उल्लेख गरेका छन्

ओलीको प्रतिवेदन भन्छ- ‘नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्ष शुरु गर्‍यो। यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना गर्‍यो। महिला, दलित, मधेसी, जनजातिलगायत उत्पीडित वर्ग समुदायलाई जागृत र संगठित गर्न तथा संविधानसभा निर्वाचन एवं गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनको भूमिका महत्त्वपूर्ण रह्यो।’

युद्धकालभरि माओवादीले एमालेलाई संशोधनवादी र एमालेले माओवादीलाई उग्रवामन्थी कित्तामा राखेका थिए। एकअर्कालाई धारे हात लगाउँदै माओवादी र एमाले कार्यकर्ता भौतिक आक्रमणको तहमै ओर्लेका थिए।

चुनबाङ बैठकबाट माओवादीले संसदीय राजनीतिमा प्रवेश गर्ने निर्णय गर्‍यो। ०६३ पछि माओवादीले सरकारको नेतृत्व नै तीनपटक  गर्‍यो। पछि एमालेसँग पार्टी एकता भयो। तीन वर्ष नपुग्दै दुवै पार्टी अलग्गिए। अलग्गिँदा हितमान एमालेमै रहे।

“संसद् जाँदा माओवादीले आफ्ना जति थिए ती एजेण्डा सबै छाडिसक्यो। अहिले त एमाले र माओवादीमा फरक नै के छ र ?” हितमान सोध्छन्।

एमाले विधान महाधिवेशनमा हितमानसहित रोल्पाबाट १८ जना प्रतिनिधिले भाग लिए। हितमान, नेपेरु, रेखा, पूर्ण बुढामगर, मणिराम विकलगायत माओवादी लडाकू हुन् भने विजय घर्तीमगर माओवादी नेता।

“१८ जनामा आधाउधि त माओवादी पृष्ठभूमिका छौँ,” हितमान भन्छन्, “थुप्रै साथी त लिगेसी सम्झेरमात्र माओवादीमा बसेका छन्। जनमुक्तिको बाटो छाडेर एमालेको बाटो समाएपछि किन माओवादीमा बस्नु र ? संसदीय राजनीति गर्ने हो भने त एमाले नै ठीक छ।”

महाधिवेशनमा पूर्वमाओवादीहरूले अलग्गै छलफल भने गरेन्।

महाधिवेशनको बन्दसत्र छलफलमा मदन भण्डारीको बहुदलीय जनवादको थप व्याख्याको माग गरे।

“१८ जनामा आधाउधि त माओवादी पृष्ठभूमिका छौँ,” हितमान भन्छन्, “थुप्रै साथी त लिगेसी सम्झेरमात्र माओवादीमा बसेका छन्। जनमुक्तिको बाटो छाडेर एमालेको बाटो समाएपछि किन माओवादीमा बस्नु र ? संसदीय राजनीति गर्ने हो भने त एमाले नै ठीक छ।”

“छलफलमा हाम्रो समूहबाट ओलीलाई किन तानाशाह भने ? किन दुईतिहाइ ढल्यो ? कहाँ कमजोरी भयो ? सत्ता कब्जा गर्न खोजेको हो भने माधव नेपाल र पुष्पकमल दाहालले गद्दारी गरेको भन्नुपर्‍यो कि आफ्नो गल्ती भयो भनेर आउनुपर्‍यो। यस्ता कुरा छलफलमा उठ्यो। मदन भण्डारीको बहुदलीय जनवादको सत्ता ल्याउने र बचाउनेबारे के हो खास ? थप व्याख्या चाहियो भन्यौँ,” हितमान भन्छन्, “माओवादी पृष्ठभूमिबाट आएका हामीले उठाएको सत्ता कब्जा गर्न नै खोजेको हो कि के हो भन्ने कुरा अध्यक्ष ओलीले ‘प्राविधिक कुरा’ भनेर उल्लेख गर्न चाहेनन्। खासमा मदन भण्डारीको बहुदलीय जनवादमा उल्लेख नभए पनि सत्ता कब्जाको ‘ट्राइ’ मार्न खोजेको देखियो। जुन कुरालाई अहिले माओवादीलगायत दलले प्रतिगमन भनिरहेका छन्।”

कुनैबेला पार्टीभित्र प्रचण्डको देवत्वकरण गरेको माओवादी अभ्यासलाई माथ गर्नेगरी ओलीको देवत्वकरण गरियो। प्रचण्डको देवत्वकरण देखेभोगेका हितमान थप्छन्, “तर हलमा देवत्वकरणको कुरा उठेन। बाहिरबाट हेर्दा त्यस्तो देखियो।”

एमाले रोल्पा अध्यक्ष हरि घर्तीमगर र एमाले रुकुम अध्यक्ष विमल पुन भने नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्।

रुकुम पूर्वबाट महाधिवेशनमा सहभागी टोपबहादुर ओली महाधिवेशनले अगुवा कार्यकर्तामा ऊर्जा दिएको बताए। ओली भने पूर्वएमाले नै हुन्। उनले रुकुम पूर्वबाट लक्ष्मीप्रसाद पुन, निर्माण बुढा र रुकुम पश्चिमबाट चन्द्रवहादुर विक माओवादी पृष्ठभूमिका प्रतिनिधि सहभागी भएको जानकारी दिए। ती सबै माओवादीका जिल्लास्तरीय नेता थिए।

रुकुम पश्चिमबाट माओवादी नेता हेमन्तप्रकाश ओली नेत्रविक्रम चन्द विप्लवको पार्टीमा छन् भने लोकेन्द्र विष्टमगर राजनीतिबाट टाढा। सशस्त्र संघर्षकालीन रुकुम जनसरकार प्रमुख शरुण बाँठामगर जनता समाजवादी पार्टीमा छन्।

मधेशी माओवादीको यात्रा

एमाले र त्यसमा पनि केपी ओली समूह कमजोर मानिने प्रदेश २ का सहभागीले मधेश हेर्ने एमाले नजर फेर्न सुझाएका थिए।

धनुषाका शम्भु साह भन्छन्, “मधेसी मूलका नेता, कार्यकर्ता र जनतालाई हेर्ने एमाले नजर फराकिलो पार्न भन्यौँ। एमाले नेताले मधेश आन्दोलनताका मधेशी समुदायप्रति तीतो बोले। ती गल्ती स्वीकारेर फेरि त्यस्तो नहोस् भनी लेखेरै दियौैँ। जनसंख्याको आधारमा प्रतिनिधित्वको कुरा पनि उठायौँ। पार्टीमा पूँजीवाद हाबी भयो पनि भन्यौँ,” साह भन्छन्, “अध्यक्ष केपी ओलीले मौखिक रूपले त सम्बोधन गर्नुभएको छ। तर लिखित रूपमा दस्तावेजमा आएको त हेर्न बाँकी छ। दस्ताबेज आएपछि मात्र थाहा हुन्छ के सम्बोधन भयो र के छुट्यो।”

आफूहरूले उठाएका कुरा सम्बोधन गरे मधेशमा एमाले कमजोर नहुने उनको तर्क थियो।

प्रदेश २ बाट टोली नेता ज्वाला साह थिइन्। साहसहित रामचन्द्र मण्डल माओवादी पृष्ठभूमिका हुन्। पूर्वमन्त्री प्रभु साह भने आठ बुँदे विमति जनाएर महाधिवेशनमा अनुपस्थित रहे।

“मधेशमा एमाले कमजोर भनेर हुन्न, टाउको गनेर हुन्न नि। विचारको कुरा छ। ओली फोबिया भएर नेपालतिर गएका छन्। तर, नेपाल पार्टी नेतृत्वमा हुँदा ‘एमाले पोथी न भाले’ भन्थे। ओली नेतृत्वमा आएपछि त दुई तिहाइ नै आयो नि। ओलीको देवत्वकरण भनेर कसरी भन्न मिल्छ ?” शम्भु भन्छन्।

सुदूर प्रदेश सहभागिता

सुदूरपश्चिमबाट महाधिवेशनमा सहभागी एमाले डडेलधुरा सचिव धनवहादुर साउदले १० बुँदे सहमतिको कुरा उठाएको सुनाए।

“कमजोरी पनि मसिनरी छलफल भयो। अध्यक्ष ओलीले गठन गरेका कथित समानान्तर समिति तत्काल विघटन गर्न भन्यौँ। १० बुँदे सहमतिलाई अक्षरशः पालना गर्न पनि छलफलमा कुरा उठ्यो,” साउद सुनाउँछन्। उनले पनि दस्ताबेजमा कसरी सम्बोधन भएर आउँछ भन्ने हेर्न बाँकी रहेको सुनाए।

सुदूर प्रदेश संसदमा नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी सबभन्दा ठूलो दल छ। डडेलधुरा एमाले अध्यक्ष डाक्टर तारा जोशीले ओलीको प्रतिवेदन अहिलेको राजनीति र समाजलाई सम्बोधन गर्न असफल रहेको आरोप लगाए।

“प्रतिवेदनले एमालेको छविमा धब्बा लगाउने घटनाबारे केही बोलेको छैन। प्रतिवेदनमार्फत इतिहासले केपी ओलीलाई सफाइ दिने ‘असफल प्रयास’ छ,” जोशीको तर्क छ। जोशीले माधव नेपाल पक्षबाट डडेलधुरा एमाले अध्यक्ष जितेका थिए।

बाँकी आशा

महाधिवेशन थलोमा ओलीको ठूलाठूला डमी राखिएका थिए। बाटोका बिजुली पोलले पनि ओली फोटो ओढे। पिउने पानीको बोतलमा समेत ओलीको फोटो थियो। महाधिवेशन थलोमा ओलीको डमीसँग सेल्फी, वेल्फी खिच्ने ओली कार्यकर्ता पनि थिए।

“संगठनको एउटा पंक्ति नै पालनपोषणमा विश्वास गर्ने बनेको छ त सेल्फी खिच्ने नै भए। तर, ६ हजारभन्दा बढी सहभागीमा थोरैले मात्र यस्तो गरे। सहभागी धेरै त चुप छन्। यसले के भन्छ भने, ओलीले सिंगो एमाले नै विशाक्त बनाइसकेका छैनन्। त्यसैले त म एमालेमै बसेको छु,” महाधिवेशनमा सहभागी भएर फर्केका एक एमाले नेता भन्छन्, “नियोजित तरिकाले आफूप्रतिको अविश्वास पखाल्न र विषयान्तरण गर्न यस्ता फोटो टाँसेका हुन्। इतिहासमा मेरो अनुहार कस्तो छ भन्ने कुरा ओलीलाई राम्ररी थाहा छ। ओली त चलाख छन् नि। हेर्नुहोला, चुनाव हारेपछि झन ठूला डमी बन्नेछन्।”

एमाले र एमालेको पनि केपी ओली कमजोर रहेको क्षेत्र, माधव नेपाल समूहका तर एमालेमै रहेका र माओवादी पृष्ठभूमिबाट एमालेमै रहेका कुरासँगै एउटा प्रश्न अझै उब्जेको छ– के ऊर्जा भर्‍यो त महाधिवेशनले ? कमरेड हितमान भन्छन्, “हिजो माओवादी सशस्त्र संघर्षकालको वर्ग संघर्षको बेलाको ऊर्जासँग कल्पना पनि गर्न सक्तैनौँ। जेजसो भए पनि फर्केर संगठन बिस्तार गर्ने हो। संसदीय राजनीति गर्दा गर्ने काम तिनै त होला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved