दशैंमा घर जान नयाँ बसपार्कमा अग्रिम टिकट लिने घटे

नेपालभ्युज

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कबाट यो पटक दशैंका लागि घर जान अहिलेसम्म १७ हजार यात्रुले मात्र अग्रिम बस टिकट बुकिङ गरेका छन्।

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको हो। यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरूको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए।

“कोरोना महामारी र बाटोको दूरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,” उनले भने। कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोंगबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।

काठमाडौँको नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलंकीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्या न्यून रहेको बताए। “निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ,” उनले भने।

सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजान घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ। रुट परमिट खुला गरेसँगै यात्रुलाई दशैंको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ।

यो पनि

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved