छोटो दूरीको भाडा नबढेपछि सार्वजनिक यातायात व्यवसायीले गरे ‘हड्ताल’

लामो दूरीको भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायीले आफैं भाडादर तोकेका थिए। तर आफैंले बढाएको भाडा लिएको भन्दै ट्राफिक कारबाहीमा परेपछि उनीहरुले सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

नेपालभ्युज

छोटो दूरीको भाडा नबढेपछि सार्वजनिक यातायात व्यवसायीले गरे ‘हड्ताल’
फाइल तस्वीर

काठमाडौं। छोटो दूरीको सार्वजनिक यातायातमा भाडा नबढेपछि यातायात व्यवसायीले सेवा बन्द गरेका छन्। काठमाडौं उपत्यकाभित्र छोटो दूरीमा यातायात सेवा दिँदै आएका ७२ कम्पनीका ७ हजार सार्वजनिक बसले सेवा बन्द गरेका हुन्।

लामो दूरीको भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायीले आफैं भाडादर तोकेका थिए। तर आफैंले बढाएको भाडा लिएको भन्दै ट्राफिक कारबाहीमा परेपछि उनीहरुले सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

लामो दूरीका यातायातमा भाडा बढेपनि आफूहरुले बढाएको भाडामा भने कारबाही हुँदा आफूहरु आन्दोलनमा उत्रिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले बताए। व्यवसायीले आफैं भाडा बढाउँदा कारबाहीमा परेपछि चक्रपथ वरिपरि ७२ कम्पनीका ७ हजार गाडी पार्किङ गरेर राखेको अध्यक्ष नेपालले बताए।

यसअघि हिजो आइतबार उपत्यकाका सिडिओसँगको बैठकमा यातायात व्यवसायीले भाडा बढाउन माग गरेका थिए। उक्त बैठकमा भाडाका विषयमा प्रदेश सरकारसँग समन्वय गर्न अन्यथा अहिलेकै अवस्थामा भाडा बढाए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको थियो।

भाडादरकै विषयमा व्यवसायीहरुले आज बागमती प्रदेश सरकारसँग छलफलको तयारी गरेका छन्। दिउँसो ४ बजे हेटौँडामा छलफल हुने बताइएको छ।

व्यवसायीले आफूहरुले सांकेतिक रुपमा विरोधका लागि आज सेवा बन्द गरेको भए पनि भोलिदेखि शुचारु हुने बताएका छन्। यसअघि, दशैंको मुखमा यातायात व्यवसायीहरूले आफूखुशी भाडा बढाएका थिए।

उपत्यकामा बस व्यवसायीले निर्धारित दरभन्दा बढी भाडा लिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने चालकलाई कारबाही पनि गरेको थियो। साविकमा १३ रुपैयाँ रहेको रुटमा २० रुपैयाँसम्म भाडा लिएको गुनाशो महाशाखामा आएपछि कारबाही गरेको प्रहरीले बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved