उपेन्द्र यादवबाहेक जोसँग पनि तालमेल हुनसक्छ : लोसपा

दुवै नेताले यादवलाई आफूहरुले अफ्ठ्यारो अवस्थाबाट एकीकरण गर्दै पार गराए पनि उनी मधेस आन्दोलनलाई फुटाउने र राज गर्ने बाटोमा हिँडेकाले सहकार्य हुन नसक्ने प्रष्टीकरण दिए।

नेपालभ्युज

उपेन्द्र यादवबाहेक जोसँग पनि तालमेल हुनसक्छ : लोसपा

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीबाहेक जोसँग पनि सहकार्य हुनसक्ने बताएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहकार्य हुनै नसक्ने बताएका हुन्।

सोमबार बिहान सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै दुवै नेताले आगामी चुनावमा जुनसुकै दलसँग सहकार्य हुन सक्ने तर यादव र उनको दलसँग सहकार्य नहुने बताएका हुन्।

दुवै नेताले यादवलाई आफूहरुले अफ्ठ्यारो अवस्थाबाट एकीकरण गर्दै पार गराए पनि उनी मधेस आन्दोलनलाई फुटाउने र राज गर्ने बाटोमा हिँडेकाले सहकार्य हुन नसक्ने प्रष्टीकरण दिए। माग र मुद्दाका आधारमा अन्य दल र सरकारसँग सहकार्यको सम्भावना रहे पनि यादवसँग नहुने उनीहरुको धारणा छ।

हामी आफ्नो माग र मुद्दाम अडिग छौँ : ठाकुर
अध्यक्ष ठाकुरले आफूहरुको प्राथमिकतामा नरहेको जिकिर गर्दै आफ्नो माग र मुद्दामा अडिग रहेको दाबी गरेका छन्।

राजविराजमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै ठाकुरले आफूहरु जहिले पनि सरकारको कुरा आउँदा माग र मुद्दालाई सँगै राखेर हेर्ने गरेको पनि दाबी गरेका छन्।

उनले राजनीतिक दल भएपछि सरकारमा नजाने कुरा जायज नभए पनि आफूहरु मुद्दाका कारण राजनीति गरिरहेकाले मुद्दा बिर्सेर सरकारमा कहिल्यै नगएको ठोकुवा गरेका छन्।

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ताबारेमा कुनै पनि कुराकानी नभएको पनि प्रष्टीकरण दिएका छन्। ठाकुरले आफूहरु देउवा प्रधानमन्त्री भए लगत्तै आफूहरु भेटेर आफूहरुले उठाउँदै आएको माग र मुद्दाको सम्बोधन गर्नु पर्ने बारेमा जानकारी गराएको पनि बताए। उनले लोसपा तत्काल सरकारमा जाने सम्भावना नरहेको बताए।

उपेन्द्र यादवसँग अब कार्यगत एकता गर्न पनि गाह्रो छ : महतो
पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावताका अन्य दलहरुसँग सिटको तालमेलको आधारमा सहकार्यको सम्भावना रहे पनि उपेन्द्र यादव नेतृत्वको जसपासँग अब सहकार्य नहुने बताए।

महतोले आफूहरुले मधेशमा एउटै पार्टी बनाउने उदेश्यले यादवको पार्टी फुटिरहेको बेला एकीकरण गरेको तर यादवले त्यही पार्टी फुटाउनका लागी निर्वाचन आयोगमा दरखास्त दिएको आरोप लगाए। महतोले यादवले मधेशलाई पटक पटक विभाजन गरेको आरोप लगाउदै मधेशी जनताले त्यसको दण्ड दिनेमा आफूहरु विश्वस्त रहेको पनि बताए।

महतोले आफूहरुले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टी मधेससहित सम्पूर्ण सिमान्तकृत समुदायको हक अधिकारको पक्षमा जहिले पनि अडान लिइरहने बताउदै आवश्यक परेमा पुनः आन्दोलनमा जान सक्ने बताए।

भारतसँग विशिष्ठ सबन्ध
पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो दुवैले नेपालको सबै देशहरुसँग कुटनीतिक सम्बन्ध रहे पनि भारतसँग विशिष्ट सम्बन्ध रहेको दाबी गरे।

पूर्वभारतीय राजदुत रन्जित रेको हालै आएको किताबसँग जोडिएको प्रश्नमा ठाकुर र महतो दुवैले नेपाल र भारतको सम्बन्ध काठमाडौं र दिल्लीको मात्रै नभएको जिकिर गर्दै आम नागरिकको तहमा रहेको सांस्कृतिक सबन्धलाई नबिर्सन आग्रह गरे।

“कसेले के किताबमा लेखे, त्यो सम्बन्धित व्यक्तिले जवाफ दिने कुरा हो”, ठाकुरले भने, “म दाबीका साथ भन्न सक्छु, नेपाल र भारतको सम्बन्ध अन्य कुनै देशसँग तुलना हुनै सक्दैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved