स्तन क्यान्सर विजेता पुरुषको हिम्मतको कथा

‘‘डरले होइन, हिम्मतले जितिन्छ क्यान्सर’’

शल्यक्रियाका लागि अस्पताल पुगे। तर एक्लै। वरिपरि हेर्थे सबैसँग कोही न कोही आफन्त थियो। उनीसँग परिवारजन थिएनन्।

‘‘डरले होइन, हिम्मतले जितिन्छ क्यान्सर’’
तस्विर: गोपेन राई/नेपालभ्यूज

२०७४ असोजको कुनै दिन, भिमसेनगोलाका ज्ञान लामा काम गर्दै थिए। एकाएक दायाँ स्तनबाट केही बगेजस्तो महसूस भयो। यसो हेरे लगाइरहेको सर्ट हल्का पानीले भिजेजस्तो देखियो। लुगा खोलेर हेरे, स्तनबाट पानीजस्तो सेतो पदार्थ बगिरहेथ्यो।

उनी अलमलमा परे। शुरुमा त केही होला भनेर खासै वास्ता गरेनन्। काममै लागिरहे। पाँच–छ घण्टापछि फेरी त्यस्तै सेतो पानी आयो।

यसपाली उनी अत्तालिए। नजिकै चिरायु अस्पताल थियो। त्यहीँ गए। डाक्टरले उनको परीक्षण गरेपछि जे भने त्यसले आश्चर्यचकित भए।

डाक्टरले त्यो लक्षण स्तन क्यान्ससँग मिल्दोजुल्दो छ भने। उनलाई युएसजी, भिडिओ एक्सरे आदि परिक्षण गर्न लगाइयो। ती परिक्षणबाट मात्रै क्यान्सर भए, नभएको पत्ता लगाउन गाह्रो थियो। मेमोग्रा मगर्नुपर्ने भयो। अस्पतालमा त्यो प्रविधी नभएकाले निप्लमा सानो सुइ लगाएर डाक्टरले जाँचे। स्तन भित्र सानो रौं जस्तो नसा सुनिएकाले यस्तो समस्या देखाएको हो भन्दै औषधि दिएर पठाए।

औषधी खान थालेको केही समयपछि बिस्तारै लामाको स्तनबाट पानी आउने समस्या कम भयो। सञ्चो भयो भनेर ढुक्क भए। जीवन पहिलेजसरी नै चल्न थाल्यो। दुई वर्ष बित्यो।

२०७६ चैतबाट कोभिड महामारीका कारण लकडाउन भयो। शहर सुनसान थियो। उनी भने बिरामी साथीलाई कुर्न शिक्षण अस्पतालमा थिए। अस्पतलाको करिडोरमा बसिरहेका थिए, नाताले बहिनी पर्ने त्यही अस्पतालकी नर्सले उनको छातीतिर इशारा गर्दै भनिन्, “दाई तपाईंको त्यहाँ रगत लागेको छ।”
उनी झसंग भए।

यसो हेरे नभन्दै स्तननेर रगतको सानो टिका जस्तो धब्बा थियो। सोचे, कतै कन्याउँदा रगत लाग्यो होला। खासै वास्ता गरेनन्। घर पुगेर रगत कहाँबाट आयो भनेर खोजे कतै घाउ भेटिएन। टिसर्ट खोले। नयाँ लगाए। त्यसमा पनि केही बेरमै उसैगरी रगत लाग्यो।

यसो हिसाब गरी हेरे, चार–चार घण्टाको फरकमा स्तनबाटै रगत आएको रहेछ।

पहिला पानीजस्तो तरल पदार्थ। अहिले रगत नै रगत।

शिक्षण अस्पतालमा रहेकी नर्स बहिनीलाई खबर गरे। बहिनीले शिक्षण अस्पतालमै कार्यरत स्तन क्यान्सर शल्यचिकित्सिक डा. सुजिता हिराचनलाई भेट्ने सल्लाह दिइन्।

डा. हिराचनले उनलाई बायोस्पी गर्न लगाइन्। क्यान्सरको शंकामा दोस्रो परिक्षण थियो यो। पहिलोपटक औषधी खाएपछि सेतो तरल पदार्थ आउन बन्द भएको थियो यसपाली पनि औषधीले नै निको होस् भन्ने कामना गरिरहेथे।

१० दिनपछि आएको रिपोर्ट भने उनको कामना अनुसार भएन। उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो। पहिलो चरणमा रहेछ। क्यान्सर! त्यो पनि स्तन क्यान्सर! पत्याउनै गाह्रो भयो। तर मेडिकल रिपोर्टको विश्वास नगर्न सम्भव थिएन। उपचारका लागि लागिपरे उनी।

एक्लो संघर्ष

ज्ञान लामाका निम्ति क्यान्सर अपरिचित रोग थिएन। क्यान्सरको हुरीले उनको घरमा हुण्डरी मच्चाइसकेको थियो।

पाँच वर्ष पहिला क्यान्सरकै कारण उनले श्रीमती गुमाउनुपरेको थियो। श्रीमतीको उपचारका लागि के मात्रै गरेनन् र उनले ? बसिरहेको घरसमेत बेचेर उपचार गराए। तर जीवनमा एक्लो हुन बाध्य भए।

डेराको कोठामा बसेर श्रीमतीसँग बिताएका दिनको स्मृतिमा दिन काटिरहेथे। तर अब त क्यान्सर उनकै शरीरमा प्रवेश गरिसकेको थियो।

“डाक्टरले क्यान्सर भयो भनेर सुनाउँदा संसार उल्टिएजस्तो महसूस भयो। अगाडि, पछाडि कोही थिएनन्। न त दाजुभाइ, न त जीवनसंगी”, ती दिन सम्झिँदै सुनाउँछन् उनी, ““आफन्तको नाममा एउटा छोरा छ त्यो पनि अष्ट्रेलिया पढ्न गएको छ। मलाई क्यान्सर लाग्यो भनेर सुनाउन पनि कोही भएन।”

तर मानिस यस्तो प्राणी हो जो जस्तोसुकै अत्यासलाग्दो आपतमा पनि जुधिरहन्छ। यो जिजिविसाले आँट दियो ज्ञान लामालाई पनि। हिम्मत गरे। पछि हटेनन्। उपचारका लागि तयार भए।

शल्यक्रियाका लागि १६ असार २०७७ को मिति तोकियो। तर अस्पताल जाँदा कोभिड महामारीका कारण सबै सेवा बन्द थिए। शल्यक्रियाको मिति दुई महीनापछि सारियो।

दुई महीना पर्खिने धैर्य कहाँ थियो र उनीसँग ? चिनेजानेका सबैसँग गुहार मागे। अन्ततः ३० असारमा पालो आयो।

शल्यक्रियाका लागि अस्पताल पुगे। तर एक्लै। वरिपरि हेर्थे सबैसँग कोही न कोही आफन्त थियो। उनीसँग परिवारजन थिएनन्। आफन्त बोलाउन बेला अप्ठ्यारो थियो।
मनमा अनेकन् शंका, उपशंका उब्जिरहेथे तर हिम्मत पनि उत्तिकै थियो।

“म भित्र धेरै हिम्मत थियो तर जब थिएटर भित्र लगियो फेरि बाहिरको दुनिया देख्न पाउँछु जस्तो लागेको थिएन। अप्रेशन सफल हुने हो कि के हुने हो मेरो त कोहि आफ्न्त पनि छैन भन्ने मनमा लागिरहेको थियो”, उनी सुनाउँछन्।

६ घण्टा लामो भयो शल्यक्रिया। उनको दायाँ स्तनबाट लगभग डेढ किलोग्राम जति मासु निकालियो।

ज्ञान सुनाउँछन्, “डाक्टरले एक घण्टामा सकिन्छ भनेको अप्रेशनमा ६ घण्टा लाग्यो। डाक्टर नै चकित परे। स्तनसँगै लगभग डेढ किलो जति मासु पनि फाल्नु पर्‍यो जसका लागि एक बित्ता बराबर काटिएको छ।”

शल्यक्रियाको चार दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भए। हुन त उनले नीजि अस्पताल ठीक हुन्छ, सरकारी अस्पतालमा राम्रो हुँदैन भन्ने सुनेका थिए। तर फरक रह्यो

उनको अनुभव। शिक्षण अस्पतालमा राम्रो उपचार पाएको उनी बताउँछन्।

“डा. हिराचनले गर्दा नयाँ जीवन पाएँ”, उनी भन्छन्।

अहिले उनी स्वस्थ छन्। तर मौसम परिवर्तन हुँदा भने विशेष ख्याल गर्नुपर्ने अनुभव सुनाउँछन्।

“धन्न बेलैमा अपरेसन हुन पायो। दुई महीनापछि गर्नुपरेको भए त क्यान्सर कहाँसम्म फैलिन्थ्यो होला, अहिले यसरी संसार देखिरहेको हुन्थेन हुँला”, ज्ञान सुनाउँछन्।
शल्यक्रिया त भयो तर स्टिच खोल्न १५ दिनपछि दिन बिराएर अस्पताल जानुपथ्र्यो। “लकडाउनका कारण गाडी नपाइने भएकाले आफै बाइक चलाएर अस्पताल पुग्दा डाक्टर नै छक्क परे”, उनले बताए।

अप्रेशन गरेको एक महीनापछि उनलाई ८ वटा केमो दिनुपर्ने भयो। त्यो क्षण भने उनका लागि निकै पीडाजनक रह्यो। सुनाउँछन्, “केमो दिएको पाँच घण्टापछि केहि खान नहुने, बान्ता हुने, कोही बोल्यो भने झनक्क रिस उठ्ने, एक्लै बस्न मन लाग्ने, फोन बज्यो भने पनि रिस उठ्ने जस्ता समस्याहरुले पिडा दियो।”

सबैलाई सन्देश

क्यान्सर अहिले पनि आम नेपाली जनमानसमा ठूलो र डरलाग्दो रोग मानिन्छ। परिक्षणदेखि उपचार खर्चले पनि यसलाई डरलाग्दो बनाएको छ। तर क्यान्सर लाग्दैमा मरिहाल्ने भइयो भनेर हरेस खान नहुने सन्देश छ ज्ञानको।

भन्छन्, “क्यान्सर भन्ने बित्तिकै जसलाई पनि डर लाग्छ। मलाई पनि शुरुमा निकै डर लागेको थियो तर क्यान्सर पराजित गर्न डर भन्दा पनि हिम्मत चाहिने रैछ। मलाई क्यान्सर लाग्यो अब म मरिहाल्छु भनेर दिनरात त्यस्कै चिन्ता लिइरह्यो भने रोगले झन् च्याप्नसक्छ”, उनले अनुभव सुनाए।

क्यान्सर निको भइसके पनि उनी डाक्टरको सल्लाह अनुसार नै दैनिकी चलाइरहेछन्। कोठामा एक्लै बस्छन्। खाना बनाउनेदेखि सबै काम एक्लै गर्छन्।

ज्ञान भन्छन्, “डा. हिराचन सहित शिक्षण अस्पतालले मलाई नँया जीवन दियो त्यहि सम्झेर पनि अहिले शुक्रबार र शनिबार डिस्चार्ज वार्डमा स्वंमसेवकको रुपमा काम गरिहेको छु।”

पुरुषलाई पनि हुन्छ र स्तन क्यान्सर

स्तन क्यान्सर भयो भन्दा शुरुमा पत्याउनै सकेका थिएनन्। उनलाई मात्र होइन तयो खबर शिक्षण अस्पतालकै कर्मचारीका लागि पनि उत्तिकै अपत्यारिलो थियो।

“बिरामी खोई भन्दै यताउता आँखा डुलाएर हेर्थे”, उनले सुनाए, “भक्तपुर अस्पतालमा पनि त्यस्तै भयो। केमो थेरापीको लागि गएको थिएँ, त्यहाँ जाँदा एक जना क्यान्सर बिरामी झोक्राएर बसिरहेका थिए। उनलाई सम्झाउदै म पनि स्तन क्यान्सर बिरामी हो भन्दा नपत्याएर यो त केटीलाई मात्र लाग्ने रोग होइन भनेर सोधे।”

अवश्य पनि पुरुषमा स्तन क्यान्सर दुर्लभ रोग हो। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार विश्वभर सय जना स्तन क्यान्सर रोगीमध्ये एक जना मात्र पुरुष हुन्छन्। नेपालमा भने एक, दुई हजार स्तन क्यान्सरका रोगीमध्ये एक, दुईजनाामा स्तन क्यान्सर पाइएको उनले बताए।

डा. शाही भन्छन्, “महिला र परुषमा स्तन क्यान्सर हुँदा प्रायः एकैखालका लक्षण देखिने गर्छ। स्तनमा गिर्खा आउने, निप्पलको आकारमा परिवर्तन हुने, रगत वा पानी बग्नेजस्ता लक्षण देखिन्छन्।”

भिडिओमा हेर्नुहोस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved