नेपाली कांग्रेसको महाधिवशेन

काठमाडौंमा इतरपक्ष मिल्दा देउवापक्ष कमजोर

चुनावी परिणामले सिंह र थापाको गठजोड काठमाडौँमा बलियो देखिएको छ। देउवा पक्ष कमजोर देखिन्छ।

काठमाडौंमा इतरपक्ष मिल्दा देउवापक्ष कमजोर

काठमाडौँ। संघीय राजधानी काठमाडौँमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। आइतबार सम्पन्न नगर अधिवेशनमा प्रकाशमान सिंह र गगन थापाको प्यानल फराकिलो मतसहित सहित विजय भए। काठमाडौँ महानगरपालिकाबाहेक थोरै मात्र नगरमा मात्र जितेपछि सभापति देउवा पक्षलाई ठुलो झट्का लागेको छ।

पूर्वउपसभापति समेत रहेका सिंह काठमाडौँमा राम्रो प्रभाव भएका नेता मानिन्छन्। उता युवा नेता गगन थापा पनि प्रभावशाली देखिन्छन्।  सिंह र थापा एउटै प्यानल बनाएपछि सभापति देउवा र पूर्वमहामन्त्री सिटौला पक्ष संयुक्त प्यानलमा उत्रिएका थिए। अझ देउवा पक्षलाई भीमसेनदास प्रधानसहितका नेताहरूको साथ थियो।

चुनावी परिणामले भने सिंह र थापाको गठजोड काठमाडौंमा बलियो देखिएको छ। काठमाडौँका ११ स्थानिय तह मध्ये सिंह र थापाले ८ ओटामा जितेका छन्। देउवा पक्षमा ३ ओटा मात्र चित्त बुझाउनु परेको छ।

महानगरमा निलकाजी, अरू नगरमा पनि सिंह थापा पक्षकै वर्चस्व

काठमाडौँ महानगरपालिकामा आइतबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्जित पराजित भएका छन्। संस्थापन इतर पक्षका निलकाजी शाक्यको विजयी भएका छन्। १४ औँ महाधिवेशन अन्तर्गतको चुनावमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहको समर्थन पाएका शाक्यले करिब दोब्बर मतान्तरको फरकमा सभापतिमा निर्वाचित भए।

उता शंखरापुर नगरपालिकाको सभापतिमा सत्यमान लामालाई पराजित गर्दै दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचित श्रेष्ठ पनि देउवा इतर पक्षका हुन्।

त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन्। यस्तै बुढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्।  निकटतम प्रतिस्पर्धी राजन बुढाथोकी पराजित भए।  कागेश्वरी मनोहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल निर्वाचित भएका छन्। सभापतिका प्रत्याशी मिठ्ठाराम दाहाल पराजित भए।

तारकेश्वरका नगर सभापतिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट कृष्णहरि महर्जन विजयी भएका छन्। संस्थापन पक्षका श्रीराम थापा पराजित भए। उता टोखा नगरपालिकामा सिंह पक्ष नेतृत्वमा आएका छन्। ओमकृष्ण विमली निर्वाचित भएका हुन्। सिटौला समूहका उम्मेदवार दीपक जोशी पराजित भएका छन्।

गोकर्णेश्वरमा पनि सिंह निकट कुमार लामा सभापतिमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी रामजी श्रेष्ठ पराजित भए। नागार्जुन नगरपालिकामा पनि सिंह निकट दुर्गा गौतम विजयी भएका छन्। उनले अच्युत पाण्डेलाई पराजित गरेका छन्।

कसरी बन्यो सिंह र थापाको गठजोड ?

मंसिरमा हुने १४ औँ महाधिवेशनका लागी सिंहले सभापति र थापाले महामन्त्रीमा आआफ्नो उम्मेदवारी स्वतन्त्र ढंगले गरिसकेका छन्। पूर्वउपसभापति सिंह र युवा नेता थापाको काठमाडौँमा भएको गठजोडलाई कांग्रेसको राजनीति वृत्तमा आश्चर्यजनक परिघटनाको रुपमा लिइएको छ।

कुनै वेला सिंह र थापाको वोलचालसम्म नरहेको सम्झना कतिपय नेताहरुलाई छ। तर, अहिले १४ महाधिवेशनको सन्दर्भमा आएर सिंह र थापा गठबन्धन बनाएर काठमाडौँमा एक साथ बलियो गरि सार्वजनिक रुपमा देखिएका छन्।

सिंह र थापा निटककाअनुसार यो गठजोड अहिले आएर मात्रै बनेको होइन। गत संसदीय निर्वाचनमै नजिकिएका थिए। तत्कालीन वाम गठबन्धनका कारण काठमाडौँमा राम्रो प्रभाव भएपनि सिंह र थापा आआफ्नो निर्वाचन क्षेत्रमा असुरक्षित महसुस गरेका थिए। त्यसका लागी दुवै नेताको बीचमा एकले अर्काको निर्वाचन क्षेत्रमा सघाउने गरी गठबन्धन बनेको थियो।

“यसले दुवै नेतालाई काठमाडौँको पार्टी पङ्क्तिमा पकड जमाउन मद्दत मिलेको छ” कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक शंकर तिवारी भन्छन्, “दुवै जनालाई एक अर्काको खाँचो परेकाले अहिलेको गठबन्धन देखिएको छ।”

यो गठबन्धन महाधिवेशनमा पनि रहिरहन्छ की टुट्छ भन्ने अहिले नै यकिन नरहेको तिवारीको विश्लेषण छ। यस्तै भनाइ पुर्वउपसभापति सिंह निकट नेताहरूको पनि छ। यद्यपी उनीहरु एक अर्कामा परस्पर मिलेर अघि बढ्ने कुरा भएको दाबी गर्छन्।

सिंह निकट नेता राजुराज जोशीले पनि अहिले गठ जोड काठमाडौँको सन्दर्भमा मात्रै भएको बताए। यद्यपी यो महाधिवेशनमा पनि जान सक्ने तर त्यसका बारेमा अहिले नै कुनै ठोस टुंगो नलागी सकेको उनी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved