“राष्ट्र बैंकको नीति सकारात्मक छ, यसलाई शेयर बजारसँग जोड्नु हुँदैन” (अन्तर्वार्ता)

नियामक निकायले यो गर्‍यो, त्यो गर्‍यो भनेर बजार हस्तक्षेप गरेर नाफा कमाउने लगानीकर्ताहरू छन्, यो ठीक होइन।

नेपालभ्युज

“राष्ट्र बैंकको नीति सकारात्मक छ, यसलाई शेयर बजारसँग जोड्नु हुँदैन” (अन्तर्वार्ता)

पछिल्लो एक महीनामा शेयर बजारमा निकै उतारचढाव देखिएको छ। उतारचढावकैबीच करीब ३३ सयमा पुगेको नेप्से परिसूचक २६ सयमा झरेको छ। यसलाई केही लगानीकर्ताले नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीले अनावकश्यक हस्तक्षेप गरेको भनी गभर्नर तथा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेर विरोध प्रदर्शन पनि गरिरहेका छन्।  यिनै शेयर बजारमा आएको उतारचढाव, राष्ट्र बैंकको नीतिलगायत विविध विषयमा शेयर विश्लेषक डा. गोपाल भट्टसँग गरेको कुराकानीको सार: 

एक महीनादेखि शेयर बजारमा जुन किसिमको उतारचढाव छ यो के कारणले भयो?

बजारको उतारचढाव स्वाभाविक हो। करेक्सन हुनुपर्छ। बजारका आधारमा शेयरको मूल्य निर्धारण हुनुपर्छ। नेपालको बजार हेर्दा शेयरमा उच्च वृद्धि हुनुपर्छ भन्ने छैन। कुन कम्पनीले कति राम्रो प्रदर्शन गरे र बजार बढेको बढ्यै हुनुपर्‍यो ? कम्पनीहरूको प्रदर्शन राम्रो छैन। यतिसम्म कि राम्रो डेभिडेन्ट दिनेसम्म अवस्था बनिसकेको छैन। भकाभक बढाउनुपर्ने त्यस्तो आर्थिक सूचक पनि छैन। त्यसैले बजार सही दिशातर्फ आउँदैछ। अहिले बजार उतारचढाव भन्दा पनि करेक्सनतर्फ गएको हो। बजार आफैमा ठीक अवस्थामा नहुँदै परिसूचक उच्च हुनु अस्वाभाविक हो। करेक्सन आवश्यक छ।

केही वर्षयता बीचमा केही उतारचढाव देखिए पनि बजार ‘बुम’ नै भइरहको अवस्थामा अहिले बजार अब घट्ने विश्लेषणहरू पनि आउन थालेका छन्। केही लगानीकर्ताले राष्ट्र बैंकको नीतिलाई दोष दिएका छन्, राष्ट्र बैंकले बजारमा हस्तक्षेप गरेको हो?

राष्ट्र बैंकले जुन नीति लिएको छ त्यो अर्थतन्त्रका हिसाबले एकदमै सकारात्मक हो। यसलाई शेयर बजारसँग जोड्नुहुँदैन। सरकारले पनि आफ्नै नीति ल्याउँछ। सरकारले अहिले कालो धनलाई सेतो बनाउ भनेर नीति ल्याइदियो। लगानीकर्ताले यसको किन विरोध गरेनन्? त्यो धन पनि त बाहिर आउँछ अब। त्यसलाई त हस्तक्षेप गरेनन् त लगानीकर्ताले । खालि राष्ट्र बैंकलाई मात्रै दोष दिने ?

राष्ट्र बैंकले लिएको नीति लगानीकर्ताको संरक्षणको नीति हो राष्ट्र बैंकले निक्षेपकर्ताको ब्याज एवं लगानीकर्ताको ब्याज हेर्छ। बजारको उतारचढाव त माग र पूर्तिले निर्धारण गर्ने हो।  बजारमा सूचनाको भूमिका रहन्छ। लगानीकर्ताले राष्ट्र बैंकको नीतिलाई जुन किसिमले अर्थ्याए त्यो गलत हो। संरक्षणको नीतिको हिसाबले अर्थ्याएको भए बजार प्रभावित हुने थिएन।

शेयरका मुख्य खेलाडी जसले आफ्नो पैसाले होइन, बैंक वित्तबाट पैसा लिएर शेयरमा लगानी गर्ने गर्छन्। त्यो पनि अर्काको बचत ठूलो मात्रामा चाहियो रे! यसरी अर्काको पैसा शेयरमा लगानी गरेर नाफा कमाउनेले राष्ट्र बैंकको नीति गलत ढंगले अर्थ्याए। आर्थिक वृद्धि चाहने हो भने राष्ट्र बैंकको क्रेडिट उत्पादनमूलक क्षेत्रमा जानुपर्छ। यस्तो ऋण जुन लगानीकर्तालाई दिइन्छ त्यो ब्रोकरमार्फत जाने हो। राष्ट्र बैंकले मार्जिन तोकिदिने हो। राष्ट्र बैंकको नीतिको कारण बजारलाई तल ल्यायो भन्नु उपयुक्त होइन। बजार तल गयो भने अस्वाभाविक रूपमा नाफा कमाइरहेकाहरूले राष्ट्र बैंक, सेबोनलगायत नियामक निकायलाई दोष दिने गरेका छन्। बजार निरुत्साहित गर्ने काम राष्ट्र बैंकले गर्दैन। यसले त बजारको संरक्षण गर्छ। त्यही गरेको हो।

राष्ट्र बैंकले शेयर कर्जामा १२ करोडसम्मको सीमितता तोकिदिएपछि लगानीकर्ताले गभर्नरको राजीनामासम्म मागेर प्रदर्शन गरे नि?

तपाईं हाम्रो बैंकमा भएको जम्मै पैसा शेयर बजारमा लगानी गर नाफा कमाऊ भनेर दिने ? यसो गरे यसको परिणाम के हुन्छ ? मुलुकको अर्थतन्त्र कता जान्छ ?  बैंक डुब्दैन ? यसरी हाम्रो बचत सुरक्षित हुन्छ त ? बचतकर्ताले राष्ट्र बैंकलाई के भन्छ? जम्मै पैसा शेयर लगानीकर्तालाई दिएर राष्ट्र बैंकले लाइसेन्स दिएका बैंकमै निक्षेप सुरक्षित भएन भने सर्वसाधारणको के हुन्छ ? त्यसैले यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेर नियमन गर्नुपर्छ। राष्ट्र बैंकले जुन नीति लिएको छ त्यो अर्थतन्त्रका हिसाबले एकदमै सकारात्मक हो। यसलाई शेयर बजारसँग जोड्नुहुँदैन। सरकारले पनि आफ्नै नीति ल्याउँछ। सरकारले अहिले कालो धनलाई सेतो बनाउ भनेर नीति ल्याइदियो। लगानीकर्ताले यसको किन विरोध गरेनन्? त्यो धन पनि त बाहिर आउँछ अब। त्यसलाई त हस्तक्षेप गरेनन् त लगानीकर्ताले । खालि राष्ट्र बैंकलाई मात्रै दोष दिने ?

राष्ट्र बैंकको नीतिले साना लगानीकर्तालाई संरक्षण गरेको हो?

राष्ट्र बैंकले मापदण्ड कायम राख्छ। राज्यको संरक्षण र सर्वसाधारणको बचत संरक्षण गर्न केही नीति ल्याउँछ। यो नीतिले साना लगानीकर्ताको संरक्षण गरेको छ। साना लगानीकर्ता बिचल्ली नपरून्, ठूला लगानीकर्ताको चेपुवामा नपरून्, बजार स्थिर होस्, बजारमा बैंकको पैसा लगानी गरेर नाफा कमाउनेहरूले गर्दा अर्थतन्त्रमा जोखिम नबढोस् भन्ने राष्ट्र बैंकको नीति हो।

साना र ठूला जे भएपनि शेयर भनेको जोखिमकै लगानी हो। त्यसैको परिणाम बजार कहिले माथि जान्छ त कहिले तल जान्छ। बजार कता जान्छ भन्ने कुरा थाहा हुँदैन। नियामक निकायले यो गर्‍यो, त्यो गर्‍यो भनेर बजार हस्तक्षेप गरेर नाफा कमाउने लगानीकर्ताहरू छन्, यो ठीक होइन।

(डा. भट्ट पुँजी बजारविज्ञ एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved