“ओली सरकारमा सहभागी हुनु भूसालको राजनीतिक गल्ती थियो”

“ओली सरकारमा सहभागी हुनु भूसालको राजनीतिक गल्ती थियो”

नवौं महाधिवेशनसम्म घनश्याम भूसालको विचार र व्यक्तित्वको उत्कर्षको समय थियो। जब उहाँ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषिमन्त्री हुनुभयो उहाँको विचार र व्यक्तित्वमा असर परेको देखिन्छ।

उहाँ मन्त्री भएको अवस्थामा पार्टीका सदस्यमा मात्रै होइन विचारमा पनि दक्षिणपन्थ हाबी भएको अवस्था थियो। वैचारिक रूपमा दक्षिणपन्थ हुन मिल्छ, तर, त्यहाँ धेरै किसिमको जालझेल, गुटबन्दीसहित ओली नेपाली कम्युनिष्ट आन्दोलनमा हाबी भएको समय थियो त्यो। त्यस्तो परिस्थितिमाझ उहाँ मन्त्री बन्न जानुभयो। ओलीको मन्त्रिमण्डलको मन्त्री बन्न जानु उहाँको राजनीतिक गल्ती थियो।

कषिमन्त्री हुँदा मल ल्याउन सक्नुभयो भएन त्यो अर्को पाटो हो, उहाँ जुन नेतृत्वलाई स्वीकार गरेर मन्त्री बन्न जानुभयो त्यो नै गलत थियो। मल ल्याउन नसक्नुमा यहाँको कर्मचारीतन्त्रका केही गल्ती थिए होलान्, र अन्य पक्षका पनि गल्ती थिए होलान्। त्यसमा पूर्ण रूपमा मन्त्री मात्रै दोषी थियो भन्ने मलाई लाग्दैन। मन्त्री हुँदा गर्न नहुने केही काम गरेको छ जस्तो पनि लाग्दैन। मन्त्री पद छोडेको करीब एक वर्षसम्म केही बदमासीका किस्सा बाहिर नआउँदा मन्त्रीका रूपमा उहाँले खास केही गर्न नहुने काम गर्नुभएको छैन होला, विश्वास गर्न सकिन्छ।

मन्त्री पद स्वीकार गरेर मन्त्रिमण्डलमा सहभागी हुनु उहाँको राजनीतिक क्षयीकरणको शुरुवाती विन्दु थियो। संविधानलाई च्यात्ने काममा ओली जुन हिसाबले लाग्नुभयो त्यसलाई रोक्न घनश्याम भूसालहरूले खेलको भूमिकाले मन्त्री पदका कारण गिरेको उहाँको राजनीतिक व्यक्तित्वलाई उठाउने काम गर्‍यो। यद्यपि ओलीका गलत कामलाई सर्वोच्च अदालतको कदमले रोक्ने काम गरेपछि भूसालले गरेका राजनीतिक निर्णय कच्चा प्रकारका छन्।

उहाँ एमालेमा रहेकाले बेठीक भयो समाजवादी पार्टीमा गएको भए ठीक हुन्थ्यो भन्ने पक्षमा म छैन। ओलीलाई ठीक ठाउँमा ल्याउन भएको १० बुँदे सहमति मात्रै पर्याप्त थिएन।

ओलीले नेपालको लोकतन्त्रमाथि नै राजनीतिक अपराध गरेका थिए संसद दुई-दुई पटक विघटन गराएर। त्यो अपराधपछिको भूसालको अडान भने ठीक थिएन। त्यो ठीक थिएन भन्ने पछिल्ला घटनाले देखाएका छन्।

ओलीका राजनीतिक अपराधलाई पार्टीभित्रका संस्थाले संरक्षण गर्ने दिशामा गइरहेको देखिन्छ। ओलीको स्थान त अहिले पार्टीमा भगवानभन्दा माथि रहेको देखिन्छ।
हाम्रो राजनीतिलाई विषाक्त गरेको, समाजलाई समाजवादतर्फ उन्मुख हुन नदिएको र लोकतन्त्रलाई मजबुत गर्न नसकेको भन्ने व्याख्या गर्दै दलाल पुँजीवादलाई भूसालले जुन हिसाबले व्याख्या गर्छन् त्यो विश्लेषण ठीक छ।

मन्त्री पद स्वीकार गरेर मन्त्रिमण्डलमा सहभागी हुनु उहाँको राजनीतिक क्षयीकरणको शुरुवाती विन्दु थियो। संविधानलाई च्यात्ने काममा ओली जुन हिसाबले लाग्नुभयो त्यसलाई रोक्न घनश्याम भूसालहरूले खेलको भूमिकाले मन्त्री पदका कारण गिरेको उहाँको राजनीतिक व्यक्तित्वलाई उठाउने काम गर्‍यो।

एमाले शतप्रतिशत दलाल पुँजीवादको हतियार हो। कुनै पनि दृष्टिकोणबाट त्यो प्रगतिशील होइन, समाजवादी र लोकतन्त्रवादी शक्ति होइन। एमाले पार्टी दलाल पुँजीवादको कठपुतली हो। त्यही पार्टीभित्र बसेर भूसालले दलाल पुँजीवादविरुद्ध लाग्नुपर्ने कुरा गर्दै आएका छन्, एक हिसाबले त्यो राम्रो हो। तर, प्रश्न त्यसको निकास के भन्ने हुन्छ।

यसको मतलब भूसालको वैचारिक क्षमतामा कमी आयो भन्ने होइन। वैचारिक हिसाबमा उहाँ प्रतिभाशाली मान्छे हो, विचार व्यवहारमा परिणत नहुँदा समस्या देखिएको छ।

विचारक, अध्येता र नैतिक रूपमा अक्सर मान्छे भूसाल राम्रो संगठक भने होइनन्। पार्टी जीवनमा विचारले जति महत्व राख्छ संगठन निर्माणको क्षमताले पनि उत्तिकै महत्व राख्छ, त्यसमा उहाँको कमजोरी छ। पार्टीको विचार निर्माण प्रक्रियामा हस्तक्षेपकारी भूमिका खेल्ने मान्छे पार्टी जीवनमा एक्लो हुँदै गएको देखिन्छ, यो कुशल संगठन नहुनुको परिणाम हो।

खासखास अवस्थामा आफ्ना विचारमा उहाँ सम्झौता गर्नुहुन्छ, यो भूसालको अर्को कमजोरी। लामो समयको संगत भए पनि भूसाल आफ्नै विचारमा पनि किन सम्झौता गर्छन् मैले बुझ्न सकेको छैन।

वैचारिक हिसाबमा अब्बल मानिस संगठानिक हिसाबमा कमजोर भएको भूसाल मात्रै एक उदाहरण भने होइनन्। नेपाली कांग्रेस, माओवादीलगायत नेपालका अन्य पार्टीमा पनि वैचारिक व्यक्तित्वहरू पाखा लाग्दै गएको देखिन्छन्।

जुन विचार बोकेर र जुन बाटोमा नेपालको कम्युनिष्ट आन्दोलन एमाले नेतृत्व गर्दैछ त्यसले पुर्‍याउने कमजोरीतिर नै हो। हामीले इतिहासका गल्तीहरूलाई समीक्षा गर्न सकेनौँ भने त्यसले कम्युनिष्ट आन्दोलनलाई कतै पनि पुर्‍याउँदैन। सोभियत संघले चलाएका कम्युनिष्ट आन्दोलन, उसको आड भारोषामा विश्वका अन्य देशमा सञ्चालन भएका कम्युनिष्ट आन्दोलन होस् वा चीनको कम्युनिष्ट आन्दोनल। यी सबैमा विचारधाराको प्रश्नकै कारण समस्या उत्पन्न भएका छन्।

त्यसैले वर्तमान सन्दर्भमा कम्युनिष्ट आन्दोलनलाई बढाउन विचार र संगठन दुवै सन्दर्भमा कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्ने बेला आएको छ। अहिले देखिएका भन्दा नयाँ किसिमको बाटो खोज्नुपर्ने देखिन्छ। उग्र दक्षिणपन्थी र उग्र वामपन्थीभन्दाबाहेक अन्य बाटो नै नभएका हुन्/होइन, हामीसँग अन्य विकल्प पनि छन्। आन्दोलनका बाटो शिलालेख जस्तो होइन, यहाँ विकल्प हुन्छ। त्यही विकल्पको खोजी गर्नु आवश्यक देखिन्छ।

समाजिक निर्णयको धर्मलाई पालना गर्दै सबैलाई न्याय दिने हिसाबमा नयाँ बाटो खोज्नुर्छ। त्यही नयाँ बाटो नखोजेका कारण माओवादी आन्दोलन विर्सजन गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसलाई पार्टीलाई हामी नवउदारवादी भन्छौँ तर एमाले, मोओवादी र कांग्रेसबीच कार्यसम्पादनका हिसाबमा अब केही फरक देखिँदैन। पार्टी भनेको विचार हो, त्यो विचारले कार्यसम्पादनमा फरक ल्याउँछ। फरक नदेखिएका कुरालाई फरक पार्न वैचारिक प्रस्थान विन्दुहरू नै नदिएको कारण अहिले यी समस्या देखिएका हुन्।

जुनबेला पार्टीले उहाँहरूमाथि कारबाही गरेको थियो, त्यो बेला उहाँलाई आफ्नो विचार पुनर्गठन गर्ने ठूलो अवसर थियो, अवसर उपयोग भएन। विचार पुनर्गठनको बाटोलाई उहाँले छोड्नुभएको छ, पुनर्गठन गर्नुबाहेक अब उहाँसँग अर्को विकल्प छैन।                                                                                                                                                                                 (कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved