सडकको अभव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझैँ झोलुङ्गेको प्रयोग भइरहेको हो। दिगो सडक सञ्जालमा अझैँ जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षाका बेला खोला तरेर झोलुङ्गेमा बिरामी लैजान पनि कठीन हुँदै आएको छ। दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताए।
‘‘गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गेमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पुर्याउन हामी बाध्य छौँ तर खोलामा बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको छ,’’ अर्का स्थानीयवासी चन्द्र वाइबा बताउँछन्। जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैँसम्म विद्यमान छ ।
ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गेमा बोकेर लैजानुपर्छ तर कहिलेकाही बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताए। प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भई रहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँको विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको जानकारी दिए।
स्थायी बाटो बनाउने योजना बनाइएर यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको जानकारी उनले दिए।
Facebook Comment
Comment