काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवा सभापतिमा दोहोरिए कांग्रेस कमजोर बन्ने जिकिर गरेका छन्।
काठमाडौं महानगरको नगर अधिवेशन उद्घाटन गर्दै पूर्व उपसभापति समेत रहेका सिंहले अबको महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउनुपर्ने बताए।
उपसभापति भइसकेकाले सभापतिमा उम्मेदवारी दिनु स्वभाविक भएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन आफूसँग स्पष्ट कार्यदिशा भएको दाबी उनले गरे।
गणेशमान सिंहको छोरो भएर नभई योगदानका आधारमा कांग्रेसमा आफू भएको बताउँदै उनले देशभरका नेता तथा कार्यकर्ताले त्यसैगरी बुझ्ने विश्वास व्यक्त गरे। पार्टीका लागि दिन रात नभनी आफू खटिएको उनको भनाइ थियो।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गगन थापाले अबको चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन्। उनले कम्युनिस्ट गठबन्धनमा कांग्रेसले चुनाव नलड्ने बताउँदै सबै कम्युनिस्ट एक ठाउँमा आएपनि कांग्रेसले पराजित गर्ने दाबी उनले गरे।
कांग्रेसको काठमाडौं महानगरको अधिवेशन आजदेखि राष्ट्रिय सभागृहमा शुरु भएको छ। अधिवेशनमा नेता सिंह र थापा एक प्यानल बनाएर लडेका छन् भने सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मिलेर प्यानल बनाएका छन्।