दशैँ बिदामा पनि पठनपाठन

कोरोना महामारीका कारण पठनपाठन प्रभावित भएको र गत महिनादेखि मात्रै शुरु भएकाले दशैँ बिदा कम गरिएको बताइएको छ।

नेपालभ्युज

दशैँ बिदामा पनि पठनपाठन
फाइल तस्वीर

बैतडी। विजयादशमीमा पनि बैतडीका केही विद्यालयमा बिदा नहुने भएको छ। दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा दशैँ बिदामा पनि पठनपाठन हुने भएको हो।

विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि यसवर्ष दुवै गाउँपालिकाले सूचना जारी गर्दै ६ दिनबाहेक दशैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन्।

दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि ३१ असोजसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ। डिलाशैनी गाउँपालिकाले पनि २६ असोजदेखि ३१ असोजसम्म बिदा हुने जनाएको छ।

कोरोना महामारीका कारण पठनपाठन प्रभावित भएको र गत महिनादेखि मात्रै शुरु भएकाले दशैँ बिदा कम गरिएको बताइएको छ। लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालय गत भदौ अन्तिम सातादेखि स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए।

बैतडीमा कूल ५६२ विद्यालय छन्। त्यसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved