माओ‌वादी सशस्त्र संघर्षप्रति फेरियो ओलीको बोली

संविधानसभा निर्वाचन गर्न समेत माओवादी आन्दोलनको भूमिका महत्त्वपूर्ण रहेको भन्दै ओलीको प्रतिवेदनमा भनिएको छ।

माओ‌वादी सशस्त्र संघर्षप्रति फेरियो ओलीको बोली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली माओवादी जनयुद्धप्रति आक्रामक र कठोर मानिन्छन्। १० वर्षे द्वन्द्वको क्रममा ओलीले माओवादी नेताहरूलाई जंगली र बाँदरको संज्ञा दिन्थे। उनलाई त्यति टिप्पणी गरेर पुग्दैनथ्यो ‘१७ हजार मानिसका हत्यारा, र हिंस्रक, ब्वाँसा आदि उपमाहरू दिँदै आएका थिए।

कतिसम्म भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा कहिल्यै उपस्थित भएनन्। तत्कालीन नेकपामा माओवादीपंक्तिसँग एकै पार्टीमा हुँदा ओलीले माओवादी आन्दोलन तथा जनयुद्धको विरोध त गरेनन् तर प्रशंसामा पनि एक शब्द खर्च गरेनन्।

नेकपाको आन्तरिक विवादकै कारण ओलीले संसद् विघटन गरे। त्यो समयमा एकैदलमा रहेका माओवादी धारका नेताहरू र एमाले पंङ्तीकै माधवकुमार नेपाल समूह ओली विरुद्धमा लागे। ओली पक्षविरुद्ध र ओली इतर पक्ष आन्दोलनमा थियो। तत्कालीन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै ओलीले भन्थे ‘‘तपाईंहरू जस्तो व्यासो होइन म। मान्छे मार्दै हिँड्ने विधवा बनाउँदै हिँड्ने।’’

ओलीको कटाक्ष माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वप्रति थियो। ओलीको आशय थियो ‘माओवादी आन्दोलन राजनीतिक परिवर्तन नभई क्रूर आपराधिक घटना थियो। हत्या थियो।’

माओवादी जनयुद्धले गणतन्त्रको आधार तयार गरेको कसै गरे पनि मान्न तयार थिएनन् ओली। यस कारण ओली, ओली पक्षीय नेताहरू र माओवादी धारका नेताहरूबीचमा प्रतिस्पर्धा, वैचारिक संघर्ष तिक्ततापूर्ण सम्बन्ध रह्यो।

२३ फागुन २०७७ मा नेकपा विभाजन भयो। सर्वोच्च अदालतको फैसलाले एमाले माओवादी साबिककै अवस्था पुगे। पार्टी विभाजनपछि त ओली माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैको अनुमान थियो। किनकि, ओली र उनका समूहका नेता–कार्यकर्ताले माओवादी नेताहरूलाई हत्यारा, हिंस्रक आदि उपनाम दिँदै आएका थिए।

तर, अहिले तिनै ओलीले माओवादीको सशस्त्र जनयुद्धलाई स्विकारेका छन्। शुक्रबार ललितपुरको गोदावरीमा शुरु एमालेको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओली सशस्त्र द्वन्द्वप्रति सकारात्मक देखिएका हुन्। उनले जारी गरेको राजनीतिक प्रतिवेदनमा माओवादी सशस्त्र संघर्षकै कारण गणतन्त्रको आधार तयार भएको स्वीकार गरिएको छ।

संविधानसभा निर्वाचन गर्न समेत माओवादी आन्दोलनको भूमिका महत्त्वपूर्ण रहेको भन्दै ओलीको प्रतिवेदनमा भनिएको छ।

‘नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्ष शुरु गर्याे। यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना गर्याे। महिला, दलित, मधेसी, जनजातिलगायतका उत्पीडित वर्ग समुदायलाई जागृत र संगठित गर्न तथा संविधानसभा निर्वाचन एवं गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनको भूमिका महत्त्वपूर्ण रह्यो।’

विधान महाधिवेशनमा वितरित राजनीतिक प्रतिवेदनको एक अंश

विधान महाधिवेशनमा प्रतिनिधिहरूलाई वितरण गरिएको ‘राजनीतिक  प्रतिवेदन’को पृष्ठ २९ मा उल्लेख छ-

‘प्रतिकूल विश्व परिस्थितिमा समेत नेपालमा वामपन्थी आन्दोलन लोकप्रिय रहेको, शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माणको सम्भावना प्रबल बनेको, क्रान्तिका उपलब्धिको रक्षा तथा समाजवादी भविष्य सुनिश्चित गर्न एकीकृत र बलियो कम्युनिस्ट पार्टीबाट मात्रै सम्भव रहेको तथा नेपाल राष्ट्रले भोगिरहेको परनिर्भरता, वैदेशिक हस्तक्षेप तथा राजनीतिक–सांस्कृतिक अतिक्रमणलाई अन्त्य गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमान सुदृढ गर्नका लागि बलियो वामपन्थी शक्तिको खाँचो रहेको बोधले दुई पार्टीबिच एकताको आधार निर्माण गरेका थिए।’

सोही पृष्ठभूमिमा, २०७४ असोज १७ गते दुई पार्टीबिच चुनावी गठबन्धन गरेको र पार्टी एकीकरण गरेको समेत ओलीले बताएका छन्।प्रतिवेदनमा लेखिएको छ ‘दुई पार्टीहरूको सामर्थ्य र लोकप्रियता (उदाहरणका लागि निर्वाचनमा प्राप्त क्रमशः ३२ लाख र १३ लाख मत) लाई आधार बनाएर होइन, कम्युनिस्ट आन्दोलनका दुई धाराको एकताको रुपमा अगाडी बढाउने प्रयास गरियो।’

माओवादीको सशस्त्र द्वन्द्वलाई ओलीको घुमाउरो पारामा प्रशंसा गर्नुले माओवादीको योगदान त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान प्रकट गरेको बुझिने विश्लेषकहरूको तर्क  छ। कतिपयले भने ओलीको यो दृटिकोणले ‘१० वर्षे माओवादी द्वन्द्व र त्यसको अगुवाइ गर्नेहरूप्रति सम्झौता गर्न चाहेजस्तो देखिएको’ बताउँछन्। किनकि माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, खगराज भट्ट, मणि थापा, प्रभु साहलगायतका नेता एमालेमै छन्। उनीहरूसहितका नेता कार्यकर्ताको सहानुभूति बटुल्न माओवादी सशस्त्र द्वन्द्वलाई घुमाउरो शैलीमा क्रान्तिका रुपमा व्याख्या गर्दै सकारात्मक बनेका हुन सक्ने आकलन गरिएको छ।

पर्दापछाडिका रहस्य

माओवादी सशस्त्र द्वन्द्व ओली सकारात्मक देखिएको जस्तो हुनुको पछाडि धेरै रहस्य लुकेको नेकपा (माले)का महासचिव सिपी मैनाली बताउँछन् ।
‘‘ओलीले कहिल्यै  पनि सिधै हान्दैनन्, उनले स्ट्राइकर शैलीमा हान्छन् । ओलीले माओवादीका थप नेता कार्यकर्तालाई आकर्षण गर्न पनि यस्तो भनेका हुन सक्छन् । सामान्य सहानुभूति बटुल्नका लागि मात्रै माओवादी आन्दोलनप्रति नरमजस्तो देखिनुभएको पनि हुनसक्छ । तर उहाँ माओवादी जनयुद्धप्रति कहिल्यै पनि सकारात्मक होइन’’, मैनाली भन्छन् ।
सीपी मैनाली, महासचिव, नेकपा (माले)
अर्कोतर्फ एमालेका धेरै नेता कार्यकर्ता माओवादी सशस्त्र आन्दोलनको समर्थन र उपलब्धिलाई स्विकार्दै आएकाले ओली लचिलो भएका हुनसक्ने मैनालीको अनुमान छ। पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति आम नागरिकको वितृष्णा भएकाले पनि ओलीले माओवादी आन्दोलनको पनि भूमिकाको चर्चा गरेको हुनसक्ने उनको बुझाई छ।
उनी भन्छन्,  ‘‘राजनीतिक अस्थिरता, नीतिगत भ्रष्टाचार, महँगो संघीय प्रणाली र धर्मान्तरको तीव्र गतिका कारण धेरैलाई यो व्यवस्थाप्रति वितृष्णा भएको ओलीको बुझाइ छ । यस कारण गणतन्त्रको आधार भूमि माओवादी संर्घर्ष थियो भनेर ओलीले घुमाउरो शैलीमा दोष पन्छाएका पनि हुन सक्छन् ।’’

मुख्य प्रतिस्पर्धी कांग्रेस

यस्तै ओलीले आफ्नो दलको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भएको उल्लेख गरेका छन्।  उनले विभिन्न राजनीतिक दलहरूसँग एमालेको प्रतिस्पर्धा र प्रतिद्वन्द्वी भएको भन्दै कांग्रेसको  लाल पुँजीवादी वर्ग चरित्र भएको टिप्पणी गरेका छन्। लाल पुँजीवादी वर्ग चरित्रको आफ्नो विरोध भएको पनि ओलीले बताएका छन्।

राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौता परस्त क्रियाकलापप्रति हाम्रो विरोध छ।’’

मालेको प्रथम विधान महाधिवेशनका तीन दिनसम्म चल्नेछ। यसका लागि देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौं आएका छन्। एमालेले पार्टी महाधिवेशन मङ्सिरमा गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved