पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

८४ प्रतिशत काम सकियो, पुसदेखि आन्तरिक उडान

चीन सरकारको २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थलका लागि कोरोना महामारीका कारण १ वर्ष समय थप गरिएको थियो।

नेपालभ्युज

८४ प्रतिशत काम सकियो, पुसदेखि आन्तरिक उडान

पोखरा। निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिशत सम्पन्न भएको छ। चिनीयाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो।

अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको छ। चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ वर्ष समय थप गरेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरूले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने क्रममा आयोजना प्रमुख मुनकर्मीले विमानस्थल संचालनको प्रक्रियामा सबैभन्दा पहिला सुरक्षा हेरिएको सुनाए।

१ जनवरी २०२२ मा आन्तरिक उडान भर्ने महत्वाकांक्षासहित तयारी भइरहेको उनले बताए। उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान शुरु भए पनि ठोस रुपमा बढ्न नसकेको उनले बताए।

“सरकारी वनतर्फको कटान शुरु गर्न पुनः एआइए गर्नुपर्ने छ। विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको छ,” उनले भने, “विमानस्थल नजिकै रहेको खुला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न पर्दछ।”

उनका अनुसार हाल चिनियाँ १ सय ८५ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको र १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेको छ। हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए। उनले विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारबारे पनि जानकारी गराए।

कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको भनाइ राखे। कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अरू सबै कुरा छाडेर पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिबारे बुझ्न पुगेका मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। विमानस्थल नजिकै ल्यान्डफिल साइटले उडानमा हुने समस्यालाई तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे।

विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या रहेको हुँदा प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता पोखरेलले जनाए। पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएकोमा केन्द्रसँग समन्वय गर्ने उनले प्रतिबद्धता जनाए। अनुगमनमा मन्त्रीहरु कुमार खड्का, रामजीप्रसाद बराल जीवन, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सहभागी थिए।

पुसदेखि आन्तरिक उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थला अबको ३ महिनामै आन्तरिक उडान हुने भएको छ। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नीतिगत निर्णय लिन र आवश्यक समन्वय गर्न आग्रह गरे। गौतम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न गठन गरिएको विमानस्थल सञ्चालन तथा स्थानान्तरण समितिका संयोजकसमेत हुन्।

तीन महिनाभित्र आन्तरिक उडान भर्न सम्भव भएको भन्दै उनले यसका लागि नागरिक उड्ययन प्राधिकरण र चिनिया ठेकेदार कम्पनीबीच समझदारी र समन्वय हुनुपर्ने बताए।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न विभिन्न चार वटा देशका विमानस्थलसँग सहकार्य गर्न पनि विमानस्थल स्थानान्तरण तथा अप्रेसन समितिले सिफारिस गरेको छ। समितिका संयोजक गौतमले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताए।

“दिल्लीबाट धेरै पर्यटक आउन सक्छन्, नेपालीको आवत-जावत पनि राम्रो छ, यस्तै दोहामा र खाडी मुलुक गएका नेपालीका लागि दोहा विमानस्थलबाट सेवा दिनुपर्छ,” उनले भने, “हङकङ र बैंकक पनि नेपालीको धेरै आवतजावत छ, त्यहाँबाट सेवा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved