एमालेको पहिलो विधान महाधिवेशन

शंकर पोखरेलले भने, “झापा आन्दोलनबाट गणतन्त्रको नारा शुरु भयो”

नेपालभ्युज

शंकर पोखरेलले भने, “झापा आन्दोलनबाट गणतन्त्रको नारा शुरु भयो”

काठमाडौं । पार्टीलाई पुनर्गठन गर्न २०२५ सालमा पुष्पलालले शुरु गरे पनि त्यसले सम्पूर्णता नपाएको नेकपा (एमाले) अध्यक्ष केपी ओलीले बताएका छन्। झापा आन्दोलनलाई नेपालको कम्युनिष्ट आन्दोलनको टर्निङ प्वाइन्ट भएको र गणतन्त्रको नारा पनि त्यहीँबाट शुरु भएको उनको दाबी थियो।

आजदेखि शुरु पार्टीको पहिलो विधान महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा बीचमै अस्वस्थ महशुस गरेपछि ओलीको भाषणलाई एमाले नेता शंकर पोखरेलले पढेर सुनाए।

ओलीको भाषण पढ्दै पोखरेलले प्रतिकूल अवस्थाका कारण पनि आन्दोलन अघि बढ्दै गएको र २०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट पार्टीमा भूमिका रहेको बताए। नेपाली कांग्रेसले आन्दोनलबाट सामान्य सुधार भएपछि पछि हट्न खोज्दा कम्युनिष्टहरूकै कारण निकर्षमा पुग्न सकेको उनको दाबी थियो।

२०५१ सालको एमालेको लोकप्रिय सरकारले जनताका बहुदलीय जनवादले अघि बढाउने काम गरेको उनले बताए। नेपालको राजनीतिक प्रणाली परिवर्तनमा जबजले निकै ठूलो भूमिका खेलेको र माओवादी आन्दोलनले गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएको उनले स्मरण गराए। यस्तै माओवादी आन्दोलनले जनतालाई जागृत गर्ने भूमिका खेलेको उनले बताए।

प्रतिकूल अवस्थामा पनि नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय रहेको उनको दाबी थियो। यसैलाई आधार बनाएर एमाले र माओवादीबीच २०७४ को निर्वाचनमा गठबन्धन निर्माण भएको उनको जिकिर थियो। दुई पार्टीको लोकप्रियताले नै निर्वाचनमा बहुमत ल्याउन सफल भएको पोखरेलले बताए।

गठबन्धनकै कारण मात्रै नभई नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुँदा निर्वाचनमा सफल भएको उनले टिप्पणी गरे। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेकै नेताहरूले उक्साएका कारण पार्टी एकता भंग हुने अवस्था आएको पोखरेलले बताए। पार्टीबीचको एकताले विपक्षी दललाई चुनौती दिएकोमा पार्टीकै नेताका कारण पार्टी विभाजन हुने अवस्था आएको उनले ठहर गरे।

कांग्रेससँग मिलेर सरकार बनाउने र एमालेलाई एक्लाउने काम भए र प्रचण्डले आफ्नो निवासलाई समानान्तर गतिविधिको थलो बनाएर गुट सञ्चालन गर्ने गरेको ओलीको आरोप पनि पोखरेलले सुनाए।

अवाञ्छित माग राख्दै आफ्नै दलको सरकार विघटन गराउने दिशामा नेताहरू गएका पनि पोखरेलले आरोप लगाए। हेर्दा प्रधानमन्त्री ओलीविरुद्ध कदम देखिए पनि त्यो राष्ट्रिय स्थायित्वको विरोधमा उचालिएको कदम भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved