ओली आकर्षण कि देवत्वकरण ?

नेपालभ्युज

ओली आकर्षण कि देवत्वकरण ?

काठमाडौं। बालुवाटरबाट बहिर्गमन हुँदा निस्केको महेश बस्नेतको स्कर्टिङ टोली आज फेरि नेकपा एमाले अध्यक्ष ओलीलाई गोदावरी लान निस्कियो। दिउँसो शुरु भएको विधान अधिवेशन उद्घाटनमा ओली गाडी, मोटरसाइलहरूको स्कर्टिङसहित पुगे।

बालुवाटारबाट निस्कदा बाजागाजा र होर्डिङबोर्डसहित स्कर्टिङ गर्दा ओलीको अनावश्यक प्रचारबाजी भनेर आलोचना भएको थियो। अहिले विधान अधिवेशन स्थलमा उस्तै तामझाम देखियो। अधिवेशनस्थलमा ठाउँ ठाउँमा होर्डिङ बोर्ड सजाइएको थियो। अनि पानीका बोत्तलहरूमा पनि ओलीको तस्वीर सहितका लेबल लागेका थिए।

यो ओलीको आकर्षण कि देवत्वकरण ? ओलीका विपक्षीहरू यसलाई देवकत्वकरण गरिएको भनेर आलोचना गर्छन् भने उनी पक्षीय नेताहरू उनको आकर्षण र शक्ति बढेको भनेर अथ्र्याउछन्।

गोकुल बाँस्कोटा उनी निकट नेता हुन्। उनी ओली राजनीतिक रुपमा अझ बढी शक्तिशाली हुँदै गएको र जनस्तरमा आकर्षण बढेको दाबी गर्छन्।

“अहिलेसम्म देशभरबाट एक लाख ३१ हजार माओवादी नेता/कार्यकर्ता एमालेमा प्रवेश गररिसके”, नेपालभ्यूजसँग संक्षिप्त कुराकानी गर्दृ उनले भने, “माओवादी मात्रै होइन, कांग्रेसका कार्यकर्ताहरू पनि प्रवेश गरेका छन्। राजकुमार लेखीको समूह छिट्टै प्रवेश गर्दै छ। यसले केपी ओलीको आकर्षण र शक्ति बढेको पुष्टि हुन्छ।”

पार्टीभित्रै पनि ओलीको सर्वसम्मत नेताका रुपमा स्थापित हुँदै छन्। एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि उनलाई गुटका हिसाब राजनीतिक ‘काउन्टर’ दिने कोही छैन्। विभाजनअघि नेपालपक्षीय भनिएका दश जना नेताले पनि समूहगत रुपमा नभई व्यक्तिगत मत राख्ने बताइसकेका छन्। तीमध्ये एक घनश्याम भूसालले केही फरकमत राखे पनि त्यसको औचित्य नभएको बास्कोटा बताउछन्।

‘के छ र फरक मत ? ल्याउनका लागि ल्याउने हो र ?’ उनले भने, ‘उहाले पुजीवादमा प्रवेश गरेको कुरा गर्नुभयो। हामीले पुजीवादी चरणमा प्रवेश गरेको कुरा गर्यौं। दोस्रो कुरा खुला समाज, खुला राजनीतिको जबजले गरेको होइन ? जबजको विकल्प दिन सक्नुपर्यो नि फरक मत राख्दा।’

उनले ओलीले सारेको राजनीतिक लाइनलाई थप व्याख्या गर्दै भने, ‘राष्ट्रिय उत्पादन, अर्थव्यवस्था, सामाजिक विभेद विभिन्न पक्षमा नेपाली समाज संघर्षरत छ। आर्थिक रुपान्तरणको प्रक्रियामा छ। राजनीतिक रुपमा जनवाद आएपनि आर्थिक रुपमा हामी पूर्ण सबल भइसकेका छैनौ। समाजवाद घोषणा गरेर हुन्न। त्यसको आर्थिक आधार तयार हुनुपर्छ। उत्पादनको आधार तयार भए पो समाजवादी अर्थतन्त्र हुन्छ।’

उनले थपे, “यो दृष्टिकोण विमति विकल्प सहित विमति राख्ने अवस्था नभएकाले फरक मत आवश्यक छैन।” विधान अधिवेशनको मूल कार्यदिशा सांगठनिक अराजकतालाई पराजित गर्ने, अवसरवादलाई पराजित गर्ने, समाजवादको आधार तयार गर्ने रहेको भन्दै उनले भने, “परमादेशलाई जनादेशले पराजित मात्रै होइन, विस्थापित गर्ने हाम्रो मूल लक्ष्य हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved