ललितपुरको कीर्तिमानी रेकर्ड, विराटनगर ३७ रनले पराजित

नेपालभ्युज

ललितपुरको कीर्तिमानी रेकर्ड, विराटनगर ३७ रनले पराजित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रोएट्सले सर्वाधिक २ सय २६ रन जोड्ने नयाँ रेकर्ड बनाएको छ। शुक्रबारको पहिलो खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय २६ रन जोडेको हो। यसअघि ईपीएलमा सर्वाधिक रनको रेकर्ड सन् २०१८ मा भैरहवा ग्लाडिएटर्सविरुद्ध पोखरा राइनोजले बनाएको थियो। पोखराले त्यसबेला २ सय १५ रन बनाएको थियो। उक्त लक्ष्य भैरहवाले भेट्टाएको थियो।

ललितपुरका लागि श्रीलंक खेलाडी सान्दानले मात्र ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७३ रन जोडे। त्यसगरी अफगानी खेलाडी अजमातुल्लाले २४ बलमा ७ छक्काको मद्दतले अविजित ५८ रनको योगदान दिएका थिए। यसपछि कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रन बनाए।

१५ ओभरसम्म १ सय ४१ रन रहेको ललितपुरले अन्तिम पाँच ओभरमा ८५ रन बनाएको हो। खेलमा ललितपुरले कूल १९ छक्का प्रहार गर्‍यो।

यति ठूलो विजयी लक्ष्य पछ्याएको विराटनगरले पनि शुरुआत राम्रै गर्‍यो। पावर प्लेको ६ ओभरमा ६९ रन जोडेको विराटनगरविरुद्ध ललितपुरका अजमातुल्लाले १६ औं ओभरमा तीन विकेट लिएका थिए।

२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रनमा समेटिएपछि विराटनगर ३७ रनले पराजित भयो। विराटनगरका लागि श्रीलंकन खेलाडी दिल्सन मुनुवेराले सर्वाधिक ५९ र आशिफ शेखले ३७ रन जोडेका थिए।

लिगमा ४ खेलिपछि ललितपुरको यो पहिलो जित हो भने विराटनगरले लगातार तेस्रो हार बेहोरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved