राष्ट्रसंघका सात कर्मचारीलाई इथियोपियाले दियो देश छाड्ने अल्टिमेटम

ह्वाइट हाउसकी प्रवक्ता जेन पाल्स्कीले भनेकी छन्, ‘‘इथियोपियाको मानवीय क्षेत्रमा काम गर्दै आएका राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्ने निर्णय अप्रत्याशित छ।’’

नेपालभ्युज

राष्ट्रसंघका सात कर्मचारीलाई इथियोपियाले दियो देश छाड्ने अल्टिमेटम

एजेन्सी। देशको आन्तरिक गतिविधिमा खलल पुर्याएको भन्दै इथियोपियाले संयुक्त राष्ट्रसंघका सात अधिकारीलाई ‘पर्सना नन ग्राटा’ अर्थात देश छोड्न आदेश दिएको छ। राष्ट्रसंघका अधिकारीहरुलाई इथियोपिया छोड्न ७२ घण्टाको समय दिइएको छ।

त्यहाँको विदेश मन्त्रालयले भनेको छ, ‘देशको आन्तरिक गतिविधिमा हस्तक्षेप गरेको पाइएका कारण राष्ट्रसंघ अन्र्तगतका विभिन्न निकायमा काम गर्ने सात व्यक्तिहरुलाई पर्सना नन ग्राटा दिइएको छ।’

यसरी देश छोड्ने आदेश दिइएका सात व्यक्तिलाई भिन्दाभिन्दै लेखिएको पत्रमा ७२ घण्टाभित्र देश छाड्ने आदेश दिइएको इथियोपियाको विदेश मन्त्रालयको समाजिक सञ्जालमा उल्लेख गरिएको छ।

अमेरिकी सरकारले इथोपियन सरकारको उक्त कदमप्रति कडा शब्दमा भत्र्सना गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता जेन पाल्स्कीले भनेकी छन्, ‘‘इथियोपियाको मानवीय क्षेत्रमा काम गर्दै आएका राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्ने निर्णय अप्रत्याशित छ।’’

इथियोपियाका उत्तरी क्षेत्र टाइग्रेमा गत नोभेम्बरदेखि हिंसात्मक गतिविधि बढेका छन्। इथियोपियाको संघीय सरकार र टाइग्रे मुक्ति मोर्चा (टिपिएलएफ) बीच द्वन्द्व बढ्दै जाँदा इथियोपियामा हिंसात्मक गतिविधि बढेको बताइन्छ।

राष्ट्रसंघले यसअघि करीब ४ लाख मानिसले भोकमरी जस्तो अवस्थाको सामना गर्नुपर्ने बताएको थियो। भोकमारीका कारण ठूलो संख्यामा मानिसको निधन हुन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता जायर गरेको थियो।

टाइग्रेमा बढेको हिंसात्मक कार्यलाई लिएर इथियोपियाको अन्तर्राष्ट्रिय रुपमा आलोचना हुँदै आएको छ। उसको पछिल्लाको कार्यसँगै अमेरिकाले द्वन्द्वग्रस्त अफ्रिकी देशमा आर्थिक नाकाबन्दी लगाउन सक्ने आशंका गरिएको छ।

इथियोपियाले औषधि र खाद्यान्नको अति आवश्यक रहेका व्यक्तिमाझ यी सामग्री पुर्याउन नदिएका कारण त्यहाँ मानवीय संकट उत्पन्न हुनसक्ने अमेरिकाले बताउँदै आएको थियो। खाद्यान्न लगायतका सामग्री आपूर्तिमा रोक लगाइएको भन्ने आरोपलाई भने इथियोपिया सरकारले अस्वीकार गरेको थियो।

अफ्रिका महादेशकै दोस्रो ठूलो जनसंख्या भएको देश इथियोपियामा हिंसात्मक गतिविधि बढेकामा धेरै देशले चिन्ता व्यक्त गरेका छन्। क्षेत्रीय हिसाबमा कूटनीतिक महत्व राख्ने इथियोपियाको समस्याका कारण त्यस क्षेत्रको स्थिरतामा नै असर पुग्न सक्नेतर्फ आशंका व्यक्त गरिएको छ।

इथियोपियाले देश निकाला गरेका सात व्यक्तिमा संयुक्त राष्ट्रसंघको बालबालिका कार्यक्रम (युनिसेफ)का इथियोपिया प्रमुख र संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालयका लागि इथियोपिया निर्देशकसहित अन्य व्यक्ति रहेका छन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघका कर्मचारीको देश निकालाको निर्णयबाट आफू ‘अचम्मित’ भएको बताएका छन्। उनी थप्छन्, ‘‘हामी हाल इथियोपियन सरकारसँग यस विषयमा छलफल गर्दैछौँ। हामीले यो छलफल राष्ट्रसंघको ती अधिकारीले आफ्नो महत्वपूर्ण कामलाई निरन्तरता दिन पाउँछन् भन्ने आशा गरिरहेका छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved