काठमाडौं। “हाम्रो प्रमुख लक्ष्य त साफ च्याम्पियनसिपको उपाधि हो, भारतसँगको यो मैत्रीपूर्ण खेल जितेर साफ च्याम्पियनसिप जित्ने पनि होइन, यो हारेर नेपालले साफ हार्ने पनि होइन, यो खेल त बस तयारी हो।”
नेपाली टिमका कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीको उद्घोष थियो यो। जुन उद्घोष उनले गत महिना नेपालले चिरप्रतिद्वन्दी भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्र्ण फुटबल खेल खेल्नु अगाडि गरेका थिए।
अहिले साफ च्याम्पियनसिपको सोही उपाधि लक्ष्य पछ्याउँदै नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स् पुगेको छ। आज, शुक्रबारदेखि माल्दिभ्स्मा हुने १३ औँ संस्करणको यो प्रतियोगिताका लागि नेपालका प्रशिक्षक अलमुताइरीले गत आइतबार नै २३ सदस्यीय टिमको घोषणा पनि गरिसकेका छन्।
च्याम्पियनसिपमा नेपालको पहिलो भेट नै आयोजक राष्ट्र माल्दिभ्स्सँग हुँदैछ। नयाँ परिवर्तित खेल तालिकाअनुसार नेपाल र माल्दिभ्स् बीचको खेल उद्घाटन दिनको दोस्रो खेलको रुपमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ।
यसअघिको पुरानो खेल तालिकाअनुसार यी दुईले उद्घाटन खेलको रुपमा नेपाली समय अनुसार ४ः४५ को पहिलो खेल खेल्ने तय थियो। तर दक्षिण एसियाली फुटबल माहासंघले बिहीबार सार्वजनिक गरेको परिवर्तित खेल तालिकाअनुसार पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन्।
अघिल्लो संस्करणको विजेता र घरेलु टिम पनि रहेको माल्दिभ्स्सँगको पहिलो खेल नेपाललाई त्यति सहज भने हुने छैन।
तर नेपालका कप्तान किरण चेम्जोङ भन्छन्, “डिफेन्डिङ च्याम्पियन माल्दिभ्स्लाई होम एड्भान्टेज छ। घरेलु समर्थकको सर्पोट छ। तर हामीलाई त्यसको डर छैन। हामी गोर्खाली हौँ। पूरा विश्वले चिनेको छ गोर्खाली को हो भनेर। हामी लड्छौँ, हामी कसैसँग पनि डराउँदैनाँै। हामी माल्दिभ्स्का सबै घरेलु समर्थकहरुलाई सम्मान गर्छौँ। तर खेलमा भने आफ्नो पक्षमा नतिजका लागि लड्छौँ।”

दक्षिण एसियामा राष्ट्रिय टिमको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो साफ च्याम्पियनसिप । यसअघि साफ च्याम्पियनसिपको उपाधि जितेको त कुरै छाडौँ, नेपालसँग यो प्रतियोगिताको फाइनलसम्म पनि पुग्न नसकेको तितो अनुभव छ।
सन् १९९३ देखि हालसम्मको १२ सहभागितामा साफ च्याम्पियनसिपमा हाम्रो ठूलो उपलब्धि भनेको तेस्रो स्थानसम्म मात्र हो। पहिलो संस्करणमै तेस्रो भएको नेपालले पछिल्ला साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन।
त्यसपछिको हालसम्मका संस्करणमा नेपालले पाँच पटक सेमिफाइनलसम्म खेलेको छ। ६ पटक नेपालको यात्रा समूह चरणबाट नै सकिएको थियो। त्यसैले यसपटकको हाम्रो पहिलो लक्ष्य त कम्तिमा फाइनलसम्म पुग्ने रहेको छ।

नेपाल भ्यूजसँग कुरा गर्दै नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य भन्छन्, “साफ फुुटबलमा हाम्रो प्रदर्शन खासै राम्रो छैन। अहिलेसम्म साफमा फाइनल पुग्न सकेको रेकर्ड छैन। तर अहिले अरु टिम जस्तै नेपाल पनि बलियो छ। पछिल्लो समयको तयारी पनि राम्रो छ। मलाई लाग्छ यो पटक नेपाल कम्तिमा फाइनलसम्म पुग्नुपर्ने हो।”
यो पटक नेपाली टिमलाई इतिहास रच्ने सुनौलो मौका यसकारण छ कि यो संस्करणमा दक्षिण एसियाका ५ टिमले मात्र सहभागिता जनाउँदैछन्। पाकिस्तानको फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था फिफाले प्रतिबन्ध लगाएको छ। त्यसैगरी कोभिडका कारण भुटानी फुटबल टिमलाई विदेश भ्रमणको लागि सरकारले अनुमति दिएको छैन।

त्यसैले यो पटक उपाधिका लागि नेपाल र आयोजक माल्दिभ्ससँगै भारत, बंगलादेश र श्रीलंका गरी ५ टिमको मात्र भिडन्त हुनेछ। नेपाल बाहेक यो पटक सहभागी सबै टिमले कम्तिमा एक पटक भएपनि साफको उपाधि जितिसकेका छन्।
पहिलो उपाधिको खोजीमा रहेको नेपालकोे सम्भावना भने थोरै टिम मात्र भएकाले यो पटक पहिलेभन्दा बढी देख्छन् नेपालका फुटबल विश्लेषक सञ्जिव मिश्र। उनी भन्छन्, “यो पटक साफ फुुटबलमा मात्र पाँच टिम छन्। त्यसैले विगतमा भन्दा फाइनलमा पुग्ने सम्भावना धेरै छ। तयारी पनि त्यही हिसाबले राम्रो भएको छ। विश्वकप छनोट प्रतियोगिता र केही मैत्रीपूर्ण खेलहरुमा तुलनात्मक रुपमा बलिया टिमसँग नेपालले राम्रो प्रदर्शन गरेको छ।”
पाँच टिम मात्र भएका कारण प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा हुनेछ। जसमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसपछि शीर्ष २ टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछन्।

“फाइनल पुग्नको लागि माल्दिभ्ससँगको पहिलो खेलले निकै महत्व राख्छ। यो खेल नेपालले जित्नै पर्छ। हुन त सबै खेल जिते राम्रा हो। पहिलो खेलमा नै माल्दिभ्स्लाई हराउन सके बलियो टिमसँग तीन अंक पाइन्छ, यसपछि तुलनात्मक रुपमा हामीभन्दा कमजोर श्रीलंकासँगको दास्रो खेलका लागि मनोबल उच्च हुनेछ”, मिश्रले नेपाल भ्यूजसँगको वार्तामा थप स्पष्ट पारे।
यो प्रतियोगितामा हाम्रो प्रमुख प्रतिद्वन्द्वी माल्दिभ्स् र भारत नै हुन्। यी दुवै टिम साफका सर्वाधिक उपाधि विजेता टिम पनि हुन्। भारतले सबैभन्दा बढी ७ र माल्दिभ्स्ले २ पटक साफ च्याम्पियनसिपको उपाधि उचालेका छन्। यी दुवै टिम फिफा वरीयतामा पनि माथि छन्। वरीयता क्रममा नेपाल १६८ औँ स्थानमा छ भने माल्दिभ्स १० स्थान माथि १५८ औँ स्थानमा छ।
माल्दिभ्स गत संस्करणको उपाधि विजेता टिम हो। पछिल्लो समयमा माल्दिभ्सको फुटबल टिम हामी भन्दा बलियो भएको छ। पहिला त माल्दिभ्सलाई नेपालले हराइरहेको हो। हाल उसलाई हराउन सकिएको छैन।
नेपालका कप्तान किरण चेम्जोङ भन्छन्, “यो प्रतियोगितामा हामी मात्र एक टिम हौँ, जसले यो उपाधि जित्न सकेको छैन। र, फाइनलसम्म पनि पुग्न सकेको छैन। त्यसैले यो पटक हामी लड्नेछौँ। हामीसँग युवा र अनुभवी खेलाडीहरुको कम्बिनेसन छ। हरेक म्याचमा फाइट गर्नेछौँ। यो राउण्ड रोविन लिगका आधारमा हुने खेल हो, त्यसैले हरेक खेलमा जितका लागि उत्तिकै महत्वपूर्ण छ। हारको कुनै मौका छैन। फाइनल पुग्नका लागि सबै खेल जित्नु पर्ने हुन्छ र सबै म्याच टफ हुनेछ।”

नेपाल माल्दिभ्स् बीचको पछिल्लो भिडन्त सन् २०१८ को साफमा भएको थियो। जहाँ नेपाललाई सेमिफाइनलमा ३-० ले हराउँदै फाइनलमा पुगेको माल्दिभ्सले भारतलाई हराउँदै उपाधि जितेको थियो।
हालसम्मको हेड टु हेड हेर्दा पनि माल्दिभ्स्सँगको नेपालको इतिहास राम्रो छैन। माल्दिभ्स्सँगको हालसम्मको १६ खेलमा नेपालले मात्र ४ खेल जितको छ भने ८ खेलमा हार भोगेको छ। माल्दिभ्स्सँगको ८ खेल भने बराबरीमा सकिएको थियो।
उता भारत त झन् फिफा वरीयतामा हामीभन्दा ६१ स्थान माथि १०७ औँ स्थानमा छ। यो च्याम्पियनसिपमा भारतसँग नेपालको भेट आफ्नो तेस्रो खेलमा हुनेछ। साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले आफ्नोे बलियो प्रतिद्धन्दी भारतलाई घरमा नै बोलाएर २ मैत्रीपूर्र्ण खेल खेलेको थियो।
दशरथ रंगशालामा खेलिएको पहिलो खेलमा भारतसँग १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ ले पराजित भएको थियो। यी दुई खेलमा भारतले आफ्नो स्तरको खेल देखाउन सकेको थिएन भने नेपाललाई घरेलु मैदानको साथ थियो। तर माल्दिभ्समा त्यस्तो हुने छैन।
नेपाललले भारतसँग खेलेका हालसम्मको २१ खेलमा १४ पटक हार भोगेको छ। भारतसँग मात्र २ पटक जित निकाल्दा ५ खेल बराबरीमा सकिएको थियो।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा भिड्ने राष्ट्र हो श्रीलंका। त्यसैगरी राउण्ड रोविन लिगको चौंथो तथा अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। तुलनात्मक रुपमा हाल यी दुई देशको खेल भने नेपालको भन्दा त्यति माथिको छैन।
यी दुईसँग खेलेको पछिल्ला खेलमा नेपालले दुवै टिमलाई हराएको रेकर्ड छ। हालको फिफा वरीयतामा क्रममा पनि श्रीलंका र बंगलादेश नेपालभन्दा तल छन्। बंगलादेश नेपाल भन्दा २१ स्थान र श्रीलङ्का ३७ स्थान तल छन्।
साफ च्याम्पियनसिपको तयारीको लागि कतार पुगेको नेपाली टिम त्यहा करीब दुई हप्ताभन्दा बढीको प्रशिक्षण सकेर माल्दिभ्स् पुगेका हो ।

कतारमा नेपाली टिमले गत आइतबार ओमानसँग एक मैत्रीपूर्र्ण खेल खेलेको थियो। तर च्याम्पियनसिपको पूर्वसन्ध्यामा ओमानसँगको उक्र खेल बिर्सन लायक बन्यो।
उक्त खेलमा नेपाल ७-२ गोलको भारी अन्तरले पराजित भएको थियो। हुन त ओमान नेपालभन्दा निकै बलियो राष्ट्र हो। फिफा वरीयता क्रममा पनि ओमान नेपालभन्दा ९० स्थान माथि छ।
साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय नेपाली टिम
गोलकिपरः किरण चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ
मिडफिल्डरः विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, आयुष घलान, सुनिल बल, सुरज ठकुरी, सुमन लामा, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
फरवार्डः मनिष डाँगी, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
Facebook Comment
Comment