दुई सागरमा आएको आँधीको प्रभाव नेपालमा

हिन्द महासागरमा आएको चक्रवातको प्रभाव सकिन नपाउँदै अरब सागरमा विकास भइरहेको आँधीको दोहोरो प्रभाव नेपालको मौसममा पर्दैछ। आजबाटै पूर्वी भेगमा भारी वर्षा हुने अनुमान छ।

दुई सागरमा आएको आँधीको प्रभाव नेपालमा

काठमाडौं। हिन्द महासागरमा आएको चक्रवात ‘गुलाव’को प्रभाव पूर्णरुपमा घट्न नपाउँदै अरब सागरमा अर्को चक्रवातको प्रभाव विकास हुन थालेको छ।

अरब सागरको उत्तर पूर्वी भेगमा विकास भइरहेको आँधी र यही बेला बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्रको दोहोरो प्रभावको असर भारतका अधिकांश भेग र नेपालमासमेत देखिँदैछ।

कुनै स्थानको वायुमण्डल तुलनात्मक रुपमा पातलो भयो भने त्यस क्षेत्रलाई न्यून–चापीय क्षेत्र भनिन्छ। यस्तो क्षेत्रमा हावा बाहिरबाट भित्र आउँछ जसले वायुको मात्रा बढाउँछ, बादल सिर्जना गर्छ र वाष्पीकरण गराउँछ। परिणाम, त्यो क्षेत्रमा आँधी–हुरी र ठूलो मात्रामा वर्षा हुन्छ।

भारतका दिल्ली, महाराष्ट्र, पश्चिम बंगाल, तमिलनाडु, गुजरात, कलकत्ता, विहार लगायतका भेगमा भारी वर्षा हुने भन्दै प्रदेश र केन्द्र सरकारले ‘यल्लो अलर्ट’ जारी गरेका छन्।

आज र भोली नेपालसँगै जोडिएको विहारमा भारी वर्षा हुने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको छ। रेड र यल्लो अलर्ट मौसम पूर्वानुमानमा खतराको संकेत जनाउने शब्द हुन्।

अरब सागर र बंगालको खाडीको प्रभाव आगामी तीन दिनसम्म जारी रहने भारतीय मौसम विभागले प्रक्षेपण गरेको छ। भारतका महाराष्ट्र र अन्यत्रका समुद्री तटमा माछा मार्न तथा अन्य प्रयोजनले नजान केन्द्र र प्रदेश सरकारले अपिल गरेका छन्।

भारतीय मौसम विभागका अनुसार अरब सागरमा आएको चक्रवातको प्रभाव १५ असोजदेखि पूर्ण रुपमा सक्रिय हुनेछ।

बंगालको खाडीमा विकास भएको पछिल्लो मौसमी गतिविधि गत साताको गुलाव चक्रवात निस्क्रिय हुँदै गर्दाको प्रभाव हो। गत हप्ता बंगालको खाडीमा विकास भएको गुलाव चक्रवातले भारतका उडिसा, आन्ध्रप्रदेश, तेलांगना, छत्तिसगढ लगायतका भेगमा भारी वर्षा गराएको थियो।

बंगालको खाडीमा सिर्जना भएको न्यूनचापीय क्षेत्र र अरब महासागरमा आएका चक्रवातको दोहोरो प्रभाव बंगलादेश, श्रीलंका र थाइल्याण्डमा पनि देखापरेको छ।

अरब सागर र बंगालको खाडीको दोहोरो प्रभाव नेपाली भू–भागमा देखिने जलवायुविद् डा. धर्म उप्रेतीले बताए। बंगालको खाडीको असरले नेपालका पूर्वी र मध्य भेगमा शुक्रबार र शनिबार भारी वर्षा हुने उनको विश्लेषण छ।

पूर्वी भेगमा आज साँझदेखि मौसमी प्रभाव देखिने उप्रेतीको ठहर छ।

“भारतको विहार र पश्चिम बंगाल सरकारले ‘हाइ अलर्ट’ र ‘यल्लो अलर्ट’ भनिसक्यो, विहारमा देखिने प्रभाव नेपालका पूर्व, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिने सम्भावना उच्च छ”, उनले नेपालभ्यूजसँग भने, “पूर्वतिर त बिहीबार साँझ नै असर देखिँदैछ।”

 

‘रेड अर्लट’ जारी गरिएका भारतका विहार र झारखण्ड। (रातो रङमा)

अरब सागरको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने, मौसम धुमिने उप्रेतीको भनाइ छ।

आज (बिहीबार) अरब सागरको आँधी प्रतिघण्टा ४५ देखि ५५ किमिको तीव्र बेगबाट शुरु भएर ६५ किमि हाराहारीसम्म पुग्ने भारतीय मौसम विभागको ठहर छ। शुक्रबार र शनिबार आँधीको वेग एक सयदेखि एक सय १० किमि हाराहारीको वेगमा फैलिने अनुमान गरिएको छ।

पश्चिम बंगाल, सिक्किम र विहारमा बिहीबार र शुक्रबार चट्याङको प्रभावसहितको निरन्तर वर्षा हुने विभागको विश्लेषण छ। यी भेगमा २४ घण्टामा दुई सय मिलिमिटर भन्दा बढी वर्षा हुने विभागको अनुमान छ। सँगै जोडिएका भारतीय भू–भागमा ठूलो वर्षा हुने पुष्टि भएकाले असर नेपालको पूर्वी र मध्य भेगसम्म देखिने उप्रेतीले बताए।

अनभिज्ञ विभाग

जल तथा मौसम विभाग भारी वर्षाबारे अनभिज्ञ छ। विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार हल्का र मध्यम खालको वर्षा हुने प्रक्षेपण गरेको छ।

भारतको झारखण्ड र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव नेपाली भू–भागमा रहने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए।

“मनसुन अवधि बाँकी भएकाले प्रदेश १, प्रदेश २ का केही भू–भागमा हल्का र मध्यम प्रकृतिको वर्षा हुँदैछ, ठूलो र निरन्तर वर्षाको सम्भावना छैन”, उनले भने।

अरब सागरको प्रभाव उत्तर पश्चिम भेगतर्फ मोडिने भएकाले नेपाली भू–भागमा ठूलो असर नदेखिने महाशाखाका अधिकारी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved