सर्वदलीय बैठक बस्दै, संसदको अवरोध हटाउने मुख्य एजेण्डा

संसद जारी गतिरोध हटाउने मुख्य एजेण्डा भएको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल भ्युज

सर्वदलीय बैठक बस्दै, संसदको अवरोध हटाउने मुख्य एजेण्डा

काठमाडौं। संसदमा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक राखिएको छ।

बिहान १० बजेका लागि देउवाले बालुवाटारमा बैठक राखेका हुन्। संसद जारी गतिरोध हटाउने मुख्य एजेण्डा भएको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता घटकहरुनेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएर सरकारलाई गति दिने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच छलफल भएपछि सर्वदलीय बैठक राखिएको हो। प्रचण्डले बैठकका लागि देउवालाई सुझाएका थिए।

संसदको चालु अधिवेशनमा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा निरन्तर अवरोध गर्दै आएको छ। एमाले फुटाउनका लागि सभामुखले भूमिका खेलेको आरोप लगाउँदै सभामुख अग्नि सापकोटाले आफ्नो कदम नसच्याएसम्म उसले सदनमा अवरोध जारी राख्ने बताएको छ।

एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुखलाई पठाए पनि उनले पार्टी फुटाउने नियतले सूचना टाँस नगरेको आरोप लगाउँदै एमालेले सदनमा अवरोध शुरु गरेको थियो। तत्काल कारबाहीको सूचना टाँस गर्नुपर्ने उसको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved