दुरुस्त जुम्ल्याहाबारे नयाँ खोजः वंशाणुमै हुन्छ जन्मचिह्न

दुरुस्त जुम्ल्याहाबारे भएको नयाँ वैज्ञानिक अनुसन्धानबाट अब कोही पनि मानिस जुम्ल्याहा हो कि होइन भन्ने थाहा पाइने भएको छ।

नेपालभ्युज

दुरुस्त जुम्ल्याहाबारे नयाँ खोजः वंशाणुमै हुन्छ जन्मचिह्न
गुगलबाट लिइएकाे सांकेतिक तस्वीर

काठमाडौं। उस्तै अनुहार मिलेका दुई जनालाई देख्नासाथ हामी सोधिहाल्छौँ- जुम्ल्याहा हो ? प्रायजसो हाम्रो अनुमान मिलेकै हुन्छ। तर कहिलेकाहीँ अनुहार खासै दुरुस्त नभएका पनि जुम्ल्याहा हुन्छन्। अनि भन्छौं- जुम्ल्याहा भएर पनि कस्तो फरक त !

यो फरक जन्मेपछि पनि होइन, आमाको गर्भमै भएको हुन्छ। केही जुम्ल्याहा हुन्छन्, जसको अनुहारमात्र होइन, लैंगिक पहिचान र डिएनए समेत एउटै हुन्छ। केही जुम्ल्याहा भने दिदी भाई वा दाजुबहिनी हुनसक्छन्। तिनको डिएनए फरक हुन्छन्। अघिल्ला खाले जुम्ल्याहालाई दुरुस्त जुम्ल्याहा (आइडेन्टिकल) र पछिल्लालाई भाइचारा जुम्ल्याहा (फ्य्राटर्नल) भनिन्छ।

आमाको गर्भमा यी दुरुस्त जुम्ल्याहा तयार हुने कारकबारे हालै एउटा रोचक वैज्ञानिक अनुसन्धान सार्वजनिक भएको छ।

त्यो अनुसन्धानको नतिजाबारे चर्चा गर्नुभन्दा पहिला जुम्ल्याहा बन्ने प्रक्रियाबारे सामान्य जानकारी लिऔं।

महिलाको पाठेघरमा तयार भएको अण्डलाई पुरुषको शुक्रकिटले निसेचन गर्‍यो भने त्यो जाइगोट बन्छ। त्यस्तो जाइगोटको कोष विभाजन भएर भ्रुण बन्छ। भ्रुण विकसित भएर बच्चा तयार हुन्छ।

कहिलेकाहीँ त्यसरी निसेचित भएको जाइगोटको कोष विभाजन हुने क्रममा दुईवटा भ्रुण बन्छ। ती दुई भ्रुण विकसित भएर दुईवटा बच्चा जन्मिन्छन्। त्यस्ता जुम्ल्याहालाई दुरुस्त जुम्ल्याहा भनिन्छ। हरेक तीन जोडी जुम्ल्याहामध्ये एक जोडी यस्ता हुन्छन्।

महिलाको पाठेघरमा कहिलेकाहीँ भने एकै महिनामा दुईवटा अण्ड तयार भएका हुन्छन्। ती दुवै अण्डलाई पुरुषको शुक्रकिटले निसेचन गर्‍यो भने दुई वटा जाइगोट बन्छन्। दुईवटा जाइगोटबाट बनेका भ्रुण विकसित भएर बनेका जुम्ल्याहालाई भाइचार जुम्ल्याहा भनिन्छ।

कहिलेकाहीँ दुई भन्दा बढी भ्रुण भए त्यस्तो बेलामा तिम्ल्याहा, चौम्ल्याहा बच्चा जन्मिन्छन्।

एक्लो नभएको सन्देश

दुरुस्त जुम्ल्याहाबारेको पछिल्लो खोजले सबै दुरुस्त जुम्ल्याहामा एउटा समानता हुने देखाएको छ। त्यो समानतालाई वैज्ञानिकहरूले दुरुस्त जुम्ल्याहाको दस्तखत (सिग्नेचर) भनेका छन्।

हरेक सन्तानले आफ्ना आमा र बुवाबाट केही आनुवंशिक गुण पाउँछन्। ती आनुवंशिक गुण वंशाणु मार्फत् प्रसारण हुन्छ। वंशाणु भने डिएनएको लहरोले बनेको हुन्छ। डिएनएमा हुने न्युक्लोटाइड्सको अवस्थितिले निश्चित प्रोटिन निर्माण गर्ने सन्देश दिन्छ। र, त्यसै अनुसारका प्रोटिन तयार हुन्छन्। आखिर मानव शरीर प्रोटिनको डल्लो न हो ! (कसरी डिएनएमार्फत मानव शरीरको रूपरेखा र अन्य जैविक गुणहरू निश्चित हुन्छन् भन्ने व्याख्या गर्न लामो लेख लेख्नुपर्छ, पछि कुनैबेला छलफल गरौंला।)

डिएनएको सामान्य जानकारीपछि फेरी नयाँ खोजतिर लागौं। २८ सेप्टेम्बरमा ‘नेचर कम्युनिकेसन’ जर्नलमा प्रकाशित शोधपत्रमा उल्लेख गरिए अनुसार दुरुस्त जुम्ल्याहाको दस्तखत एपिजेनोममा हुन्छ।

एपिजेनोम रासायनिक पदार्थहरूको पुञ्ज हो जसले जिनोमलाई के गर्ने भन्ने सन्देश दिन्छ। जिनोम भनेको एउटा कोषमा हुने सम्पूर्ण डिएनएहरूको लहर हो। जिनोममा वंशाणु (जिनहरू) हुन्छन्। एउटा निश्चित प्रोटिन बन्ने सन्देश दिनसक्ने डिएनएको भागलाई वंशाणु भनिन्छ। यिनै डिएनएमा टाँसिन सक्ने प्रोटिन र रासायनिक पदार्थ मिलेर एपिजेनोम बनेको हुन्छ। एउटा जिनोममा भएका असंख्य वंशाणुमध्ये कुन सक्रिय हुने र कुन नहुने भन्ने निर्धारण यिनै एपिजेनोमले गर्छन्। जब कुनै एपिजेनोम कुनै डिएनएमा टाँसिन्छ त्यसले वंशाणुमा चिह्न छोड्छ जसलाई एपिजेनोमिक चिह्न भनिन्छ। यस्ता चिह्नले डिएनएको बनावटलाई त परिवर्तन गर्दैन तर डिएनएले दिएको सन्देशलाई कोषले लिने तरिकामा परिवर्तन गरिदिन्छ। यस्ता चिह्नहरू कोष विभाजनको क्रममा विभिन्न कोषहरूमा सर्दैजान्छन्। र, एक पुस्तादेखि अर्को पुस्तासम्म पनि सर्छन्।

एउटा मानिसको शरीरमा खर्बौं कोषहरू हुन्छन्। तिनका आ-आफ्नै काम हुन्छन्। मांसपेशी, हाड र मस्तिष्कका कोषहरूले भिन्दाभिन्दै तरिकाले काम गर्छन्। यी सबै कोषको न्युक्लियसमा भने उस्तै जिनोम हुन्छन्। यी कोषहरूको फरक भने तिनमा भएको कुन वंशाणु सक्रिय भयो र कुन भएन भन्नेले निधो गर्छ। उदाहरणका लागि, आँखामा भएका निश्चित कोषहरूले ती वंशाणुहरूलाई सक्रिय बनाउँछन् जसले प्रकाश चिन्ने प्रोटिन निर्माण गर्ने सन्देश दिन्छ।

जुम्ल्याहा बच्चाहरूसँग यस्ता विशेष एपिजेनोमिक चिह्नहरू हुन्छन् जो अरू मानिसमा हुँदैनन् । यस्ता चिह्नहरूले कोही मानिसको जुम्ल्याहा बहिनी वा भाइ गर्भमै मरेको भए पनि वा जन्मनासाथ छुट्टिए पनि ऊ दुरुस्त जुम्ल्याहामध्ये एक थियो भन्ने थाहा दिन्छ।

एपिजेनोमले वंशाणुको यो गतिविधीलाई नियन्त्रण गर्छ।

दुरुस्त जुम्ल्याहाबारेको खोज यही एपिजेनोमिक चिह्नसँग जोडिएको छ। हुन त हरेक मानिसको शरीरमा भएका कोषमा यस्ता एपिजेनोमिक चिह्नहरू असंख्य हुन्छन्।

शोधपत्रमा भनिएको छ, जुम्ल्याहा बच्चाहरूसँग यस्ता विशेष एपिजेनोमिक चिह्नहरू हुन्छन् जो अरू मानिसमा हुँदैनन् र ती जन्मदेखि वयस्ककालसम्म रहिरहन्छन्।

यो खोजको रोचक पक्ष यहीँनेर छ। किनभने यस्ता चिह्नहरूले कोही मानिसको जुम्ल्याहा बहिनी वा भाइ गर्भमै मरेको भए पनि वा जन्मनासाथ छुट्टिए पनि ऊ दुरुस्त जुम्ल्याहामध्ये एक थियो भन्ने थाहा दिन्छ। र, उसले थाहा पाउनेछ, कम्तिमा आमाको गर्भमा झण्डै १० महिना ऊ एक्लो थिएन।

“यो शोधपत्र साँच्चै नै रोचक छ”, क्यालिफोर्निया स्टेट विश्वविद्यालयकी विकास मनोवैज्ञानिक न्यान्सी सेगेल भन्छिन्। जुम्ल्याहाबारे धेरै खोज गरेकी सेगेल आफू भने यो अनुसन्धानमा सहभागी थिइनन्।

कारणको खोजी

यो खोजको अर्को पनि रोचक नतिजा छ।

“यसले कुनै निसेचित अण्ड किन दुईवटा भ्रुणमा टुक्रिन्छ भन्ने पत्ता लगाउन सहयोग गर्नसक्छ”, सेगेल भन्छिन्।

हुन पनि वर्षौंदेखि खोज-अनुसन्धान चले पनि किन कुनै कुनै जाइगोट दुईवटा भ्रुणमा विकास हुनपुग्छन् भन्नेबारे विस्तृत जानकारी हासिल भइसकेको छैन।

“अझै पनि यो एउटा रहस्य नै छ”, भन्छिन् भ्रिजे विश्वविद्यालय आम्स्र्टडमका वैज्ञानिक जेन्नी भान डोंगेन।

आमाको पाठेघरमा अण्ड निसेचित भएपछि भ्रुण बन्ने प्रक्रियाको शुरुआती विकासक्रममा जुम्ल्याहा र सामान्य बच्चाको विकास उस्तै हुन्छ। तर एपिजेनेटिक परिवर्तनहरू (डिएनएलाई प्रभाव पार्ने रासायनिक वातावरणको परिवर्तन)ले कुनै वंशाणुलाई सक्रिय र कुनैलाई निस्क्रिय बनाइदिन्छ। भ्रुण बन्ने बेलामा भएका यस्ता परिवर्तनले सम्भवतः दुरुस्त जुम्ल्याहालाई थोरै फरक बनाइदिनसक्छ।

हरेक दुरुस्त जुम्ल्याहाको वंशाणुमै यस्ता जन्म-चिह्न हुन्छन् जो जीवनपर्यन्त रहन्छन्। यी जन्म-चिह्न हुन्छन् भन्ने थाहा पाउनु नै जुम्ल्याहाबारेको खोजमा नयाँ ढोका हो जहाँबाट अरू थुप्रै सम्भावनाका ढोका खुल्नेछन्।

त्यसैले जाइगोटलाई के ले दुईवटा दुरुस्त भ्रुण बनाइदिन्छ भन्ने जान्न जरुरुी छ। “एपिजेनेटिक परिवर्तनलाई ध्यान दिँदा केही थाहा लाग्नसक्छ”, भन्छिन् डोंगेन।

त्यस्ता परिवर्तन मेसो पाउन डोंगेन र उनका साथीहरूले वंशाणुका चार लाख ५० हजार भन्दा बढी स्थानमा भएका एपिजेनेटिक परिवर्तनहरू नियालेका छन्। ती वंशाणुहरू झण्डै ६ हजार जुम्ल्याहाबाट लिइएका थिए। ती जुम्ल्याहा भने दुरुस्त र भाइचार दुवै खालका थिए।

दुरुस्त र भाइचार जुम्ल्याहा अनि जुम्ल्याहा र सामान्य मानिसका वंशाणुको तुलनाले वैज्ञानिकहरूलाई आमाको भ्रुणमा भएको अस्वाभाविक परिस्थितिले सिर्जना गरेको एपिजेनेटिक परिवर्तनबारे धेरथोर जानकारी दिएको छ।

वैज्ञानिकहरूले दुरुस्त जुम्ल्याहाका वंशाणुको आठ सय ३४ ठाउँमा आश्चर्यजनक समानता पाएका छन्। यो समानताले देखाउँछ, एपिजेनेटिक चिह्नहरू वंशाणुका निश्चित भागमा थुप्रिन्छन्। तीमध्ये केही चिह्नहरू भने शुरुवाती विकास प्रक्रियामा आबद्ध थिए भन्ने थाहा भएको छ।

अझ रोचक त यस्ता एपिजेनेटिक चिह्नहरू के युवा के वृद्ध सबै खालका जुम्ल्याहामा पाइएको छ। अनि फिनल्याण्डदेखि अष्ट्रेलियासम्मका दुरुस्त जुम्ल्याहामा पनि।

जुम्ल्याहाहरूमा पाइने यी चिह्नहरू यतिसम्म समान छन् जसले गर्दा वैज्ञानिकहरूले कोही व्यक्ति दुरुस्त जुम्ल्याहामध्ये एक हो कि होइन भन्ने टुंगो लगाउनसक्छन्। त्यस्तो जाँचको सम्भाव्यता ८० प्रतिशतसम्म छ।

अर्थात्, हरेक दुरुस्त जुम्ल्याहाको वंशाणुमै यस्ता जन्म-चिह्न हुन्छन् जो जीवनपर्यन्त रहन्छन्। यी जन्म-चिह्न हुन्छन् भन्ने थाहा पाउनु नै जुम्ल्याहाबारेको खोजमा नयाँ ढोका हो जहाँबाट अरू थुप्रै सम्भावनाका ढोका खुल्नेछन्।

(यो सामग्री साइन्स न्यूजमा प्रकाशित जोनाथन ल्याम्बर्टको लेखको आधारमा लक्ष्मण श्रेष्ठले तयार पारेका हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved