६० प्रतिशतले घट्यो उखु उत्पादन, चाडबाडमा चिनी अभाव हुने

किसानहरूले उखु खेतीको विकल्प खोज्न थालेका छन्।

नेपालभ्युज

६० प्रतिशतले घट्यो उखु उत्पादन, चाडबाडमा चिनी अभाव हुने

काठमाडौं। नेपालमै  पर्याप्त उत्पादन नहुँदा बजारमा यस वर्ष चाडबाडमा चिनीको अभाव हुने देखिएको छ। स्वदेशी चिनी मिलले उत्पादनका लागि भनेजति उखु पाउन सकिरहेका छैनन्।

बितेका दुई वर्ष उद्योगीबाट उखुको भुक्तानी नपाएपछि तराईका विभिन्न जिल्लाका किसानहरू आन्दोलन गर्न काठमाडौं आएका थिए। चिनी मिलहरुले ६ वर्षदेखिको भुक्तानी नदिएपछि २०७६ वैशाखदेखि आन्दोलनरत किसान सोही वर्षको पुसमा आन्दोलन गर्न काठमाडौं आएका थिए।

सरकारले भुक्तानी नदिए उद्योगीलाई कडा कारबाही गर्ने आश्वासनसहित १८ पुसमा किसानसँग सम्झौता गरेको थियो। तर भाका नाघे पनि उद्योगीले उखुको भुक्तानी तिरेनन्, सरकारले उखुको पैसा नतिर्ने उद्योगीविरुद्ध कारबाही अघि बढाएन।

त्यसको करीब १ वर्षपछि २०७७ कात्तिकमा किसानहरू पुनः आन्दोलन गर्न काठमाडौं आएकोमा सरकारले पुनः थमथमाएर पठाएको थियो। फेरि पनि किसानले भुक्तानी पाएनन्। त्यसको तीन महीनापछि माइतीघरमै किसानहरूले दुई साता लामो निर्णायक आन्दोलन गरेपछि अन्ततः उद्योगी भुक्तानी तिर्न तयार भएका थिए। उक्त सम्झौतापछि अहिले सबै उद्योगले किसानलाई भुक्तानी त तिरेका छन् तर राज्यबाट असन्तुष्ट किसानले उखु खेती गर्न भने छाड्दै गएका छन्।

एक वर्षमा मात्रै उखुको खेती ६० प्रतिशतसम्म घटेको उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। उनकाअनुसार किसानहरूले उखु खेतीको विकल्प खोज्न थालेका छन्। ‘‘सबै किसानले आधाभन्दा बढीले उत्पादन घटाएका छन्,’’ उनले भने, ‘‘सामान्य रुपमा उखु खेती पनि अलिअलि गर्दै आएकोमा तोरी, धान र मकै खेतीलाई किसानहरूले प्राथमिकतामा राखेका छन्।”

मंसीरदेखि उखु क्रसिङ सिजन शुरु हुने भए पनि खेती नै नहुँदा आगामी वर्ष पनि उखुको चरम अभाव हुने उनले बताए। ‘‘कैलाली र कञ्चनपुरतिर अहिले उखु उत्पादन केही बढेको छ, तराईका अन्य सबै ठाउँमा खेती घट्दै गएको छ,’’ उनले भने। उखुको मूल्य नपाउने र कम मूल्यमै बेच्दा पनि समयमै भुक्तानी नपाइने समस्याका कारण किसानहरू उखु खेतीबाट हट्दै गएका उनी बताउँछन्।

नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनीको माग छ। तर उखु अभावका कारण आयात हरेक वर्ष बढ्दै जाँदा उत्पादन भने घट्दै गएको छ। मैनालीका अनुसार हाल चिनी १ लाख टनलाई मात्रै पुग्नेगरी उत्पादन भइरहेको छ।

योसँगै चाडबाडकाे बेला चिनी अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गत भदौमै प्रधानमन्त्री कार्यालयलाई दशैंमा चिनी अभाव हुने भन्दै आपूर्ति चैन मिलाउन पत्र लेखेको थियो। साल्ट ट्रेडिङ कर्पाेरेसनले ९ महीना अघि नै ५० हजार र गत बैसाखमा थप ३० हजार गरी ८० लाख मेट्रिक टन चिनी आयातका लागि अनुमति मागेकोमा अनुमतिका लागि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले अर्थलाई अनुमतिका लागि पत्र लेखे पनि साल्टले ५० प्रतिशत छुटमा ल्याएको चिनीमा उपभोक्ताले सहुलयत नपाएको भन्दै प्रक्रिया अघि बढाएन।

बजारमा चिनीको अभाव हुन नदिन उपभोक्ता मञ्चले पत्र लेखेपछि मन्त्रालयले भने चिनीको अभाव हुन नदिने दावी गरेको छ। वाणिज्य सचिव दिनेश भट्टराईले अघिल्लो साता बजारमा एक लाख टन चिनी मौज्दात रहेको बताउँदै चाडबाडमा चिनी अभाव हुन नदिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved